मेरो कपाल नेचुरल हो, ड्रेडलक होईन–‘कक्रोच’

यसलाई साझेदारी गर्नुहोस्

सोलुखुम्बु जिल्लाको नेचा बतासे गाविसमा जन्मिएका हरि निरौला अहिले चर्चामा रहेको भद्रगोल हाँस्यटेलिसिरियलमार्फत ‘कक्रोच’का नामले परिचित छन् । कोरस डान्सर हुँदै कोरियोग्राफर समेत रहेका उनले विभिन्न म्युजिक भिडियोमा आफ्नो कला देखाईसकेका छन् । भद्रगोलकै दौरनामा उनले देशका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुती दिईसकेका छन् । भद्रगोलमा आफ्नो भूमिका पेट मिचिमिची हँसाउने भन्दा बालबालिकाहरुका लागि बढी मनपर्ने बताए । आजैका दिन जन्मिएका उनै ‘कक्रोच’ सँग जन्मदिनको अवसर पारेर जिष्टखबरले गरेको कुराकानीको अंश :

कसरी सुरु भयो कलाकारिताको यात्रा ?
म कलाकार बन्छु भन्ने सोचचाहीँ सानैदेखि सोख हो । सानैमा गाउँमा रमाईला कार्यक्रमहरुलाई मलाई छुटाउँदैनथे । जब एसएलसी सकेर २०६१ सालमा काठमाडौं आएँ, म डान्सतिर लागें ।

भद्रगोलसम्म कसरी आईपुग्नु भो ?
मैले अभिनय गरेको भनेको पहिलो सिरियल ‘सिस्नुपानी झ्याम्मै’ भन्ने सिरियल नै हो । १८ भाग प्रशारण भएपछि त्यो रोकियो । त्यसपछि म र जिग्री (कुमार कट्टेल) मिलेर केहि गरौं भन्ने कुरा गथ्र्यौं । सिस्नुपानी झ्याम्मै सिरियल बन्द भएपछि हामीले नयाँ केहि गरौं भन्ने सोचिरहेका हुन्थ्यौं । यसैक्रममा भद्रगोलको कन्सेप्ट कुमार कट्टेल, अर्जुन घिमिरेले ल्याउनु भयो । पछि निर्देशक शंकर आचार्य सर र निर्माता सुवास कार्की सरसँगको सहयोगले यहाँसम्म आईयो ।

कुनैदिन कलाकार बनेर दर्शक हसाउँछु भन्ने सोच्नुभएको थियो ?
म कोरियोग्राफी गर्ने मान्छे । ५ सयभन्दा धेरै गीतमा कोरस डान्स गरेको छु भने आफैंले पनि २५ जति कोरियोग्राफी नै गरेको छु । भर्खरैमात्र बले (सागर लम्साल) र सुष्मा कार्कीको गीतको कोरियोग्राफी गरें । कलाकार बन्छु भन्ने त थियो तर अभिनय गर्न सक्छु भन्ने आँट थिएन, तर अहिले सहज लाग्छ, यसरी दर्शक हसाउँछु नै भन्ने चाहिँ सोचभन्दा पर थियो ।

कक्रोच पात्रचाहिँ कसरी जन्मियो ?
ईन्डियाको जिटिभीमा एउटा रियालिटी शो आउँथ्यो, म त्यसको असाध्यै फ्यान थिएँ । उसको नाम चैं कक्रोच थियो, वास्तविक नामचाहिँ राघव । जुन अहिले स्लो मोसन भन्ने छ त्यो राघवले पनि त्यै गर्ने, यो डान्सको एउटा स्टेप हो । म स्कूलहरुमा डान्स पनि सिकाउने भएकाले त्यो मोसन मैले स्कूलमा पनि सिकाउने थालें । पछि विद्यार्थीहरुले मलाई नै कक्रोच नै भन्न थाले । मेरो नाम नै कक्रोच हुन थाल्यो, जब सिरियलमा काम गर्ने कुरा भयो, त्यै स्लो मोसनबाट सुरु भयो । सुरुमा त एभ्रीथिङ ईज स्लो भन्ने थेगो थ्यो, एक भाग त स्लो भनेरै गरियो । तर कुरा गर्दा पनि स्लो मोसन, ट्वाईलेट जाँदा पनि स्लो गर्दा त एउटा सिरियलको समय नै मेरो क्यारेक्टरलाई लाग्ने भयो । पछि त्यसलाई परिमार्जन गरेर जस्ट स्लो मोसन भन्ने भयो, अहिले त्यै चलिरहेको छ ।

तपाईंको कपाल पात्रको माग हो वा सोख ?
त्यै जुन कक्रोचको कुरा गरें मैले, उसको कपाल पनि घुम्रिएको थियो । मैले पनि कपाल त्यस्तै भएका कारण काटिनँ, पछि मेरो कपाल देखेर मानिसहरुले कसरी यस्तो बनाएको भनेर सोध्न थाले, कति खर्च लाग्छ पनि भनेर सोधे । जब म आफैं यस्तो कपाल भयो भनेर भन्थें अरुले विश्वास नै गर्दैनथे । जब मैले कपाल नबनाई यस्तो हुँदो रहेछ भन्ने थाहा पाएँ, तव मैले मेरो कपाल अलौकिक रहेछ भन्ने थाहा पाएँ । तर मेरो जुन कपाल छ, यसले पनि मेरो क्यारेक्टरलाई सुहाउँदो बनाएको छ जस्तो लाग्छ । यो सोख भन्दा पनि मेरो क्यारेक्टरलाई फिट छ जस्तो लाग्छ ।

तपाईंलाई यो क्षेत्रमा आउन कसले प्रोत्साहित ग¥यो ?
मलाई यो क्षेत्रमा आउनका लागि सिताराम दाई (सिताराम कट्टेल, ‘धुर्मुस’, जो उनका सानीआमाका छोरा हुन्) ले नै हौस्याउनु भएको हो । मेरो पहिलो प्रेरणाको स्रोत नै वहाँ हो । पछि कुमार दाई आउनु भयो, वहाँसँग उमेर मिलेर होला, झन हौसला थपियो । कलाकार अर्जुन घिमिरे, निर्देशक शंकर आचार्य, निर्माता सुवास कार्कीको पनि म यहाँ आउनुमा ठूलो भूमिका छ ।

तपाईंले तपाईंका कस्ता प्mयानहरु भेट्नु भयो ?
मैले बिर्सिनै नसक्ने चाहीँ दुईवटा छन् । एक बच्चाले उसको कपाल पनि मेरै जस्तो बनाईदिनु प¥यो भनेपछि उसका बाबुआमाले नक्कली कपाल हालेर मेरै जस्तो बनाईदिनु भयो, २÷३ वर्षको बच्चा यसरी फ्यान भएको देख्दा अचम्म लाग्यो । एकजना केटी छिन् जो मेरै जस्तो कपाल बनाउँछिन् मेरो ठूलो फ्यान हुन् । फेसबुकमा उनी मेरो साथी पनि छिन् ।

अबको योजना के छ ?
५ सय भिडियोमा काम गर्दा कसैले मलाई चिन्दैनथे । जव भद्रगोलमा अभिनय गर्न लागें, एकै वर्षमा धेरैले चिन्ने भएँ । यहि कारण हङकङ गयौं, भद्रगोलको टोली, बले र म भएर २० देखि २५ शहरमा कार्यक्रम पनि ग¥यौं । भद्रगोलकै कारण पहिचान बनेको छ, अहिलेलाई भद्रगोललाई नै राम्रो बनाउने हो, भावी योजनाबारे निर्णय गरिसकेको छैन ।


यसलाई साझेदारी गर्नुहोस्