चितवन र काभ्रेका दुर्घटनामा परी चारको मृत्यु

काठमाडौं – चितवन र काभ्रेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।

मोटरसाइकललाई गाडी र ट्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुने एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

यस्तै गाडीको ठक्करबाट खैरहनी नगरपालिका–७ का ३५ वर्षीय विजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ बहेडाचोकमा ग १ च ९७२१ नम्बरको स्कारपियो गाडीले ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यस्तै काभ्रेको बनेपामा आइतबार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा काभ्रेको धुलिखेल नगरपालिका– ८ का २८ वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका( ६ का हरिकृष्ण बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बनेपा नगरपालिका– ६ मा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०१७ प २७०८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ र बस्नेतको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।