‘मलाई लाग्यो मेरो रगत र वीर्य विषाक्त छ’

  • नोबेर्टो पारेडेस/बीबीसी

“विपरीत लिङ्गीसँग मात्रै सम्बन्ध राख्ने, पश्चिम युरोपेली पुरुष भएर म एचआईभी पोजिटिभ हुनसक्छु भन्ने कुराको मैले कहिले कल्पना पनि गरेको थिइनँ।“

फिलिप स्पिगेलको उपनामले पनि चिनिने ३८ वर्षीय अस्ट्रियाली नागरिक क्रिस्टोफर क्लेटरमायरले सन् २०१४ मा आफूलाई एचआईभी पोजिटिभ भएको थाहा पाए। त्यो दिन उनलाई हिजो जस्तै लाग्छ।

उनी अस्ट्रियामा थिएनन्। भारतमा फोटो पत्रकारितासम्बन्धी काम गरिरहेका थिए र त्यहाँको एउटा आश्रममा जाने योजना बनाएका थिए। आश्रममा प्रवेश पाउनका निम्ति एचआईभी परीक्षण गराउन उनलाई भनियो।

“गराउँछु भनेर मैले सहमति जनाएँ। श्वेत र विपरीत लिङ्गीसँग मात्र सम्बन्ध राख्ने भएर मलाई लाग्यो मेरो नतिजा निगेटिभ आउला तर त्यस्तो भएन,” उनले बीबीसीलाई भने।

त्यसको केही महिनाअघि अस्ट्रियामा उनलाई बिरामी जस्तो महसुस भएको थियो। तर उनलाई एचआईभी भएको कसैले सोचेको थिएन।

“कुनै जोखिम समूहमा नपर्ने भएकोले कुनै चिकित्सकले मेरो परीक्षण गर्ने कुरा भएन। मैले भारतमा संयोगवश परीक्षण गराएँ र स्तब्ध भएँ।“

“म खासमा भाग्यमानी थिएँ किनभने परीक्षण नगराई वर्षौँ बित्न सक्थ्यो।“

‘बढाइचढाइपूर्ण चुनौती’

यति बेला विश्वले कोरोनाभाइरस महामारीको सामना गरिरहेको छ। संयुक्त राष्ट्रसङ्घले एचआईभी एड्सविरुद्ध प्राप्त उपलब्धिलाई कोरोनाभाइरस महामारीले जोखिममा पारिरहेको चेतावनी दिएको छ।

उपचारको पहुँचमा रहेको असमानतालाई झन् बढाउने भएकोले त्यस्तो जोखिम देखिएको उसको भनाइ छ। सन् २०१९ मा एड्ससँग सम्बन्धित कारणले छ लाख ९० हजार जनाको मृत्यु भएको तथ्याङ्क छ।

कोभिड-१९ का कारण उपचारमा देखिएको समस्याले गर्दा अब त्यसमा थप तीन लाख जनासम्मको मृत्यु हुनसक्ने युएनएड्सले जनाएको छ।

सन् २०२० को जून महिनासम्म विश्वभरि तीन करोड ८० लाख मानिस एचआईभी लिएर बाँचिरहेको र एक करोड २० लाख मानिस अझै उपचारको पहुँचमा नरहेको तथ्याङ्क छ।

“विगत ४० वर्षमा हामीले असाधारण प्रगति हासिल गरे पनि लगानी गरिरहन जरुरी छ। यदि गरेनौँ भने हामीले प्राप्त गरेको उपलब्धि गुम्न सक्छ,” इन्टरन्याश्नल एड्स सोसाइटी (आईएएस) की कार्यकारी निर्देशक डा. बिर्गिट पोनियाटोव्स्कीले भनिन्।

‘मलाई नै किन’

“शुरूमा म निकै डराएको थिएँ र खासमा एचआईभी के हो भन्नेबारे मसँग थुप्रै जिज्ञासा थिए,” क्रिस्टोफरले भने।

“मलाई लाग्यो आखिर मलाई नै किन? सन् ८० तथा ९० को दशकताका भाइरसबारे बनाएको सोचहरूबाट बाहिर निस्कनुपर्ने र तिनलाई २१औँ शताब्दी अनुरूप ढाल्नुपर्ने मलाई महसुस भयो।”

विपरीत लिङ्गीले एचआईभी पोजिटिभ भएको स्वीकार्नु झन् समस्याकारी भएको क्रिस्टोफर स्वीकार्छन्।

“विपरीत लिङ्गीसँग मात्रै शारीरिक सम्बन्ध राख्ने धेरै पुरुषले एचआईभीबारे बताउँदैनन् किनभने पोजिटिभ भएकालाई समलिङ्गी वा दुर्व्यवसनीको रूपमा हेरिने डर हुन्छ,”उनले भने।

आफूलाई फरक ढङ्गले व्यवहार गरिन सक्छ भनेर एचआईभीबारे कुरा गर्दा र अन्तर्वार्ता दिँदा उनले परिवर्तित नाम दिन थाले।

तर पछि अवस्था बदलियो। “एउटा बिन्दुमा पुगेँ र आफैँलाई भनेँ कि ठिकै छ नि त। यो मेरो संसारको अन्त्य नै होइन नि।”

‘विषाक्त जस्तो महसुस भयो’

अहिलेसम्म एचआईभी एड्स निको नहुने भए पनि अहिलेको उपचार विधिले भाइरसलाई मत्थर गरेको छ। सङ्क्रमितमध्ये अधिकांश धेरै वर्ष र स्वस्थ जीवन बाँच्न सकेका छन्।

उपचार शुरू भएपछि बिस्तारै क्रिस्टोफरले त्यसको सकारात्मक असरहरू देख्न थाले। तर मानसिक रूपमा आफ्नो धारणमा परिवर्तन ल्याउन वर्षौँ लागेको उनी बताउँछन्।

“एकछिनलाई लाग्थ्यो मभित्र यो अनौठो कुरा छ। मलाई लाग्थ्यो मेरो रगत र वीर्य विषाक्त छ। मलाई लाग्थ्यो म अरू मानिसका लागि खतरनाक रहेछु।“

एचआईभीबारे मानिसहरूलाई शिक्षित बनाउन उनलाई बिस्तारै महसुस भयो। “मलाई लाग्यो मलाई एचआईभी भएको मैले भनिनँ भने अरू कसले भनिदेला।”

एचआईभी सङ्क्रमित भएको बताउन थालेपछि मानिसहरूबाट फरकफरक प्रतिक्रिया पाएको क्रिस्टोफर बताउँछन्।

‘पहिलाभन्दा खुशी छु’

अनुभवले आफूलाई धेरै कुरा सिकाएको उनी बताउँछन्। “म वर्तमानमा अझ बढी बाँचिरहेको छु। एचआईभी सङ्क्रमित हुनुअघि जति खुशी थिएँ त्यो भन्दा बढी खुशीका साथ म अहिले बाँचिरहेको छु।”

त्यसलाई उनलाई एउटा रचनात्मक उद्देश्य र लक्ष्य दिएको छ। त्यो भनेको एचआईभी भएर बाँचिरहेको अनुभवबारे किताब लेख्ने।

एचआईभी सङ्क्रमित भएको खुलासा गर्ने कुरा आफू बस्ने देश क्षेत्र र परिवार अनुसार आफ्नो सुझाव फरक हुन सक्ने क्रिस्टोफर बताउँछन्।

“पोजिटिभ भएकै कारण परिवारमा प्रतिबन्धित भएका मान्छेहरू पनि मैले देखेको छु।”

यद्यपि एचआईभी पोजिटिभ भएकोमा दोषी वा लज्जित महसुस गर्नु निरर्थक भएको उनको बुझाइ छ।