प्रचण्ड–नेपाल समूह सत्ता स्वार्थ केन्द्रित बन्नुका केही नजिरहरू

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकका कतिपय प्रहसनहरूले मुलुकलाई अस्थिरताको बाटोतिर लम्काइरहेको स्वभाविक ठहर हुन थालेको छ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिष्ठाको लडाई भन्दा पनि सचिवालयमा रहेका अन्य नेताको समेत व्यक्तिगत स्वार्थको नेपथ्यमा सचिवालय बैठकमा चर्काचर्की र कडा सवालजवाफका प्रहसन भएको ठानिएको छ।

नौ सदस्यीय सचिवालयमा रहेका ५ जना नेता अहिले प्रधानमन्त्री ओलीको राजीनामा गराउने अभ्यासमा दबाब दिइरहेका छन्। ओली यस्तो दबाबबाट टस न मस हुने बरु परिआएको संकटलाई स्वीकार गर्दै व्यहोरेर जाने अभ्यासमा छन्।

ओलीलाई आत्मकेन्द्रित र सत्तास्वार्थमा लिप्त रहेको भनी आरोप लगाउने प्रचण्ड–नेपाल समूहका नेताहरूले पनि सत्ताका लागि ‘अराजनीतिक’ हर्कत गरेका नजिरका आधारमा यो विवाद सैद्धान्तिक नरहेको कतिपयको बुझाई छ।

उक्त समूहमा रहेका सबै नेताको राजनीतिक चलखेलको पृष्ठभूमीले पनि त्यो बुझाईलाई मद्दत गरेको भेटिन्छ।

‘आफ्नो पार्टीको सरकार भएको बेलामा हरेक चिज समझदारीका आधारमा नै चल्नुपर्ने हो। असमझदारी भए पनि ५ बर्षसम्म सरकारले गति पाउनुपर्छ भन्ने मान्यता हुनुपर्ने होइन र? बीचमा नै यो विवाद किन आयो?’, उच्च स्रोतले भन्यो,‘सचिवालयमा रहेका सबै नै सत्ताका निम्ति हिरिक्क हुने, मरिहत्ते गर्ने अभ्यासबाट प्रेरित छन्।’

विगत दशकयताको राजनीति उतारचढावले पनि सचिवालयमा रहेका नेताको व्यवाहारले त्यस्तै प्रतीत गराएको थियो।

जनमुखि र राजनीतिक इमान्दारितामा बरिष्ठ नेता नेपाल कहिले पनि अगाडि बढेको देखिएन। प्रधानमन्त्री बन्न र सत्ताका लागि उनले अनेक प्रकारका सम्झौता गरेका प्रशस्त उदाहरण छन्। तत्कालिन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा नेकपा एमालेको महासचिव हुँदा आह्वान गरिएको प्रधानमन्त्री पदका निम्ति दरखास्त हालेको र दाम राखी ढोको तस्बिरलाई त संविधानसभा निर्वाचन पहिलो ताका माओवादीले व्यापक प्रचार गरेका थिए।

प्रचण्डको आन्दोलनपछि राजीनामा गर्न बाध्य भएका नेपाल कामचलाउ प्रधानमन्त्रीका रुपमा पनि लामो समय रहेका थिए। त्यसबेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १८ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा दौडँदा तत्कालिन एमाले तटस्थ बस्यो, जसका कारण नेपालको प्रधानमन्त्री कुर्सी काम चलाउकै भरमा पनि लामो समय टिकेको थियो

संविधानसभामा संवैधानिक सभापतिका रुपमा नेपाललाई राजनीतिक सहमतिका आधारमा ल्याइएको थियो। प्रचण्ड सत्ताच्युत भएपछि उनले संविधान निर्माणको जिम्मेवारी त्याग्दै नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री पदलाई रोजेका थिए। ‘राजनीतिक दलका नेताको स्वार्थ कुर्सीसँग जडित हुन्छ। तर यतिसम्म पनि होइन कि इतिहासले दिएको जिम्मेवारीलाई बेवास्ता गरी कुर्सी मात्रै रोज्ने होस्’, एक उच्च तहका व्यक्तित्व भन्छन्।

प्रचण्डको आन्दोलनपछि राजीनामा गर्न बाध्य भएका नेपाल कामचलाउ प्रधानमन्त्रीका रुपमा पनि लामो समय रहेका थिए। त्यसबेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १८ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा दौडँदा तत्कालिन एमाले तटस्थ बस्यो, जसका कारण नेपालको प्रधानमन्त्री कुर्सी काम चलाउकै भरमा पनि लामो समय टिकेको थियो।

सोही समूहमा रहेका नेता झलनाथ खनालले पनि सत्ताका लागि पार्टीलाई छलेर गोप्य सम्झौता गरेको रहस्य प्रधानमन्त्री निर्वाचित भएको केही समयमा बाहिरियो। जसका कारण हालका प्रधानमन्त्री ओलीले उनको तिव्र आलोचना गरेका थिए भने नेपाललगायत पनि असन्तुष्ट थिए। प्रचण्डसँग लेनदेनको गोप्य ७ बुँदे सहमति गरेका खनालको सत्ता ६ महिना पनि टिक्न सकेन। प्रधानमन्त्री पदका लागि स्वार्थको सम्झौता गरेका उनलाई छिमेकी मुलुक भारत भ्रमण निम्तोसम्म पनि आएन। फलतः प्रचण्ड स्वयम्ले उनको सत्ता गिराइदिए र मधेसवादी मोर्चाको सहयोगमा डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाइएको थियो।

यो समूहको नेतृत्व गरिरहेका प्रचण्ड स्वयं सत्ता केन्द्रित अभ्यासमा निपूर्ण रहेका अनेक नजिर छन्। दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि ओलीको अघिल्लो कार्यकालको सरकारलाई अविश्वासको प्रस्ताव गरी आफैं प्रधानमन्त्री पदमा उक्लिए, प्रचण्ड। त्यसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकार सञ्चालनका निम्ति ९–९ महिनाको लिखत सम्झौता गरेका थिए। सोही लिखतका कारण नै अलोकप्रिय बनेका उनी पछि साख जोगाउन तत्कालिन एमालेसँगको गठबन्धनका आधारमा चुनावी मैदानमा उत्रिएका थिए।

गठबन्धनका क्रममा पनि कतिपय अड्को र सम्झौता नगरी चुनावी मैदानमा जान नसकिने प्रचण्डले अडान राखेको जनाउँदै ओलीले हालै पेस गरेको जवाफी पत्र वा प्रतिवेदनमा भनेका छन्,‘आलोपालो प्रधानमन्त्रीको सम्झौता र चुनावी चिन्हका विषयमा भएको सहमतिविपरित अर्को सहमति नगरी तपाईलाई चुनावमा जाने के कारणले रोकेको थियो?’

त्यसो त सत्ताका निम्ति यहि समूहमा रहेका उपाध्यक्ष बामदेव गौतमलाई ‘तमासाको पात्र’ बनाइयो। जीवनमा एक पटक प्रधानमन्त्री भएपछि राजनीतिक सन्यास लिन्छु भन्ने गौतमका लागि सचिवालय बैठकमा राष्ट्रिय सभामा लैजाने प्रस्ताव मात्र भएन, प्रचण्डले संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव राखेपछि गौतम जुर्मुराए। यहि शिलशिलाले निरन्तरता पाउँदा प्रचण्ड–नेपाल गठबन्धन बन्यो र ओलीविरुद्ध सक्रिय रहेको बताइन्छ। ‘त्यहाँ पनि लेनदेनको सम्झौता छ। पार्टीको एकल अध्यक्षता आफू गर्ने र आगामी २ बर्षका लागि प्रधानमन्त्रीमा नेपाललाई समर्थन गर्ने प्रचण्डको गोप्य प्रस्ताव छ। योसँगै खनाललाई राष्ट्रपति दिनेलगायतका अनेक लेनदेनलाई सैद्धान्तिक रुप दिने कोशिश गरिएको छ’, उच्च स्रोतले भन्यो।