पर्यटक नआएपछि जीविका चलाउन होटल व्यवसायीलाई समस्या

दिलकुमार लिम्बू(रासस)

फुङलिङ–घुन्साका मिङ्माडण्डु शेर्पा र पेमा शेर्पाको ठूलो सपना छैन । उनीहरूलाई दैनिक जीविका चलाउन पाए पुग्छ । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका शेर्पाद्वयलाई पर्यटक नआएपछि जीविका चलाउन समस्या भएको हो । कोभिड–१९ का कारण पर्यटकको आवागमन नभएपछि मिङ्माडण्डु र पेमा मात्र होइन, यस क्षेत्रका अधिकांश होटल तथा पर्यटन व्यवसायीलाई दैनिक जीविका चलाउन समस्या भएका छन् ।

कञ्चनजङ्घा आधार शिविर क्षेत्रअन्तर्गत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेकाथुम, जापानटार, थाङ्ग्याम, अम्जिलेसा, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकजस्ता ठाउँमा खुलेका होटलमा पर्यटकको आगमन नभएपछि व्यवसायी आर्थिक सङ्कटमा परेका हुन् । विश्वका तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित यहाँको पर्यटकीयस्थलको भ्रमणमा जाने पर्यटकलाई लक्षित गरी यस क्षेत्रमा ठूलो रकम लगानी गरेर होटल व्यवसाय सञ्चालनमा छन् ।

विगतका वर्षहरुमा बाह्य तथा आन्तरिक पर्यटकले खचाखच हुने यस क्षेत्रका होटल यो वर्ष सुनसान बनेका घुन्साका होटल व्यवसायी मिङ्माडण्डु शेर्पाले बताए । कोरोना महामारीपछिको बन्दाबन्दी (लकडाउन) ले पर्यटक आवागमन ठप्प हुँदा करोडौँ लगानी गरेर सञ्चालनमा ल्याइएका होटल सुनसान हुँदा व्यवसायीको जीविका चलाउन निकै समस्या भइरहेको उनको भनाइ छ ।

आधार शिविर क्षेत्रअर्थात् अम्जिलेसा, ग्याब्ला, फले, घुन्सालगायत ठाउँका बासिन्दाको मुख्य पेशा नै होटल व्यवसाय भएकाले व्यवसाय ठप्प हुँदा यसक्षेत्रका बासिन्दा तथा व्यवसायीलाई निक्कै समस्या परेको उनले बताए । घुन्साकै होटल व्यवसायी पेमा शेर्पाले यस वर्ष पर्यटकको उपस्थिति नहुँदा आफूहरुलाई निक्कै समस्या भएको बताए । आम्दानीको स्रोत नै होटल व्यवसाय भएको र यो वर्ष व्यवसाय ठप्प भई आम्दानी गुम्नाले घरव्यवहार साथै दैनिकी चलाउनलाई नै धौ–धौ परिरहेको शेर्पाले बताए ।

होटल ठप्प हुँदा खरिद र ढुवानीसमेत महँगो रकम खर्चिएर पु¥याइएका उपभोग्य वस्तु बिक्री गर्न नपाउँदा यसपालि ठूलै घाटा ब्योहोर्नुपरहेको उनको भनाइ छ । उनका अनुसार उपभोग्य वस्तु सदरमुकाम फुङ्लिङदेखि लोनाकसम्म पु¥याउनलाई ढुवानी खर्च मात्र प्रतिकिलोग्राम रु १२७  पर्दछ । फुङ्लिङ बजारदेखि तापेथोकको रानी पुलसम्म कच्ची सडक पुगेकाले ट्र्याक्टरमार्फत प्रतिकेजी रु सातले सामान ढुवानी गर्ने र त्यहाँबाट घुन्सासम्म प्रतिकेजी रु ५०, लोनाकसम्म प्रतिकेजी रु १२० मा खच्चर तथा चौँरीलाई बोकाएर सामान ढुवानी गर्नुपर्ने अवस्था छ ।

गत चैत र वैशाख महिनाको पर्यटकीय मौसमका लागि पु¥याइएका सामान समयमा बिक्री नहुँदा घाटा भएको व्यवसायीको भनाइ छ । घुन्साकै होटल व्यवसायी टासी तेन्जिङ शेर्पाका अनुसार पर्यटनको सिजनलाई लक्षित गरी पु¥याइएका उपभोग्य वस्तु थन्क्याएर राख्नु र आफैँले उपभोग गर्नाले साथै कतिपय उपभोग्य वस्तु म्याद गुज्रेर नष्ट गर्नुपर्दा ठूलो घाटा भएको छ । यो वर्ष दुवै सिजनमा पर्यटकको आगमन शून्य हुँदा आम्दानी गुमेको व्यवसायीको भनाइ छ ।

पर्यटकलाई नै लक्षित गरी ग्याब्लाका छुवाङ शेर्पाले पनि होटल व्यवसायमा करोडौँ लगानी गरेका छन् । उनले थाङ्ग्याम, ग्याब्ला र खम्बाचेन गरी तीन ठाउँमा धेरै सेवाग्राही (पाहुना) अटाउन सक्ने क्षमताको संरचना बनाएर होटल सञ्चालन गर्दै आएका छन् । यो वर्ष भने पर्यटक आवागमन ठप्प भएकाले नराम्ररी घाटासँगै आम्दानी गुमाउनुपरेको शेर्पाले बताए । अब पर्यटन क्षेत्र सञ्चालनमा आए पनि यस वर्षको घाटाबाट उस्कनलाई केही वर्ष लाग्ने उनको भनाइ छ ।

फलेकी व्यवसायी फुटी शेर्पाले पनि यस वर्ष पर्यटक नआउँदा होटल व्यवसाय नराम्ररी थला परेको बताए । यस वर्षकै जस्तो पर्यटन क्षेत्र आगामी वर्ष पनि ठप्प हुने हो भने व्यवसायीलाई विस्थापित हुनुपर्ने अवस्था आउने सेकाथुमका होटल व्यवसायी ग्याबु शेर्पाले बताए । पर्यटनलाई नै आधार बनाएर शुरु गरेको होटल व्यवसाय पर्यटक नआउँदा एकै वर्षमा व्यवसाय धरापमा पर्ने अवस्था आएको र यही स्थिति कायम रहेमा वैकल्पिक व्यवसायको सोच बनाउनुको विकल्प नहुने उनको भनाइ छ ।

कञ्चनजङ्घा आधार शिविर क्षेत्रका विभिन्न ठाउँमा गरी करिब १०० को हाराहारीमा होटल छन् । विकट तथा दुर्गम हिमाली क्षेत्र भएकाले यहाँका स्थानीयवासीले पर्यटनलाई आधार बनाएर होटल व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । होटल व्यवसायमा संलग्न नभएका परिवार काठमाडौँलगायत ठाउँमा गएर अन्य पेशा र व्यवसायमा आबद्ध छन् । कञ्चनजङ्घा भ्रमण र आरोहणका लागि वार्षिक हजारौँ बाह्य तथा आन्तरिक पर्यटकको आगमन हुने गरेको थियो ।