फिल्मबाट पर्यटन प्रवद्र्धन गर्दै इलाम

किरण पौड्याल(रासस)

इलामफिल्मको खास काम के हो ? मनोरञ्जन दिने र सन्देश प्रदान गर्ने, तर पछिल्लो समय भने फिल्मबाटै पर्यटन प्रवद्र्धन गर्न थालिएको छ । नयाँनयाँ क्षेत्रमा लोकसन खोज्ने र फिल्ममा समावेश गर्ने दर बढेको छ । फिल्ममा आकर्षक ठाउँ देखेर नै कतिपय ठाउँमा पर्यटकको भीड लाग्ने गरेको उदाहरण पनि नौलो होइन । इलाममा भने यो नयाँ उद्देश्यका साथ फिल्म बनाउने क्रम चल्न थालेको छ ।

केही समयअघि मात्रै इलामकै सेरोफेरोलाई आधार बनाएर फिल्म प्रेम दिवस म यस्तो गीत गाउँछु फिल्म निर्माण भएको थियो । प्रेम दिवसमा इलामका पर्यटकीय क्षेत्र श्रीअन्तु, ढापपोखरी, माइपोखरी, टोड्के झरनालगायतका क्षेत्रमा फिल्म छायाङ्कन गरिएको थियो ।

प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीलाई मुख्य भूमिकामा देखाइएको यो फिल्ममा हालसम्म कुनै फिल्ममा नदेखाइएका ठाउँ पनि छायाङ्कनमा परेकाले छायाङ्कन क्षेत्र केही राम्रो देखियो । फिल्मको व्यापार औसत भयो तर पर्यटनको प्रवद्र्धन भने बढ्यो । पल शाह र पूजा शर्मा अभिनित म यस्तो गीत गाउँछु २ फिल्मबाट पनि इलामका पर्यटकीय क्षेत्र प्रचारमा केही राहत मिल्यो । यस्तै, पछिल्लो समय इलामकै भूभागमा नयाँ फिल्म कृष्ण लीला छायाङ्कन थालिएको छ ।

इलामकै ८० प्रतिशत भूभागमा छायाङ्कन गरिने यस फिल्मले पनि पानीटार, श्रीअन्तु, पशुपतिनगरलगायतका क्षेत्रमा छायाङ्कन गर्ने बताएको छ । अन्य २० प्रतिशत छायाङ्कन पाँचथरका विभिन्न ठाउँमा गरिने छ । हालसम्म प्रचारमा नआएका क्षेत्रलाई क्यामरामा देखाउने र प्रवद्र्धन गर्ने फिल्मको उद्देश्य रहेको फिल्मका निर्माता केवल तामाङले बताउछन् ।

फिल्ममा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ भने बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, किशोर सम्वाहाम्फेलगायतको भूमिका रहने छ । पूर्वी क्षेत्रमा धेरै लोकेसन छन् तर विविध समस्याका कारण खिच्न गाह्रो छ, नेपाल फिल्मकर्मी सङ्घ प्रदेश नं १ का अध्यक्षसमेत रहेका तामाङले सरकारी क्षेत्रबाट अपेक्षाकृत सहयोग नमिल्दा उल्लेखनीय मात्रामा स्थानीय पर्यटकीय ठाउँको प्रवद्र्धन गर्न गाह्रो भएको बताउछन् ।

हामीलाई केन्द्रीय सरकारले त सहयोग गरेन नै तर स्थानीय तहले समेत सहयोग नगर्दा दुःख लाग्छ, तामाङले भने, ‘अहिले त फिल्मको लोकेसनका बारेमा सरकारले कार्यक्रम नै ल्याएको छैन । फिल्मका निर्देशक दीपक ओलीका अनुसार फिल्ममा प्रेमिल जोडीलाई आकर्षक ठाउँमा माया÷प्रेम जोडेको आधार रहेछ ।

ओलीले यसभन्दा अघि पण्डित बाजेको लौरी, ‘कुम्भकर्ण, ‘रोल्पा रोग फिल्म निर्देशन गरिसकेका छन् । यसअघिका फिल्म व्यावसायिकरूपमा कमजोर भए पनि कृष्ण लीला भने दर्शकले मनपराउने किसिमको बनाउने निर्देशक ओलीको भनाइ छ । पैसा कम कमाए भनेर मात्रै पनि सबै फिल्मलाई हेर्न मिल्दैन, सामाजिक विषयवस्तु कतिको झल्कियो भन्ने आधारमा पनि हेर्नु पर्छ, ओलीले भने ।

हुन त इलाममा फिल्म छायाङ्कन हुने क्रम नौलो होइन । केही वर्षअघि जीवन लुइँटेल र नीता ढुङ्गाना अभिनित नोटबुक, बुद्धि तामाङ र शुरवीर पण्डित अभिनित मुर्चुङ्गा, प्रियङ्का कार्की र स्वस्तिमा खड्का अभिनित नाइ नभन्नु ललगायतका दर्जन बढी फिल्म छायाङ्कन भइसकेका छन् । तर, प्रायः फिल्ममा श्रीअन्तु र कन्यामको सेरोफेरो मात्र देखाइने भएकाले पछिल्लो समयका फिल्ममा नयाँ क्षेत्र समावेश गर्न थालिएको छ । फिल्ममा नयाँ क्षेत्र देखाउँदा फिल्मका दर्शक बढ्ने त छन् नै पर्यटकीय गतिविधिसमेत बढ्ने छ । यसैले पनि आफूले नयाँ क्षेत्रमा फिल्म छायाङ्कन थालेको फिल्मका अर्का निर्माता रत्न श्रेष्ठले बताए ।

यता फिल्मका नायक पुष्प खड्का पनि उपत्यकाभित्र भन्दा उपत्यकाबाहिर फिल्ममा काम गर्दा नयाँ अनुभव हुने बताउछन् । पहिले एउटा फिल्ममा पनि इलाम आएको थिएँ तर यसपल्ट नयाँ ठाउँमा आउन पाइयो । इलामको देउमाई नगरपालिकास्थित पानीटारमा फिल्म छायाङ्कनका क्रममा रहेका खड्काले आफूले नयाँ ठाउँमा फिल्म खेल्न पाएको बताए ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्म आउँदो भ्यालेन्टाइन डेमा रिलिज डेट तोकेको निर्माता तामाङको भनाइ छ । स्थिति सामान्य भएमा सोही मितिमा रिलिज गर्छौं । नभएमा नयाँ वर्षमा निकाल्ने छौँ उनले भने ।  फिल्ममा इलाममै छायाङ्कन गरिएका तीन वटा गीत रहने छन् भने फिल्म दुई घण्टाभन्दा बढीको रहने बताइएको छ ।