कृष्ण लीलामा रमाए पुष्प र श्रद्धा

काठमाडौ – दशैअघि नै निर्माण घोषणा भएको फिल्म ‘कृष्णलीला’ को गत शुक्रबारबाट छायांकन सुरु भएको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालिएको फिल्मको युनिट हाल इलाममा छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीत इलामको पानीटारबाट छायांकन शुरु गरिएको कार्यकारी निर्माता रत्न श्रेष्ठले बताए । गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री रोमान्स गर्दैछन् ।

अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानले गरेका छन् । बाबु श्रेष्ठको खिचेको गीत निकै सुन्दर बनेको कोरियोग्राफर लामिछानेले बताए ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय छ ।

प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो । त्यहाँ गीतको छायांकन सम्पन्न गरेर दृश्य खिच्न थालिने जानकारी निर्देशक वलीले जनाए । फिल्मको सबै छायांकन पूर्वी नेपालमै गरिनेछ ।