यात्रा विदेशको, चिन्ता स्वदेशकोमा पुष्करलाल

काठमाडौं– पत्रकार पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्थापित कामना समूहको ३७ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । करिब एक सय देश घुमेका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा पुस्तकमार्पmत चिन्ता प्रकट गरेका छन् । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ ।

पित्तथैलीमा पत्थर जमेर १० वर्षसम्म दुःख पाइरहँदा पनि श्रेष्ठलाई नेपालका डाक्टरले ग्यास्ट्रिक भन्दै औषधी खुवाइरहेको, फुटबल खेल्दा खुट्टा नै बाङ्गो हुने गरी घुँडामा समस्या हँुदा समेत ३५ वर्षअघि मर्केको खुट्टामा ब्यान्डेज मात्र लगाइदिएर वीर अस्पतालबाट डिस्चार्ज गरिएको, परिणामस्वरुप खेलजीवनबाट संन्यास लिन बाध्य हुनुपरेको उनको पुस्तकमा उल्लेख छ ।

पुस्तकमा सञ्चारविद् प्रा. पी. खरेल, नागरिक समाजका अगुवा तथा चिकित्सक डा. सुन्दरमणि दीक्षित, प्रखर वक्ता पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाललगायतले आफ्नो धारणा राखेका छन् । २०७६ वैशाख ४ गते ६० वर्षको उमेरमा निधन भएका श्रेष्ठका बारेमा उनीका पुत्रहरु दिरेकलाल श्रेष्ठ र अनुजलाल श्रेष्ठले पितामाथि गरेको विश्लेषण पनि पुस्तकमा समेटिएको छ ।

पुष्करलालले ६० वर्षको उमेर पछि सक्रिय पत्रकारिता तथा मिडिया व्यवस्थापनको नेतृत्वबाट आंशिक अवकास लिने र चारवटा किताब प्रकाशन गर्ने योजना बनाएका थिए । यसमा यात्रा वृत्तान्त, राजनीतिक गतिविधि, आम सञ्चार र आत्मकथा गरी चार विधामा कलम चलाउने र पहिलो पुस्तक ६१औं जन्मोत्सवका दिन २०७६ साल साउन २५ गते विमोचन गर्ने उनको योजना रहेको थियो । हरेक दिन डायरी लेख्ने उनीसँग पुस्तकका लागि पर्याप्त सामग्री थिए ।

कुल ३४८ पृष्ठको मोटो गाता (हार्ड कभर)मा प्रकाशित ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तकको मूल्य रु. १,२५० राखिएको छ भने पेपर ब्याकको पुस्तक रु. ७०० मा प्राप्त गर्न सकिन्छ । श्रेष्ठको जीवनीमा आधारित अघिल्लो कृति ‘कलम’ बजारमा आइसकेको छ ।