रहस्यको गर्भमै यी अभिनेत्रीको मृत्यु

मुम्बई(एजेन्सी)बलिउडको दुनियाँ ग्ल्यामर र चम्किलो छ । यही चम्काईका कारण यहाँभित्रको अध्यारो पाटोलाई देख्न निकै गाह्रो हुन्छ । यो अध्यारोलाई त्यही मान्छेले सम्झन सक्छन्, जो यो चम्किलो दुनियाँको हिस्सा बनेको छ र योसँग जुधिरहेको छ । बलिउडमा यस्ता कैयौं नाम छन्, जो यो अँध्यारोमा परेर बाहिर निस्कन सकेनन् । उनीहरुको मृत्यु अझै पनि रहस्यकै विषय बनिरहेको छ ।

सन् २००५ मा आफ्नो समयकी सुपरहिट अभिनेत्री परवीन बबीको मृत शरीर घरमा भेटिएपछि हंगामा भएको थियो । उनको घरमा कैयौं दिनसम्म ढोका नखुलेपछि प्रहरीले ढोका फोडेको थियो । प्रहरीले उनको लाश भेटेपनि उनको निधन के कारणले भयो भन्ने मेसो पत्ता लगाउन सकेको छैन ।

छोटो समयमा फिल्ममा सफलता पाउने बलिउडमा कमै मात्र अभिनेत्री छन् । जसमा अभिनेत्री दिव्या भारती पहिलो नम्बरमा आउछिन् । जो रातारात बलिउडमा स्टार भइन् । एकसे एक फिल्ममा ठूला स्टारसँग रोमान्स गरिन् । तर एक रात आफू बसेको भवनबाट लडेर उनको मृत्यु भयो । उनको मृत्युलाई लिएर अलग अलग आँकलन गरियो तर वास्तविकता के थियो भन्ने कुरा कसैले मेसो पाउन सकेका छैनन् ।

सन् ९० को दशककी भारतकी टप मोडल नफीसा जोसेफले मिस इण्डिया युनिभर्सको उपाधि जितेपनि उनले मिस युनिभर्सको उपाधि पोल्टामा पार्न सकिनन् । उनलाई सन् २००४ मा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनले किन आत्महत्या गरिन् भन्ने कुरो अझै पनि रहस्यको गर्भ मै छ । कतिपयले उनी निजी जीवनबाट समस्याग्रस्त रहेको बताए पनि वास्तविक कारण के हो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।

भारतीय टेलिभिजनको चर्चित सिरियल बालिका बधुलाई नसम्झने कोही छैनन् । जसमा ठूली भइसकेकी आनन्दीको भूमिका प्रत्युषा बनर्जीले निभाएकी थिइन् । गोरो अनुहार, सुन्दर आँखा र सुमधुर स्वरका कारण उनीबाट जोकोही प्रभावित थिए । तर २४ वर्षको उमेरमै उनले आत्महत्या गरिन् । उनको आत्महत्याको कारण अझै पत्ता लाग्न सकेको छैन ।

अभिनेत्री जिया खानले २५ वर्षको उमेरमै संसार छाडिन् । उनले आफ्नो करियरमा अमिताभ बच्चन जस्ता सुपरस्टारसँग काम गरिन् । आमिर खानसँगसमेत काम गरिसकेकी यी अभिनेत्रीले अकस्मात आत्महत्याको निर्णय लिइन् । उनको आत्महत्याको कारण अझै पत्ता लागेको छैन ।