ओली–प्रचण्ड ‘हेट स्टोरी’ र प्रतिवेदन होइन, पत्र प्रतियोगिताको असर

एउटा भनाई छ– म विगत सम्झन चहान्न। त्यो विगतको कमजोरी सम्झिँदा मेरो वर्तमान र भविष्य अन्यौल हुने भएकाले सम्झिन चहान्न।

जे भइसक्यो, त्यसलाई कोट्याएर व्यर्थको विवाद किन निकाल्नु? त्यसले सही बाटो र परिणाम दिन्छ त? नेपाली राजनीतिक इतिहासका अनेक पाटा छन्। कम्तिमा यो तीन दशकमा अहिलेको नेतृत्व राजनीतिमा हावी भएको समयले काँचुली फेर्ने अभ्यास गरेको थियो तर फेर्न पाएन।

पहिलो प्रश्न हुन्छ– राजनीतिक कसका लागि र किन? यदि देश र जनताको हितकै लागि हो, मुलुकलाई अगाडि बढाउने कसी र भविष्यको सुकिलो दर्पणका लागि हो भने, यस्ता तल्ला तहका तर्कहरू किन?

२८ कात्तिक अघिका दुई पत्र, त्यस दिनको राजनीतिक प्रतिवेदन र १३ मंसिरको प्रत्युत्तारात्मक प्रतिवेदनको पूर्ण अध्ययनपछि नेपाल कम्युनिस्छ पार्टी (नेकपा)का अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको ‘हेट स्टोरी’का आयाम र आयतनमाथि एक पटक घोत्लिनुपर्छ।

हो नेकपामाथि, खासगरी ओली–प्रचण्डको प्रेम र हेयको राजनीतिमाथि नै प्रश्न गर्नुपर्छ। यो उनीहरूको प्रेम र घृणाको विषयमा होइन, त्यसले मुलुक र भविष्यलाई पार्ने असरसँगको सम्बन्धका कारण चर्चा आवश्यक छ, प्रश्न आवश्यक ठहर्छ।

यहाँ तमाम विगतलाई उल्लेख गरिएका छन्। जसले समाधानको कुनै उपाय दिन्छ भन्ने देखिँदैन। यदि तपाईहरू सच्चा कम्युनिस्ट हो भने त्यहि लयमा हिँड्नुहोस्।

माओत्सेतुङ भन्छन्– ‘कम्युनिजम इज नट लभ, कम्युनिजम इज ह्याम्मर ह्विच वी युज टु क्रस दी इनीमी।’ अर्थात् कम्युनिजम भनेको दुश्मनविरुद्ध प्रयोग गर्ने हतौडा हो प्रेम होइन।

यो प्रसङ्ग नेपाली कम्युनिस्ट आन्दोलन या अभियान वा सरकारमा रहेर गरिएका शासन प्रणालीमाथि कत्तिको प्रभावकारी भयो अथवा भएन भन्ने चिजमा जोडिन्छ।

आम चुनावका बेला गठबन्धनका रुपमा रहेका तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा भएपछि यसभित्र मन्थन हुनु अस्वभाविक होइनन्। तर मन्थन कस्तो हुनुपर्ने थियो?

ओलीले ५३ बुँदामा पेश गरेको राजनीतिक प्रतिवेदनमा आश गरेका चिज थिए समस्या समाधानका उपाय। इखको शव्दावलीमा होइन, प्रगतिशील विचारका हिसाबमा उनको प्रतिवेदन आउनुपर्ने थियो भन्ने मान्यता अनेकमा हुन सक्छ। प्रचण्डले पेश गरेको विषयलाई उत्तर दिएको भन्ने उनले सुरुमा नै उल्लेख गरेका थिए। त्यो उनको इगोको परिक्षा पनि थियो होला। तर नेकपाको यो पत्र प्रतियोगिता जस्तो देखियो। राजनीतिक प्रतिवेदन होइन।

यति विशाल जनमत र पार्टीको लेखान्त कुनै चित्रगुप्तले लेखेका होइनन्। त्यहाँ उनको हस्ताक्षर छैन। यो जनाधारको परिणाम आउनुपूर्व नेकपाको भाग्य लेख्ने ओली र प्रचण्ड नै हुन्। यी दुवैको हस्ताक्षरले नै नेकपाको यात्रा तय भएको थियो। अब नेकपालाई नर्कमा लैजाने कि स्वर्गतिर त्यो पनि यी दुवैको हातमा छ

विषयहरू धेरै छन्। खासगरी एउटा शव्दावली र व्यवाहार अलिक बिरोधाभाष देखिन्छ। अल्पमत र बहुमत अर्थात् टाउको गन्ने विषयको लिखित र व्यवाहारिक पक्ष ‘कन्ट्रोभर्सी’मा त आउँछ नै।

प्रतिवेदन भनिएको पत्रमा पटक–पटक दुई तिहाईको जिकीर गरिएको छ। यसअघि संसदीय दलमा आफू बहुमतमा रहेको भन्ने विषयमा ओलीले जिकीर गरेका कयन उदाहरण छन्। तर सचिवालयमा भएको बहुमतलाईचाहिँ टाउको गन्ने विषय भनेर उल्लेख गर्नु विरोधाभाष छैन र? आफू बहुमतमा भएका कमिटी र दलहरूमा टाउको मूल्य देख्ने र अल्पमतमा भएका कमिटीमा टाउको गन्नु हुन्न भन्ने विषय उल्लेख गर्नु ओलीको सत्तारोहणमा कायम रहने नीजि स्वार्थ प्रतीत हुन्छ।

यस्तो विरोधाभाष विषयको उठान गर्नुअघि पृष्ठभूमीका विषयमा पनि अध्ययन गरेको भए राम्रो हुने थियो । समानता र समताका हिसाबमा एकीकरणको विषय उठान गर्दै गर्दा ३२ लाख र १३ लाख मतको प्रसङ्ग कोट्याइएको छ। ति टाउका गने बराबरका विषय भएनन् र? अनि टाउकासँग प्रधानमन्त्री ओलीलाई आपत्ति हुनुको कारणचाहिँ के हो? यो प्रश्न आम मानिसले गर्न सक्छन्।

संसदीय प्रणालीबाट प्रधानमन्त्रीमा निर्वाचित भएका कारण ओलीले बुझ्नुपर्छ त्यहाँ पनि टाउकाकै हिसाबकिताबको परिणाम हो। अन्तरपार्टी विवाद रहेका कारणले नेकपाभित्र यस्ता अभ्यास र अध्यायका अनेक उदाहरण छन्। एकीकरणपछि जनताले दिएको मतको मर्मचाहिँ यस्ता विरोधाभाष कुतर्क र प्रस्तुती होइन।

माओत्सेतुङको भनाईलाई यहाँ जोड्छु। यदि तपाईहरू कम्युनिस्ट हो भने दुश्मनको पहिचान गर्नुहोस्। दुश्मन त तपाईहरूभित्र रहेको ‘इगो’ मात्र देखिन्छ। त्यो इगोविरुद्ध हतौडा प्रहार गर्नुहोस् जसले गर्दा आम मतदाताले गरेको विश्वासले एउटा निकास पाउन सक्छ। बहुदलीय प्रतिस्पर्धाको मैदानमा ठूलो जनमतले कम्युनिजम किन रोजे? भन्ने विषयमा घोत्लिएर पार्टीका कमिटीमा छलफल र बहस हुनुपर्ने होइन र?

ओलीसँग सहमत हुने एउटा गम्भीर विषयचाहिँ छ। नेतृत्वमा पुस्तान्तरणको विषय। तर यो विषय साँच्चै मनदेखि नै आएको हो की तत्कालिन समस्यालाई समाधान गर्ने हतियारका रुपमा मात्रै भन्ने प्रश्न खड्किन्छन् नै। धेरैले सोधेका पनि छन्।

नेकपा नेतृत्वभित्रको विवादको यति तल्लोस्तरका प्रतिवेदनका नाममा छारस्ट भएका विषयबस्तुमाथि टिप्पणी गर्नु बेकार हुनेछ। तर अझै पनि मुलुकलाई सही ट्रयाकमा अगाडि बढाउने अवसर भएकाले सुझाव दिन चहान्छु।

एउटा भनाई छ नि– पूँजीवादमा मान्छेले मान्छेको चिरहरण गर्छ। पीडित बनाउँछ। तर कम्युनिजममा त्यसको ठिक उल्टो हुन्छ। अर्थात् मान्छेले मान्छेको सम्मान र समानताको आदर गर्छ। यहाँ देशकै ठूलो पार्टी, सत्ताधारी पार्टी, जनमत कमाएको पार्टीका शीर्ष नेताहरू एकले अर्कालाई खुइल्याउने गरी सतहसम्म नै पुगेका दृष्टान्त छन्। अब तपाईहरू भन्नुहोस्– पूँजीवादी व्यवस्थाका शासक हो की समाजवादी बाटोका कम्युनिस्ट नेता? यति भइसकेपछि तपाईहरूलाई कम्युनिस्ट भन्न सुहाउँछ?

नेकपाको जीवन भनेको मुलुकको स्थिरतासँग जोडिएको विषय हो। यो ओली–प्रचण्डको नेतृत्व वा शक्ति संघर्षको कथा मात्र होइन। दुवैमा नेतृत्वको अभिमान व्यक्तिगत चरित्र र स्वभावका बिम्ब हुन सक्छन् तर त्यो स्वभाब र बिम्बले मुलुकलाई अँध्यारोतिर धकेल्ने काम कदाचित उचित हुनेछैन।

नेपाली कम्युनिस्ट आन्दोलनमा प्रचण्डले स्थापित गरेको इतिहास एउटा छ, मदन भण्डारीले स्थापना गरेको बाटो अर्को छ। ओली–प्रचण्ड मिलेर गरेको सम्भावनाको प्राथमिक परिणाम जनताले दिएकै छन्। यो बिग्रहको बाटोमा गयो भने सडकमा देखिएको अर्को व्यवस्थाको आन्दोलन र लहरले गरा गाड्न सक्छ। राजनीतिलाई आफ्नो लाभका निम्ति होइन, इतिहासको पाठ, वर्तमानको त्याग र भविष्यको लाभलाई ध्यानमा राख्नुपर्ने हुन्छ। नत्र इतिहासले यो कालखण्डमा भएका बहस, तर्कका झिना मसिना विषयबस्तु नै धिक्कार्नेछ, हेक्का होस्।

यति विशाल जनमत र पार्टीको लेखान्त कुनै चित्रगुप्तले लेखेका होइनन्। त्यहाँ उनको हस्ताक्षर छैन। यो जनाधारको परिणाम आउनुपूर्व नेकपाको भाग्य लेख्ने ओली र प्रचण्ड नै हुन्। यी दुवैको हस्ताक्षरले नै नेकपाको यात्रा तय भएको थियो। अब नेकपालाई नर्कमा लैजाने कि स्वर्गतिर त्यो पनि यी दुवैको हातमा छ।