पूर्वडिआईजी रमेश खरेलको अहङ्कारमा लतपतिएको एउटा कथा

धेरैले हेरेको हुनुपर्छ एउटा फिल्म– जोली एलएलबी–२। यसको एउटा प्रसङ्गलाई यहाँ कोट्याउँदै शीर्षक केन्द्रित हुनेछु।

अदालतमा एउटा फेक इन्काउन्टरका विषयमा बहस चलिरहेको हुन्छ। जहाँ प्रहरी अधिकारी सूर्यदेव सिंहले एउटा निर्धो मानिसको हत्या गरेको र अपराधीलाई संरक्षण गरेको विषय छ।

नाम नकमाएको साधारण वकिल जोलीले सबै बहस सकेपछि सूर्यदेव सिंहलाई दोषी करार गर्ने दलिल पेस गर्दै भन्छन्,‘जो ३५ हजार तलब खान्छ उसको २८ करोडको सम्पत्ति भएको आशंका छ उसलाई इमान्दार भन्ने? जो निहत्था मानिसमाथि हत्कडी लगाएर गोली चलाउँछ, उसलाई बहादुर भन्ने?’

यो प्रसङ्ग यहाँ जोड्नु अति नै आवश्यक थियो। अर्थात् सबैले हिरो मानेका, सबैको चासोका पात्र रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरिक्षक (डिआईजी) पदबाट राजीनामा दिएका रमेश खरेलको अहंकारमा लतपतिएको एउटा कथा यहाँ राख्दैछु।

रोज राणा, प्रायःले सुनेको नाम हो। अहिले उनी नेपाली कांग्रेसको प्युठान जिल्लाको एउटा क्षेत्रका सभापति हुन्। उनको परिवार कांग्रेस समर्थक भएकै कारण युद्धका क्रममा प्युठानमा घर जलाइयो। रोज राणाको असली नाम सरोज थापा हो।

माओवादीबाट जोगिन र नयाँ पहिचानका लागि नै उनी रोज राणाका नाममा उदय भए र फिल्मी क्षेत्रमा सक्रिय भए। प्रहरीका कारण उनी विभिन्न समूहमा सक्रिय रहेको भन्ने प्रचारमा पनि आए। एकाध लफडामा नपरेका होइनन् तर ति ठूला अपराध थिएनन्। बाँच्नुसँग संघर्ष गर्नु थियो।

रोजको साधारण परिचयको अर्थ रमेश खरेलसँग जोडिन्छ। खरेलको अहंकारमा लतपतिएको कथाको सार भएकैले यी प्रसङ्गहरू एकअर्कासँग जोडिएका हुन्।

तिहारको बेला थियो। रोज जेलमा थिए। बाबु अस्पतालमा। भाइटिका लगाउन उनलाई छुट थिएन। दाजुलाई बुटवल जान आग्रह गरेका थिए। त्यहि बेला दाजुलाई गाडीले हानिदियो र ‘स्पोट डेथ’ भयो। दिदीले रुँदै फोन गरिन्। रोज सम्हालिनुको विकल्प थिएन।

तर रमेश खरेलले चलाएको मुद्दामा उनी जेलमा रहेका थिए। खरेलले नियत राखेकै कारणले उनलाई दाजुको अन्तिम अनुहारसम्म हेर्न दिइएन।

खरेलले रोजसँग यसरी नियत नै साँध्नुपर्ने या अहंकार नै देखाउनुपर्ने कारण के थियो त? यो जोली एलएलबी–२ का सूर्यदेव सिंहकै आचरणको समानान्तर व्यवाहारमा जोडिने विषय छ।

०६६ सालमा खरेल प्रहरी उपरिक्षक (एसपी)का रुपमा कास्की प्रहरी प्रमुख थिए। राणा फिल्म स्टार। राणाका एकाध साधारण विवादबारे सुनेका थिए। राणा त्यसबेला चर्चित थिए। पोखरामा उनी अभिनित फिल्म ‘टक्कर दुई मुटुको’ हाउसफूल चलेको थियो। उनको नाम र चर्चा कम थिएन।

प्रहरी कर्ममा ७० हजारभित्र चर्चामा आउन या कमाउनका लागि अनेक पाटा चाहिन्छन्। खरेलले त्यसबेलै नियत बनाए– काठमाडौं गएपछि यत्तिको चर्चा कमाएका व्यक्तिमाथि हात हाले, आफू चर्चाको अर्को शिखरमा पुगिनेछ। उनको यो पूर्वयोजनाले गति पाउने ठाउँ आयो, खरेल महानगरीय प्रहरी परिसर हनुमानढोका आइपुगे।

भनिन्छ नि– समय हामीमाथि उड्छ। तर यसले अगाडि छायाँ छाडेर हिँड्छ। कर्मअनुसारका प्रतिबिम्बहरू फरक प्रारूपमा आउँछन्। प्रकाशनमा आउँछन्। यो आफ्नै समयको छायाँ मान्नुपर्ने हुन्छ, सबैले

रोज राणाले फिल्मबाट कमाएलगायतका रकम रेष्टुरेन्टलगायतमा लगानी गरेका थिए। तर उनको लगानी नै नहरेको तर सदासायता रहेका दुईवटा (एउटा बागबजार र अर्को गोंगबु)को रेष्टुरेन्टमा खरेलले छापा हान्न लगाई मानव बेचबिखनको मुद्दा राणाको टाउकोमा लगाइदिए।

यसैलाई खरेलले आफ्नो प्रचारात्मक उदयको बलियो आधार बनाएका थिए। उनी यसमा सफल हुन चहान्थे र कानुनका नौ सिङ यसैमा उपयोग गरे। रोजको नाम आएपछि उनले गलत मुद्दामा आफू बचिहालिन्छ भन्ने ठो र प्रहरीकहाँ पुगे। तर खरेलले उनलाई एउटा, दुईटा होइन, मानव बेचबिखनको तीन वटा मुद्दा थोपरिदिए।

झूठा मुद्दामा कागजात यति बलियो बनाए कि अदालतबाट उम्किने मौका कम राखिदिए। पूर्पक्षका लागि थुनामा परियो। तोकिएको जेलमा समेत बस्न दिइएन। काठमाडौंमा मुद्दा चलेपछि डिल्लीबजारमा राख्ने भनिएको थियो, नियतबस खरेलले नख्खुमा पठाइदिए जबकि भोलीपल्ट फेरि जिल्ला अदालत आउनुपर्ने थियो।

यसबीच सुरुका दिनदेखि नै रोजलाई दुख दिन थालियो। परिसरको हिरासतमा राखिएका उनलाई राती १२ बजे खरेलले आफ्नो कार्यकक्षमा उपस्थित गराउन आदेश दिए। कार्यालयमा नै मदिराले मस्तराम भएका खरेलले रोजलाई नछाड्ने भन्दै अपशव्दसहितका गाली गरी हिरासतमा पठाएका थिए।

एउटा प्रहरी अधिकारीले आफ्नो प्रचारात्मक उदय गराउनका निम्ति कतिसम्म नियत राख्न सक्छ भन्ने ज्वलन्त उदाहरण हुन् खरेल। रोज राणा फिल्म बनाउँथे, उनको जीवन र परिवारको दशा एउटा भयानक फिल्म जस्तो बन्यो, त्यो पक्राउ प्रकरणपछि।

समाजका अनेक पाटा छन्। अनेक व्यक्ति र चरित्र हुन्छन्। यी चरित्रलाई कानुनको सिधा उपयोग गर्दा न्याय पाउने या अन्यायको भागीदार बन्ने भन्ने फरक–फरक कथा पनि छन्। तर यो कथा यति सहज छँदै थिएन।

रोज राणालाई जुन रेष्टुरेन्टमा मानव बेचविखनको मुद्दा चलाइएको थियो, त्यहाँ त्यसबेला उनको उपस्थिति त थिएन नै, उनी पुगेका पनि थिएनन्। जति पनि युवतीलाई नियन्त्रणमा लिइएको थियो दबाबमा राखेर रोजको नाम मुछ्नका निम्ति हस्ताक्षर गराइएको थियो।

खरेलको नियत कहाँ देखिन्छ भन्ने प्रश्न आउन सक्छ। मानब बेचबिखनको एउटा मुद्दा एक ठाउँबाट मात्र चलाउन मिल्छ। यसका प्राविधिक विषयमा पनि चर्चा हुनेछन्। तर खरेलले गोंगबु, बानेश्वर र परिसर तीन ठाउँबाट एउटै मुद्दा दर्ता गराएर तीनवटा बनाएर थुन्ने नियत राखिदिए।

त्यतिमात्र होइन रोज राणालाई जेल हाल्नैपर्ने नियतको अर्को पाटोचाहिँ त्यसबेला काठमाडौं जिल्ला अदालतका न्यायाधीश रहेका नारायण श्रेष्ठसँग खरेलले लविङ नै गरेको पनि चर्चा थियो। राणा पूर्पक्षका लागि थुनामा पुगे। उनलाई नख्खु जेल पठाइयो।

माथि मुद्दाको प्राविधिक कुरा छन् भन्ने उल्लेख थियो। त्यो प्रसङ्ग कोट्याऔं। मानव बेचबिखनको मुद्दामा कसैलाई दोषी या आरोपी बनाइन्छ भन्ने स्पष्ट हुनुपर्छ– उसले त्यसमार्फत कति आयआर्जन गरेको थियो? त्यो लाभ के थियो? ति पीडित कहाँ छन्? तिनले अदालतमा उभिएर साँच्चै बयान दिएकै हुन्? त्यसवापत आरोपीले रकमको प्रयोग गरेको पाइएको छ? यी प्रश्न हुन्छन्। के यी विषयहरूमा तत्कालिन अदालत घोत्लियो? पूर्पक्षमा पठाउनुअघि प्रहरीसँग यी विषयमा क्रस भयो?

भएन भन्ने त रोज राणाले पछि पाएको सफाईले स्पष्ट पार्छ। त्यहि अदालतले उनलाई दिएको सफाई यी प्रश्नका घनिभूत उत्तर हुन्। तर, त्यसबीचमा रोज राणाले गुमाएको जीवनका अहम् समय, दाजु र त्यसैको पीरले केही समयमा गुमाएका बाबुको भावनाको क्षतिपूर्ति होला? यी अहम् प्रश्न छन्। यी अनुत्तरित पनि बनिसकेका छन्, अब। किनकी रोज राणा राजनीतिमा सक्रिय छन्। रमेश खरेल पनि राजनीतिक अभियानकै मैदानमा छन्। कुनै दिन जम्काभेट भए यी प्रश्नहरू उनका आमनेसामने घोचिरहने हुन सक्ला।

खरेललाई मिडियाले हिरो बनायो। संगठनमा उनी कति इमान्दार थिए या व्यावसायीक थिए भन्ने पाटो एकातिर होला। प्रहरी संगठनमा आफ्नो लाइन मिल्ने भयो भने सबै ठिक, मिलेन भने सबै बेठिक भन्ने एउटा गुटीय राजनीति पनि हुन्छ।

अहंकार, घमन्ड र घुक्र्याईँ पनि हुन्छ। त्यसका उदाहरण त खरेल स्वयम् हुन्। संगठनको महानिरिक्षक (आईजी) नियुक्तिका बेला सरकारले १ नम्बरमा रहेका तत्कालिन डिआईजी सर्वेन्द्र खनाललाई आईजी नियुक्ति गरेपछि खरेलको घुक्र्यार्इँ सतहमा आयो। उनले राजीनामा नै गरिदिए। खनाल उनका तुलनामा कुनै कुरामा कमजोर थिएनन्। तर २९ बर्ष संगठनमा काम गरेका खरेलले उनै खनालविरुद्ध मिडियामा अन्तरवार्ता पनि दिए।

खरेलले विगत हेरेनन्। यदि अच्युतकृष्ण खरेल नेपाल प्रहरीको संगठनमा नहुन्थे, अझ उपल्लो तहमा नहुन्थे त खरेलथोकका रमेश भलिबलका मात्रै कोच हुन्थे कि? संगठनमा उनका समकालिन र उनीपछिका पुस्तालाई राम्रो थाहा छ, अच्युतकृष्ण नहुन्थे त उनको अहंकार कहाँ हुन्थ्यो र?

यीनलाई चर्चाको तिर्खा छ। डिआईजीबाट राजीनामा दिए त्यहाँ चर्चा पाउनका लागि प्यास मेटे। अहिले राजनीति सुधार्ने नाममा अभियानमा छन्। बेलामौका सरकारको आलोचना गर्छन्, चर्चामा आउने तिर्खा मेट्छन्। उनलाई व्याख्या गर्ने अनेक कोण र दृष्टिकोण हुन सक्छन्। अन्य धेरै कथा छन्। यद्यपि, यो एउटा बहीखाताको पान्नामात्र हो।

भनिन्छ नि– समय हामीमाथि उड्छ। तर यसले अगाडि छायाँ छाडेर हिँड्छ। कर्मअनुसारका प्रतिबिम्बहरू फरक प्रारूपमा आउँछन्। प्रकाशनमा आउँछन्। यो आफ्नै समयको छायाँ मान्नुपर्ने हुन्छ, सबैले।