अवैध धन्दामा कतार दूतावासको संलग्नता पुष्टि, कामदार पठाउन १७ म्यानपावरको सिन्डिकेट

काठमाडौं– वैदेशिक रोजगार सम्बन्धी काम गर्दै आएका केही कम्पनीका कारण सिंगो व्यवसाय नै बदनाम भएको छ। जसका कारण व्यवसायीलाई नियगमन गर्ने निकाय र सर्वसाधारणले त्यस्ता म्यानपावर कम्पनीलाई मानव तस्करीको अखडा बताउन थालेका छन्।

कानुनको खिल्ली उडाउँदै पूर्वश्रम स्वीकृती नै नलिई धमाधाम अन्तरवार्ता लिइरहेका तीन वटा म्यानपावर माथि वैदेशिक रोजगार विभागले छापा मारे सँगै म्यानपावरका मनपरीतन्त्र छारष्ट भएको हो।

विभागले यहि साता डीडी ह्युमन रिसोर्स, एसओएस म्यानपावर प्रालि र लाजिम्पाटस्थित होप इन्टरनेशनल प्रालिरमा छापा मारेको थियो।

यी तीनै म्यानपावरले पूर्व श्रम स्वीकृती नलिई कतार प्रहरीमा पठाउने भन्दै कामदारसँग अन्तरवार्ता लिइरहेको अवस्थामा केहीलाई नियन्त्रणमा लिएको थियो भने कारबाहीका लागि सिफारिस गरिसकेको छ।

तीन म्यानपावरसहित एक दजर्न म्यानपावरले कतारमा मान्छे पठाउने बिषयमा समेत सिन्डिकेट लगाउँदै आएको यहि प्रकरणबाट खुलेको छ। यीबाहेक अल थाक्वेत ओभरसिज, म्यानेजमेन्ट, राज ओभरसिज, कैलाश इन्टरनेशनल म्यानपावर, अल–रायन इन्टरप्राइजेज, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउन्डलिनेस रिक्रुटमेन्ट, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्टलाई मात्रै कतारमा श्रमिक पठाउने गरी सिन्डिकेटका लागि छनोट भएका छन् ।

यी म्यानपावरहरूलाई नेपालस्थित कतारी दूतावासकै सहयोग रहेको बुझिएको छ । विभागले होप इन्टरनेशनलमा छापा मार्दा गैरकानुनी धन्दामा दूतावासको समेत संलग्नता भेटिएको थियो । यी म्यानपावर कम्पनीलाई मात्र कामदार पठाउने अनुमती दिएवापत दूतावासले राम्रो आम्दानी गर्ने गरेको स्रोत बताउँछ ।

दूतावासले कतारी भिसा सेन्टरकै नेतृत्वमा कतार जाने कामदारमाथि १७ वटा म्यानपावरलाई मात्र छनोट गरेको छ । जुन नेपालमा गैरकानुनी मानिन्छ । राज्यको नियम मिच्दै गत साताबाट दूतावासकै आर्शिवादमा पूर्वश्रम स्वीकृती नै नलिई धामाधाम लिने म्यानपावर कम्पनीमाथि भने अनुसन्धान सुरु भईसकेको छ । जसमा दूतावासकै संलग्नता पाईएको विभागका एक अधिकृतले बताए । 

विभागले मंगलबार लाजिम्पाटस्थित होप इन्टरनेसनलमामा छापा हानेको थियो । छापा मार्ने क्रममा नेपालस्थित कतारी दूतावासको गाडी पनि म्यानपावर कम्पनीको परिसरमै भेटिएको थियो।

म्यानपावरको गैर कानुनी धन्दामा दूतावासको संलग्नता पाईएको हो । कम्पनी परिसरमा दूतावासको ४५–सीडी–००९ नम्बरको गाडी भेटिएको थियो । विभागको टोली म्यानपावरमा पुगेपछि अन्तरवार्ता बन्द गरेर म्यानपावर सञ्चालकले कर्मचारी र दूतावासका अधिकारीलाई कार्यालयभित्र लुकाएका थिए ।

उनीहरू विभागको टोलीलाई अटेर गर्दै त्यहाँबाट फरार थिए । छापा मार्न पुगेका विभागको टोलीलाई म्यानपावरभित्र प्रवेश गर्न नएिपछि ढोका खोल्न टोलीले प्रहरीको साहायता लिएको थियो । म्यानपावरले १ सय ५० जनाको अन्तवार्ता लिदै थियो ।

विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको छ । ती म्यानपावरमा ४ सयभन्दा बढी युवा अन्तरवार्तामा लागि आएको भेटिएको थियो । यी दुवै म्यानपावरको अन्तरवार्तामा पनि कतारस्थित नेपाली दूतावासका कर्मचारीको संलग्नता रहेको विभागले जनाएको छ ।

तीनवटा म्यानपावरले वैदेशिक रोजगार ऐनअनुसार पूर्वश्रम स्वीकृती नलिई कतार प्रहरीमा लैजाने भन्दै अन्तरवार्ता लिएको विभागमा अनुगमन शाखा प्रमुख कुशल बरालले जानकारी दिए । छापा मारेको म्यानपावरले कतार प्रहरीमा कामदार पठाउनका लागि भिसा प्रमाणीकरण नगरेको र पूर्व श्रम स्वीकृती नलिई अवैध रूपमा अन्तरवार्ता लिइरहेको पाइएको बरालले बताए ।

‘विभागले छापा हानेको म्यानपावरसँग अन्तरवार्ता लिने कुनै प्रमाण छैन । ती म्यानपावरले अवैध रूपमा कतार पुलिसका कामदार पठाउनका लागि अन्तरवार्ता लिएको पाइएको छ,’ उनले भने, ‘अवैध रूपमा अन्तरवार्ता लिने म्यानपावरमाथि वैदेशिक रोजगार ऐनअनुसार कारबाही हुन्छ । तीनैवटा म्यानपावरका बारेमा अध्ययन गरेर कानुनी कारबाही अगाडि बढ्छ ।’

अन्तरवार्तास्थलमा कतारी दूतावासको गाडी र कर्मचारीको संलग्नताका विषयमा परराष्ट्र मन्त्रालयमार्फत छानबिनका लागि प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ।