कंगनाको पक्षमा उच्च अदालतको आदेश

मुम्बई(एजेन्सी)– मुम्बई उच्च अदालतले अभिनेत्री कंगना रनावतको भवनको एक भाग भत्काउने मुम्बई महानगरपालिकाको आदेशलाई रद्द गरेको छ । अदालतले अभिनेत्रीमाथि गरिएको कारवाही दुर्भावनाबाट प्रेरित र उनीमाथि नोक्सान पुर्याउने दुराशयले गरिएको जनाएको छ । बीएमसीले गत नौ सेप्टेम्बरमा पाली हिल्स इलाकामा रहेको कंगनाको भवनको एक भाग भत्काएको थियो ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको मामलामा अनुसन्धानको विषयलाई लिएर अभिनेत्री रनावतले महाराष्ट्र सरकारमाथि लगातार चेतावनी दिइरहँदा बीएमसीले उनको भवनको भाग भत्काएको थियो । यो विषयमा कंगना र शिवसेना सांसद सञ्जय राउतबीच निकै विवाद पनि भएको थियो । बीएमसीले कंगनाको भवनको हिस्सा भत्काउनुलाई राजनीतिक द्वेषबाट प्रेरित मानिएको थियो ।

भवन भत्काएपछि कंगनाले एक भिडियो जारी गर्दै उद्धव ठाकरे आफूलाई डराउने र चुप राख्ने कोशिस गरिरहेको बताएकी थिइन् । उनले कानूनको हवाला दिँदै बीएमसीले १५ दिन अघि सूचना नदिइकन कुनै भवनमाथि कारवाही गर्न नमिल्ने बताएकी थिइन् । यद्यपि बीएमसीले सबै आरोपलाई अस्वीकार गर्दै भवनमा गैरकानूनी हिस्सा बनाएकोले त्यसलाई भत्काइएको जनाएको थियो । यही बीचमा यो मामला उच्च अदालतसम्म पुगेको थियो र अदालतले भवनमाथि बीएमसीको कारवाहीलाई रोक लगाइदिएको थियो ।