मिटर ब्याजमा लगानी गर्ने करोडौं रकम कहाँबाट आउँछ प्रहरीको कनिष्ठ कर्मचारीलाई?

  • 5
    Shares

काठमाडौं– सेवामा रहँदा विभिन्न विवादीत व्यक्तिसँगको अन्तरंग सम्बन्धले अनधिकृत बाटोबाट रकम आर्जन गर्नका निम्ति नेपाल प्रहरीका कनिष्ठ अधिकारीलाई बाटो खुल्ने गरेको स्वभावित तथ्य बन्न थालेको छ।

घुमुवाका नाममा राखेका कनिष्ठ अधिकारीले सूचना ल्याउने बाहनामा सहरका दुई नम्बरी कारोबार गर्नेसँग चिनजानको सम्बन्ध मात्र बनाउँदैनन्, आर्थिक सम्बन्ध पनि स्थापित गरेका कयन उदाहरण छन्।

त्यसैले प्रहरीका अधिकारी आउनासाथ घुमुवालाई परिवर्तन गर्ने प्रचलन नै छ। जब महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रमुखका रुपमा प्रहरी नायव महानिरिक्षक (डिआईजी) विश्वराज पोखरेल आए उनले घुमुवाको सुविधा लिएर यसरी आर्थिक लाभ कमाउनेलाई तानिदिए। र, नयाँ नीति लागू गरे– अब सूचना पनि बर्दीवालाले नै ल्याउँछ।

तर यो उपक्रम रोकिएको छैन। केही उदाहरण उदेक लाग्दा छन्। प्रहरी सेवामा सानो समय बिताएर सेवा निवृत्त भएका पूर्वअसई ध्रुव केसीको आर्थिक हैसियत अस्वभाविक हिसाबले बढेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धिकरण विभागमा उजुरी परेका विवरण फेला परेका थिए।

उनको आफ्नै नाममा नभएर पत्नीलगायतको नाममा विभिन्न ठूला व्यापार व्यावसायमा मनग्गे शेयर रहेको मात्र होइन, मिटरब्याजमा लगानी गरेका विषय पनि विवरणमा आएका छन्। ति मध्येका किंग्स लाउन्जका सञ्चालक अलाइभ भनिने किसन राईसँगको आर्थिक सम्बन्धसहित अकुत सम्पत्ति आर्जन गरेको विवरण बाहिरियो। तर राईले आर्थिक सम्बन्धका बारेमा त्यतिधेरै नखुलाए पनि टेलिफोनमा ‘पहिला अली–अली कारोबार भएको थियो, करोडौंको होइन’ भनी स्वीकारेका थिए।

राईसँगको आर्थिक कारोबारको एउटा पाटो भए पनि केसीका अन्य पाटोका लगानी निक्कै आश्चर्य लाग्दो भेटिन्छन्।

पोखरामा रहेको किंग्स लङमा पत्नी रोजीना भण्डारी केसीका नामको २६ प्रतिशत शेयर, किंग्स लङ काठमाडौंको १६ प्रतिशत शेयरका कागजपत्र र विवरण सुरक्षित छन्।

स्रोतहरूको दाबीअनुसार किसन राईका नाममा रहेको शेयर केसीले आफ्नो नाममा पार्नुको कारण चिसो आर्थिक सम्बन्धको उपज हो। राई रिचार्जर वेभका सञ्चालक पनि हुन्।

यती मात्र होइन, केसीले झापाको विर्तामोड र चितवनमा महँगो मूल्यमा जग्गा खरिद गरेको, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकका खातालाई पनि चलायमान पारेको विषय बाहिरिएको थियो। जसलाई अख्तियारले अनुसन्धानको दायरामा राखिएको जनाउँछ।

कनिष्ठ अधिकारीको आर्थिक या विवादीत सम्बन्ध कसरी बन्छ?

साढे ३३ किलो सुन प्रकरणमा छानबिनको दायरामा तानिएका सई बालकृष्ण सञ्जेलको प्रसङ्गले यसलाई पुष्टि गर्छ। त्यसबेला महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सञ्जेलले सुन प्रकरणका मुख्य नाइके भनिएका चुडामणि उप्रेती गोरेलाई ‘भान्जा’को सम्बोधन गरिएको प्रतिवेदन सार्वजनिक भएको थियो।

गृह मन्त्रालयको छानबिन समितिले गोरे पत्नीसँग पनि सञ्जेलको बारम्बार सम्पर्क र संवाद भएको खुलाएको थियो। कतिपयले सञ्जेलका पनि विभिन्न ठाउँमा लगानी रहेको विवरण त्यसबेला सार्वजनिक गरेका थिए।

अहिले आरोप लागेका केसी र सञ्जेलको सम्बन्ध पनि राम्रो रहेको बताइन्छ। केसी त्यसबेला महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए भने सञ्जेल महानगरीय प्रहरी अपराध महाशाखामा थिए।

‘फिल्ड अनुसन्धानको जिम्मा सई–असईकै हुन्छ। अन्य अधिकारीले त्यसको निगरानी र नेतृत्व गरेका हुन्छन्। अभियुक्त हुन् या विवादीत मानिस भनौं या अनुसन्धानका क्रममा गर्नुपर्ने संगत तिनै तल्ला तहका अधिकारीले गरेका हुन्छन्’, नेपाल प्रहरीका एक जना प्रहरी उपरिक्षक (एसपी) भन्छन्,‘हुन सक्छ त्यस्ता आधारमा बनेको सम्बन्धलाई आर्थिक हिसाबमा उनीहरूले कमाउ धन्दाको बाटो बनाएका हुन्।’

आर्थिक पहुँचका आधारमा नै केसीले प्रहरीका विभिन्न राम्रा मानिने युनिटमा जिम्मेवारी पाएको पनि बताइन्छ। युवा विकास फाइनाइन्सका अध्यक्ष समेत रहेका राईजस्ता रेष्टुरेन्ट र लाउन्ज सञ्चालकसँग यस्ता अधिकारीको सम्पर्क र चिनजान चाँडो हुनुको कारण ड्युटी अफिसर बन्नु पनि हो।

‘रातभरी खुल्ने लाउन्जलाई निगरानीमा राख्ने पेट्रोलिङ अफिसरका रुपमा पुगेका कारण सम्बन्ध बन्न सकेको हुन्छ। त्यो सम्बन्ध साधारण हुँदै आर्थिक सम्बन्ध बन्न सक्ने सम्भावना हुन्छ’, ति अधिकारी भन्छन्।


  • 5
    Shares