त्यसबेला सिलवाल र खनालले चलाएका अप्रेशनहरूः  कति छन् नेपालमा नक्कली डाक्टर–इन्जिनियर?

काठमाडौं– गलत उपचारका कारण बिरामीको मृत्यु भएका समाचार र विवरण बाहिर आउने क्रम घटेको छैन। अझ अहिले कोभिड–१९का बेला मृत्यु हुनेको संख्या एकातिर भए पनि डाक्टर गतिला छन् या छैनन् भन्ने प्रश्नचाहिँ उठेको छैन।

अस्पताल पुगेका कतिपयको गुनासो हुन्छ– कम्पाउन्डरले नै उपचार गर्छन्। यस विषयमा प्रहरीले खासै चासो दिएको छ या छैन त्यो खुलीसकेको छैन। कतिपय निजी अस्पतालले त जानाजान बिरामीको मृत्यु हुनेगरी उपचारका नाममा रकम समेत असुली गरिरहेका छन्। के ति अस्पताललाई प्रहरीले निगरानीमा राखेको छ?

कुनै बेला अस्पताल र डाक्टरलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले निगरानीमा राखेर ठूलो कारबाही नै चलाएको थियो। त्यसबेला सीआईबी प्रमुख थिए हालका नेकपाबाट ललितपुर–१ का प्रतिनिधि सभा सदस्य नवराज सिलवाल। उनको नेतृत्वमा चलेको थियो अप्रेशन ‘क्वाक’।

दर्जनौ फर्जी प्रमाणपत्रधारी डाक्टर पक्राउ गरिएका थिए जसका गलत उपचारका कारण नागरिकले मृत्युशैया देख्नु परेको थियो।

यो क्रम सुरु भएको थियो– सुनसरीको इटहरीस्थित पशुपति मोडेल अस्पतालका सञ्चालक पशुपति चौधरीको पक्राउ प्रकरणबाट। चौधरीलाई अस्पतालमा वरिष्ठ डाक्टरका रूपमा विरामीहरुले हेर्थे। जनरल फिजिसियनका नाममा उनी कार्यरत थिए।

प्रहरीले अनुसन्धान गर्दै जाँदा चौधरीले भारतको पटनाबाट डाक्टरको नक्कली प्रमाणपत्र किनेको खुलेको थियो।

सिरहा विष्णुपुरकी ३३ वर्षीया विनिता यादव कलेज अफ मेडिकल साइन्स भरतपुरमा पढाउँदै गर्दा सीआईबीले पक्राउ गरी कारबाही सुरु गरेको थियो। नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको प्रमाणपत्र लिने परीक्षामा पास भएकी उनको एमबीबीएस पास कै प्रमाणपत्र नक्कली भएको सीआईबीले पत्तो लगाएको थियो।

पक्राउ गरेरै अनुसन्धान गर्दै गर्दा उनको मानसिक अवस्थै विग्रिएपछि महाराजंगस्थित शिक्षण अस्पताल पठाइएको थियो। यो उपक्रममा अप्रेशन क्वाक अन्तर्गत केही दिनमा नै सिलवालको सक्रियतामा १७ जना नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ गरिएका थिए।

नक्कली डाक्टरहरूको विगविगी बढिरहेको उजुरी दिनप्रतिदिन बढ्दै गएपछि मेडिकल काउन्सिलले सीआईबीलाई अनुसन्धानका लागि अनुरोध गरेको थियो।

अर्काको नाममा काउन्सिलमा परीक्षा दिन आएकालाई पनि सीआईबीले पक्राउ गरेको थियो। काउन्सिलको परीक्षा हलमा नक्कली विद्यार्थी भेटिनुले नक्कली डाक्टरले कसरी काउन्सिलको प्रमाणपत्र लिन्छन् भन्ने कुराको पुष्टि गरिन्थ्यो।

यो अप्रेशनमा सीआईबी मात्र केन्द्रित भएन। महानगरीय अपराध महाशाखाले पनि सक्रियता देखायो। अनि पक्राउ हुन थाले नक्कली इन्जिनियर पनि।

यसरी सुरु भएको थियो नक्कली काण्ड

२००६ मा भक्तपुर इन्जिनियरिङ कलेजमा इन्जिनियररिङ पढ्न पुगेका सन्तोष लामा २०१० सम्म ८ सेमेस्टर पढ्दा प्रायः सबैमा फेल भए । २०१० मा पास आउट भएर इन्जिनियर बन्ने लामाको सपना चकनाचुर हुँदै गयो । कसरी हुन्छ साम, दाम, दण्ड, भेद अपनाउन पुगेका लामाको ललितपुरका अंकित खड्कासँग चिनजान भयो । जसको काम पैसा लिएर नक्कली प्रमाणपत्र बनाउने थियो । अंकितले पोखरा विश्वविद्यालयमा आफ्नो राम्रो सम्बन्ध भएको आश्वासन दिँदै आफूले इन्जिनियरिङ पास गराउने र त्यसका लागि खर्च भने साढे २ लाख लाग्ने लामालाई बताए । चकनाचुर भएको सपना फेरि पूरा हुने सम्भावना देखेपछि लामाले अंकितले भनेबमोजिम उक्त रूपैयाँ बुझाए । रूपैयाँ बुझाएको केही दिनमै उत्कृष्ट नम्बरसहितको प्रमाणपत्र लामाको हातमा पर्यो।

ललितपुर गाबहालका २९ वर्षीय अंकित पेसाले कम्प्युटर डिजाइनर हुन् । एक व्यक्तिको सक्कली प्रमाणपत्र स्क्यान गरेर अंकितले त्यही आधारमा अरू नक्कली प्रमाणपत्र बनाउन थालेको अनुसन्धानबाट खुलेको थियो । एक जनाबाट २ देखि ७ लाखसम्म असुल्दै आएका अंकितले बनाएको प्रमाणपत्रमा विश्वविद्यालयको रजिस्ट्रेसन नम्बरलगायत विवरण भने सक्कली नै हुने गरेको थियो। त्यसबेला महाशाखाका एसएसपी थिए पूर्वआईजी सर्वेन्द्र खनाल।

नोटरी पब्लिकका सञ्चालक दण्डपाणी अधिकारी (दर्ता नम्बर १७९०), अम्बिकाप्रसाद मेयाङ्बो (दर्ता नम्बर १२३), गोपालदत्त पाण्डे (दर्ता नम्बर ०९५), विदुर खतिवडा (दर्ता नम्बर १३८७)ले नक्कली शैक्षिक प्रमाणपत्रको फोटोकपीलाई ठीक छ, भनेर प्रमाणित गरिदिने गरेको पनि खुलेको थियो।

नक्कली इन्जिनियर सन्तोष लामाको सूचना अपराध महाशाखाले पायो । लामालाई पक्राउ गरेपछि प्रमाणपत्र बनाउने गिरोहको पहिचान भयो । गिरोहको पक्राउसँगै दर्जन नक्कली इन्जिनियर प्रहरी हिरासतमा पुगे।

कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा एमबिबिएस अध्ययनरत विद्यार्थीलाई पढाइरहेको अवस्थामा डाक्टर बिनिता यादव पक्राउ परेकी थिइन् । रुसबाट एमडी पास गरेकी यादवलाई ब्युरोको अनुसन्धानका क्रममा नक्कली प्रमाणपत्र पेस गरेको पाइएपछि अनुसन्धानको दायरामा तानिएकी थिइन् । नक्कली डाक्टरमा झापा विर्तामोडस्थित दुर्गा प्रसाईको बिएन्डसी अस्पतालमा कार्यरत रामबाबु गिरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्मद अरुल हक, कोसी अञ्चल अस्पतालमा कार्यरत तुलसी महतो, ग्लोबल अस्पताल सिरहामा कार्यरत मोहम्मद अहमद सिद्धिकी समेत पक्राउ गरिएका थिए।

जनकपुर अञ्चल अस्तालमा कार्यरत सन्तोष यादव, चानसी मेडिकल हलमा कार्यरत कल्याण विश्वास, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत विनिता यादव, अजित मेडिकल हल जनकपुरमा कार्यरत भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरमा कार्यरत शैलेन्द्र महतो, स्वास्थ्य सेवा क्लिनिक कपिलवस्तुमा कार्यरत अबल हुसेन र ग्वार्कोस्थित ग्लोबल अस्पतालमा कार्यरत श्यामबाबु साह समेतलाई प्रहरीले पक्राउ गरेको थियो।

परेकामध्ये भगवान केवट मल्लाहले चीनको हुवे विश्वविद्यालयमा अध्ययन गरेका थिए । सन्तोषकुमार यादव चीनको ताइसन मेडिकल कलेज, शैलेन्द्रकुमार महतो भारतको एमएम नाक्वी इमाम डेन्टल कलेज, मोहम्मद कमरुल हक पाकिस्तानको डेमन्ट मोरेन्सी कलेज, तुलसीकुमार महतो चीनको छेङचाउ कलेज, श्यामबाबु साह वेफाङ मेडिकल युनिभर्सिटी, विनिता यादव र रामबाबु गिरी बंगलादेशको युनिभर्सिटी साइन्स एन्ड टेक्नोलोजी कलेज, पशुपति चौधरी भारतको पटना मेडिकल कलेज, मोहम्मद सिद्धिकी पाकिस्तानको सिन्ध मेडिकल कलेज, कल्याण विश्वास चीनको विफाङ मेडिकल कलेज र अफजल हुसेनले रुसको स्टेट निकाविक युनिभर्सिटीमा पढेका थिए ।

यीमध्ये शैलेन्द्रकुमार, भगवान, सन्तोषकुमार, मोहम्मद कमरुल, तुल्सीकुमार, श्यामबाबु, विनिता र रामबाबुले काउन्सिलबाट लाइसेन्स लिएका छन् भने अन्य चार विनालाइसेन्स चिकित्सकका रूपमा काम गर्दै आएका थिए । रुसबाट एमडी गरेकी विनिताले चितवनको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा एमबिबिएस पढाउँदै आएकी थिइन् । नक्कली डाक्टरलाई प्रहरीले ठगी अभियोगमा अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने काउन्सिलले लाइसेन्स खारेजी प्रक्रिया थालेको थियो।

कति छन् नक्कली डाक्टर–इन्जिनियर?

स्वास्थ्य र इन्जिनियरिङ पेशामा अहिले पनि नक्कली प्रमाणपत्रधारीको संख्या उच्च रहेको बताइन्छ। झन् अहिले राजनीतिक आवरणका आधारमा महामारीका बेला मौकामा चौका छोप्ने कम नरहेको बताइन्छ। अहिले त अस्पतालले नै लुट मच्चाएको विषयहरू बाहिरिँदा  प्रहरी अनुसन्धानका लागि तयार छ? के सीआईबी, महाशाखाले त्यस्ता विषयलाई निगरानीमा राखेको होला?

सीआईबीका एक अधिकारीका अनुसार उजुरी परेका आधारमा कतिपय विषयलाई अध्ययन र अनुसन्धानको दायरामा ल्याउन सकिन्छ। केही विवादीत व्यक्ति र संस्थालाई निगरानीमा राखिएको छ।