अस्करमा पहिलोपटक सुडानी फिल्म

  • 8
    Shares

सुडान(एजेन्सी)– सुडानी फिल्मले अन्तराष्ट्रिय स्तरमा नयाँ इतिहास रचेको छ । यो देशको इतिहासमा पहिलोपटक एक सुडानी फिल्मले अस्कर अवार्डको मनोनयनमा पर्नका लागि नाम दर्ता गराएको छ । ‘यू विल डाई एट २०’ नामको यो फिल्मले अस्करको मनोनयनका लागि नाम दर्ता गराएको हो । सुडानी निर्माता अमजद अबु अलालाले यो फिचर फिल्मलाई सन् २०२१ मा हुने एकेडेमी अवार्डका सर्वश्रेष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको विधाको मनोनयनका लागि नाम दर्ता गराएको हो ।

फिल्म युनिटले आफ्नो इन्स्टाग्राम एकाउण्टमा फिल्मको पोस्टर शेयर गर्दै यो कुराको जानकारी दिएको हो । ‘हामीलाई यो कुरा बताइरहँदा निकै गर्व लागिरहेको छ कि सुडान पहिलोपटक अमजद अबु अलालाको फिल्म ‘यू विल डाई एट २०’को मनोनयनसँगै एकेडेमी पुरस्कारको प्रतिष्पर्धामा सामेल भएको छ । यो फिल्मले अन्तर्राष्ट्रिय फिचर फिल्मको श्रेणीका लागि नाम दर्ता गराएको छ ।’ इन्स्टाग्राममा लेखिएको छ ।

सुडानको फिल्म इतिहासमा केवल आठ वटा मात्र फिचर फिल्म छन् । ‘यू विल डाई एट २०’ले गत वर्ष भेनिस फिल्म फेस्टिबलमा  ‘द लायन अफ द फ्यूचर पुरस्कार’ जितेको थियो । यो फिल्म ‘एल–गौना फिल्म फेस्टिवल’मा पनि प्रदर्शन भइसकेको छ । यहाँ पनि उसले पुरस्कार पाएको थियो । अस्कर एवार्ड कोरोना महामारीका कारण आगामी वर्षका लागि सारिएको छ । यो अवार्ड आगामी वर्षको अप्रिलमा हुनेछ ।


  • 8
    Shares