आलोचक कार्यकर्ता नभएको पार्टीका नेता ‘ओली–प्रचण्ड’ ठिकै हुन्


-विनोद ढकाल

भोली सचिवालय बैठक बस्दैछ। भोली सचिवालय बैठक नबस्न पनि सक्छ। भोली के हुन्छ? यो देशको ठूलो सत्ताधारी पार्टीका कुनै पनि नेतासँग २४ घन्टाभित्र के हुन्छ भन्ने पत्तो छैन। त्यसको मार्गचित्र छैन। त्यो चित्रको मार्ग छैन।

किन छैन? यो किनको जवाफ छैन। त्यो जवाफ किन छैन? किनभने प्रश्न गर्ने लत बसाइएन। त्यो लत आज हुन्थ्यो भने किन भन्ने प्रश्न हुने थिएन।

यसै साता सत्तारुढ पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डका पत्र सबैले पढे, सायद। त्यो पत्रमा ‘प्रिय कमरेड’ भन्दा प्रिय केही थिएनन्। दुवैको पत्र अहंकार, आक्रोश र आवेगको प्रतिवेदन थियो। सत्ता नपाएको, सत्ताबाट हटाउन खोजेको कुन्ठा बिम्बित थियो।

आजभोली एक जना पुराना कम्युनिस्ट नेतासँग कफिन्छु। केहीबेर गफिन्छु। लालच र आडम्बरका तस्बिरहरू दिनानुदिन पस्किँदा दिक्क हुन्छु अनि कम्युनिजमबारे घोत्लिन मन लाग्दा उनलाई भेट्छु। उनले भनेका छन्– प्रिय कमरेड मेरो नाम कतै नलिइदिनुहोला। म नेपथ्यमा नै रहन चहान्छु। त्यसैले उनको नाम उल्लेख गर्न नसक्ने असमर्थता व्यक्त गर्दै केही सन्दर्भ उप्काउँछु।

एउटा व्यक्तिलाई आलोचना मन पर्दैन। स्वभाविक रुपमा मलाई मेरो नीजि विषयमा अथवा म व्यक्तिका रुपमा मात्रै आलोचना वा गल्तीलाई सहज स्वीकार गर्न र सच्याउने पक्षमा हुन्न। यो म केन्द्रित मेरो व्यवाहार हुन्छ।

तर जब एउटा व्यक्ति संस्था बन्छ। संस्थाको मुखौटाका रुपमा उसको नाम लिइन्छ। उसले आलोचना सहने होइन, सुनेर सच्चिने काम गर्नुपर्छ। म मेरो संस्थामा भएका गलत काम भए वा सुधार्नुपर्ने भए व्यक्ति रहन्न। त्यो सहर्ष स्वीकार गरेर सच्याउने लयमा हिँड्छु। कसैलाई दण्डित गर्दिन। सच्याउने अवसर दिन्छु।

देश यहाँभन्दा माथि होइन? देशको कार्यकारी अधिकार, त्यसलाई बिम्बित गर्ने प्रतिनिधि दल र तिनका नेतृत्व व्यक्ति मात्रै हुन्? संस्था होइनन्?

ति पत्रहरू पढेपछि पुराना कम्युनिस्ट नेतालाई सोधें– के यस्तै हुन्छ राजनीतिको उपल्लो तहमा? यति तल्लो स्तरका शव्दावली र भनाभन हुन्छ?

उनको प्रति प्रश्नसहितको सटिक उत्तर थियो– त्यति मात्र होइन, हानाहान हुन्छ। यहाँसम्मकी सत्ताको विरासतका निम्ति ओली झापा विद्रोहमा हानेर उदाएका हुन्, प्रचण्डको भागमा त ५ हजार आफैंले बोलेका छैनन् र?

नेपालमा राजनीतिबाट परिवर्तनको सम्भावना छ। तर यो सम्भव कसरी हुन्छ भन्नेतिर पनि घोत्लिनुपर्छ।

आजभोली तल्लो तह वडास्तरसम्मको कार्यकर्ता यो नेकपा विवादमा कहाँ समालोचक र आलोचक बनेको छ? भन्ने प्रश्नको आँखीझ्यालबाट चिहाउनुपर्छ। त्यसदेखि नगर, महानगर, जिल्ला, प्रदेश, पोलिटव्युरो, केन्द्रीय समिति, स्थायी समिति र सचिवालयसम्मका सबै नेता कार्यकर्ताको विचारमाथि घोत्लिनुपर्छ।

कहिँ कसैले दुवै नेतालाई हुत्याऔं, पार्टी जोगाउने भए पुस्तान्तरण गरौं भनेका छन्? प्रचण्डको चस्मा मन पर्नेले ओलीको नाक राम्रो देखेको छैन, ओलीको टोपी मन पर्नेलाई प्रचण्डको जुँगा मन पर्दैन। आलोचना होइन, गालीको बर्षा देखिन्छ पक्षधरतामा। समाधानका उपाय हैन, आरोप र अहंकारका अधिकतम प्रहार भेटिन्छन्।   कार्यकर्ता र दोस्रो तहका नेता कोही पनि आलोचनात्मक हुनेवाला छैन।

सुमन कार्की भन्ने एक जना भाईको हास्य प्रहसन हेरेको थिएँ– नेता सम्बन्धी। उनको त्यो प्रस्तुती बस्तुगत थियो नै। त्यहाँ पाएको एउटा मिठो सन्देश थियो– रक्सीमा बिक्ने जनताका नेता हामी जस्तै त हुन्छ नी। 

अहिलेको विवादको चुरोमाथि यसो विचार गरी ल्याउँदा त्यस्तै त्यस्तै भन्न मन लाग्छ। नेकपा ठूलो पार्टी भएर के गर्नु? आलोचना गर्न नसक्ने, नयाँ नेतृत्वको विकल्प दिन नसक्ने, नेताको पक्षधरता र चाकरी गर्ने मनोवृत्ति भएका कार्यकर्ता र लेयरका नेता भएको पार्टीका उच्च तहमा ओली–प्रचण्ड ठिकै हुन्।

नेतालाई गाली गर्नुस् भनेको छैन। आम मतदाताले दिएको मतको त कम्तिमा लाज राखिदिनुहोस् भन्या छ। भोलीका दिनमा मत दिनका निम्ति कुनै भारतीय वा चिनियाँ वा अमेरिका आउनेवाला छैन। त्यहि भुईँमान्छेले दिनेछ।

नेकपाका हरेक यस्ता हर्कत, नेताको शैली र कला भारतीय, चनियाँ वा अमेरिकीले देखेको छैन। त्यहि भुईँमान्छेले देखिरहेको छ। कुना पसेर धारे हात लाएर सत्तोश्राप गर्न थालेका छन्।

जनताको न्युनतम आधार, स्वास्थ्यदेखि सुरक्षासम्मका विषयमा चर्चा छैन। सरकारले कति गरेको छ थाहा छैन, कुनै योजना र तर्जुमा प्रस्ताव वा प्रतिवेदनकै रुपमा सचिवालय, स्थायी समिति वा कुनै तहमा पुगेको छैन। त्यसले खास निर्देश र सुझाव दिने कुनै पनि आधार देखिँदैन।

कम्तिमा लाज ढाकिदिए हुन्थ्यो भन्छन् पुराना र अनुभवी, मौका नपाएका योगदान दिने कम्युनिस्टहरू। प्रिय कमरेडहरू– लाज ढाक्नुस्, ढाक्नका निम्ति सुझाव दिनुस्, त्यति गर्दा नि भएन भने, लागेन भने नेतृत्व ‘फ्याँकिदिनुस्’ नयाँ आउनुस्। तमासा नदेखाउनुस्।