जीर्ण कमलपोखरीको मर्मत गरिँदै

  • 24
    Shares

काठमाडौं–काठमाडौँ महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत भइरहेको छ । स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम गरिएको छ । कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले गत असार मसान्तभित्र जीर्णद्धार सक्नुपर्नेमा कोभिड–१९ को महामारीको प्रभावका कारण समय सीमाभित्र काम नसकिएको जानकारी दिए ।

विभिन्न क्लबले केही वर्षदेखि पोखरीमा माछापालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको क्लबले व्यावसायिकरुपमा माछा बिक्री गरी आउने पैसालाई आम्दानीको स्रोत बनाएको छ । स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गरेको क्लबले स्थानीय तहमा विभिन्न खेलकूदको विकास गरेको छ । लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष भीमसेन मैनालीले जानकारी दिए ।

पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ । पोखरीको नाममा करीब ४० रोपनी क्षेत्रफल रहेको भए पनि विभिन्न समयमा अतिक्रमण भई अहिले १८ रोपनीमा सीमित छ ।

स्थानीय समाजसेवी अरुणसिंह केसीले लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएकाले पोखरीको आवश्यक संरक्षण हुन नसकेको बताउँदै केही वर्ष अगाडि वरवपरबाट बगेर आएको ढल पोखरीमा सङ्कलन भई वरपर दुुर्गन्ध फैलिएपछि स्थानीयवासी र क्लबको समन्वयमा सरसफाइ गरी केही व्यवस्थित बनाइएको जानकारी दिए । क्लबले हालै करीब रु दुुई लाख बराबरको माछा बिक्री गरेको थियो ।

(रासस)


  • 24
    Shares