सत्यजीत रेका सहकर्मी सौमित्रको निधन

  • 4
    Shares

मुम्बई(एजेन्सी)– दिग्गज बंगाली फिल्म अभिनेता सौमित्र चटर्जीको कलकताको एक अस्पतालमा निधन भएको छ । ८५ वर्षका सौमित्र करिब एक महिना अघि कोभिड १९ को संक्रमण भएपछि अस्पतालमा भर्ना भएका थिए । त्यही समयदेखि उनको स्वास्थ्यमा उतारचढाव भइरहेको थियो । शनिबार अस्पतालले एक बुलेटिन जारी गर्दै उनको अवस्था गम्भीर रहेको र कुनै चमत्कार भएमा मात्र उनी बाँच्न सक्ने जनाएको थियो ।

सौमित्रलाई अक्टोबर ६ मा अस्पताल भर्ना गरिएको थियो । ७ अक्टोबरमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । जबकी १५ अक्टोबरमा उनी कोरोना संक्रमण मुक्त भए । चटर्जीले सेप्टेम्बरको अन्तिम हप्तामा मात्रै एक सिरिजको छायांकन पुरा गरेका थिए । उनी परमब्रत चट्टोपाध्यायको फिल्म ‘अभिज्ञान’को सुटिङ गरिरहेका थिए । यसबाहेक उनी आफ्नो बायोपिक र वृत्तचित्रमाथि पनि काम गरिरहेका थिए ।

सौमित्र खास गरी अस्कर विजेता निर्देशक सत्यजीत रेका साथ सहकार्यका लागि चिनिएका थिए । दुवैले एकसाथ चौध फिल्ममा काम गरे । उनीहरुले ‘अपुर संसार’, ‘देवी’, ‘तीन कन्या’, ‘अभिजन’, ‘चारुलता’, ‘कुपुरुष’, ‘अरंयेर दिन रात्रि’, ‘अशनी संकेत’, ‘सोनार केला’, ‘जोय बाबा फेलुनाथ’, ‘हीरक राजार देशे’, ‘घरे बैरे’, ‘गणशत्रु’ र ‘शाखा प्रोशाखा’ जस्ता फिल्ममा सहकार्य गरेका थिए । उनले आफ्नो करियरमा झन्डै सय बढी फिल्ममा काम गरेका थिए ।

उनले दुई हिन्दी फिल्म ‘निरुपमा’ र ‘हिन्दुस्तानी सिपाही’मा पनि अभिनय गरेका थिए । उनले हिन्दीमा ‘स्त्रीका पत्र’को निर्देशन गरेका थिए ।


  • 4
    Shares