मूर्तिकलामा भविष्य खोज्दै नेम्वाङ

  • 2
    Shares

रामप्रसाद निरौला(रासस)

कन्काई–झापाको कनकाई निवासी हिम्मत नेम्वाङ मूर्तिकारका रुपमा व्यस्त छन् । उनले एउटा मूर्तिले युग बोल्छ भनेझैँ कोरोना भाइरसका कारण भएको ठूलो मानवीय क्षतिलाई पनि अभिलेख राख्न आधुनिक मूर्तिकलाको प्रयोग गरेका छन् ।

अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो कलाकारिता प्रस्तुत गरिसकेका नेम्वाङको कलात्मक शैलीमा अहिलेको समाजले खाद्यान्नमा अत्यधिक विषादीको प्रयोग गर्ने गरिएको विषयलाई न्यूनीकरण गर्ने सन्देश पनि पाइन्छ । हस्तकला र मूर्तिकलाका साधक नेम्वाङले आफ्नो घर, करेसाबारी र बगैँचामा राखेका मूर्तिहरुमा नेपाली समाजका विविध पक्षको शिक्षा प्राप्त गर्न सकिने स्थानीयवासी बताउँछन् ।

कनकाई–३ स्थित गोहीखाडी निवासी ५० वर्षीय नेम्वाङ साहित्य क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । एक सामाजिक अभियन्ताका रुपमा समेत स्थापित नेम्वाङ चित्रकार, मूर्तिकार तथा साहित्यकारका रुपमा परिचित छन् । विभिन्न साहित्यिक गोष्ठी, सभा सम्मेलनमा उनका सृजनाले महत्वपूर्ण स्थान पाउँदै आएका छन् । उनको कुशल कलाकारिताले देश विदेशमा समेत चिनाएको छ । नेपालभित्र रहेका कलाकारहरुलाई एकै ठाउँमा गोलबद्ध गराउने नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानमा समेत आफ्नो अस्तित्व स्थापित गर्न सफल नेम्वाङ अन्तर्राष्ट्रियस्तरका व्यावसायिक कलाकर्मीहरुको नजरमा पनि परिचित छन् । नेम्वाङ विभिन्न जातजाति, धर्म संस्कृति र संस्कारलाई आफ्ना सृजनामा उतारेर भावी पुस्ताका लागि एउटा प्रेरणाको स्रोत बनेका छन् ।

व्यावसायिक रुपमा अघि बढ्ने योजनाका साथ २०६१ सालबाट झापाको सुरुङ्गा बजारमा सेवारो आर्ट (चित्रकला) स्थापना गरी आजसम्म सञ्चालन गर्दै आएका छन् । ग्राहकको मागअनुसार कुनै मूर्ति बनाउन वर्षौं पनि लाग्ने भएकाले मिहिनेत अनुसारको पारिश्रमिक लिनुपर्ने बताउछन् । उनले एक मूर्तिको पारिश्रमिक रु १५ हजारदेखि सात लाखसम्म लिने गरेको बताए ।

सुरुङ्गा बजारदेखि करीब दुई किलोमिटर दक्षिण अमरपथ सडकखण्ड आसपासमा रहेको आफ्नो निवासलाई नै नेम्वाङले विगत पाँच वर्षदेखि व्यावसायिक स्थल बनाएका छन् । परिवारको बसोबासका लागि बनाइएको नेम्वाङ निवासको घरबारी सबैतिर मूर्तिहरु छन् । विभिन्न सृजनात्मक मूर्ति र भेटघाट गर्ने स्थल, फलँैचा, फूलबारी र बगैँचालाई पनि उनले कुशलताका साथ सजाएका छन् ।

बाल्यकालदेखि नै कला क्षेत्रमा रुचि हुँदाहुँदै पनि पारिवारिक, सामाजिक चलन र इच्छाले जागिर खानुपर्ने बाध्यता भएकाले नेम्वाङ भारतीय सेनामा पुगे । सेनाको जागिरे जीवनमा आन्तरिक अनुशासन र समयको पालनका कारण उनको कलाकारिताको इच्छा साकार हुने कुरै भएन । तर पनि समय मिलाएर उनले आफ्नो इच्छा पूरा गर्थे । तर उनले १० वर्षमै स्वेच्छिक अवकाश लिएर नेपाल फर्किए र आजभोलि शान्त र सुन्दर ग्रामीण परिवेशमा ढुङ्गा, कटर, छिनो र रङ्गसँग रमाइरहेका छन् ।

अहिले भने उनलाई श्रीमती सुनिताका साथ छोराछोरीको पनि साथ छ । आधुनिक उपकरणलाई प्रयोगमा ल्याउने गरेका नेम्वाङलाई यो क्षेत्रमा लागेदेखि नै कामको खाँचो छैन । पछिल्लो समय मूर्तिकलामा नै आफ्नो भविष्य उज्यालो देख्दै आएको नेम्वाङ परिवार अहिले थप व्यावसायिक बन्दै गएको छ । उनको परिवारको जीविकोपार्जनको माध्यम नै चित्र मूर्ति बन्दै गएको छ ।

भारतीय सेनामै हुँदा बचेको समयमा सामान्य रुपमा चित्र कोर्ने काम गर्दै जाँदा पछि सोही विभागले नै नक्सा बनाउने जिम्मेवारी सुम्पिएपछि उनीभित्रको कलाकारिता थप उजागर भएको उनी बताउछन् । पछिल्लो समयमा चित्रकलाभन्दा मूर्तिकला अझै महत्वपूर्ण लागेर नेम्वाङ मूर्ति निर्माणमै लाग्नुभएको छ । यकिन तथ्याङ्क नभए पनि उनले आजसम्म करीब तीन हजार मूर्ति बनाएको नेम्वाङ बताउछन् ।

आजभन्दा करीब दुई हजार ३०० वर्षअघि लिच्छवीकालका बनेका मूर्तिको महत्व अहिले पनि रहेकाले आफूले बनाएका ढुङ्गाका मूर्तिहरु सयौँ वर्षसम्म रहने र त्यससँगै आफ्नो नाम पनि रहने नेम्वाङ बताउछन् । उनी देश र समाजका आधुनिक मूर्तिहरु बनाएर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको सुनाउछन् । नेपालमै पहिलो एकल मूर्ति सङ्ग्रहालय निर्माण गर्ने कार्य पूरा गर्ने योजनामा लागेका आफ्ना बुबाको सपना साकार पार्ने काममा आफूले पनि सहयोगीको भूमिका निर्वाह गर्दै आएको छोरा प्रकाशको भनाइ छ । काठमाडाँैस्थित ललितकला क्याम्पसमा कलाकारिता विषय अध्ययनरत प्रकाश र छोरी सपनासमेत हाल बुबाकै सिर्जनमा व्यस्त छन् ।

मूर्तिकार नेम्वाङको आधुनिक प्रस्तर मूर्तिकला सङ्ग्रहालय स्थापना गर्ने उद्देश्य छ । आफ्नै खर्च र श्रम लगाएर स्थापना गर्ने सङ्ग्रहालयबाट भावी पुस्तालाई अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने उनको ठहर छ । नेपालमा एकल मूर्तिकारले ढुङ्गाको आधुनिक मूर्तिकलाको सङ्ग्रहालय स्थापना गर्नेबारेमा कसैले नसोचेकाले आफैं यो अभियानमा लागेको उनी बताउछन् । यसअघि समाजमा रहेका विभिन्न जातजाति, धर्म, संस्कृति, संस्कार, पिछडिएका वर्ग, महिला, बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका विषयका साथै मुलुकका महत्वपूर्ण घटनाक्रम लगायतलाई समेटिएका करीब एक सयवटा ढुङ्गाको मूर्ति निर्माण गर्ने योजनामा रहेको उनले सुनाए । यसका लागि कुनै सङ्घसंस्थाका साथै दाताको आशामा नरहेको पनि उनले बताए ।

नेपालमा व्यावसायिक रुपमा मूर्तिकलामा लाग्नेहरु औँलामा गन्नसक्ने सङ्ख्यामा मात्र छन् । हालको मूर्तिकलाको माग पूरा गर्न यतिमात्र जनशक्तिले धान्न सकेको छैन । त्यसैले उनको योजनालाई सफल बनाउन मूर्तिका लागि आवश्यक पर्ने ढुङ्गा उपलब्ध गराउन उनले स्थानीय सरकारलाई आग्रह गरेका छन् । उनले भोलिको पुस्ता निर्माणका लागि आफूले जानेको सीप सिकाइदिने प्रस्ताव पनि स्थानीय सरकारलाई गरेका छन् ।

भारतको विहार, बङ्गाल, जालन्दा, दिल्ली, आसामसम्म नेम्वाङले बनाएका मूर्तिहरु पुगेका र नेपालका प्रदेश १ का प्रायः सबै जिल्लामा आफ्नो सृजना स्थापना गरिएको देख्दा खुशी लाग्ने गरेको अनुभव नेम्वाङले सुनाए । उनी राष्ट्रिय तथा स्थानीयस्तरका कैयौँ सङ्घसंस्थाबाट सम्मानित भएका छन् । उनको यो जोस, जाँगर र सृजनालाई अहिलेको पुस्ताले पनि प्रेरणाका रुपमा लिन र अध्ययन गर्न सक्छ ।


  • 2
    Shares