स्वास्थ्य मापदण्ड बनाएर चिडियाखाना खोलिँदै

  • 8
    Shares

शर्मिला पाठक(रासस)

काठमाडौं–गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो । लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिए ।

पोखरेलले भने, ‘कोरोनाभाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएको हो, अबको केही दिनमा खोलिन्छ ,त्यसका लागि मापदण्ड पनि तयारी अवस्थामा छ ।’ मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

यसअघि झै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापलण्ड तयार गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वटा जीव जनावर रहेको छ । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु, चितुवा, रेड पाण्डा रहेका छन् । 

ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । अवलोकनका लागि विदेशीका लागि रु ७५०, सार्क राष्ट्रका पाहुनाका लागि रु ५००, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क  निर्धारण गरेको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक रु १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ ।

व्यवस्थापन गर्न समस्या

अवलोक गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जीवजनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिनादेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको छ । कोरोनाका कारण बन्द हुनुअघि ८० कर्मचारी कार्यरत थिए । अहिले व्यवस्थापन गर्नै समस्या भए पनि २० कर्मचारी कटौती गरिसकेको जनाइएको छ । अब तत्काल सञ्चालनमा नल्याए थप समस्या हुनेछ ।

उद्धार केन्द्र अभाव

सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । जङ्गली जनावरले समयसमयमा मानवबस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसरी मानवबस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमा नै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तीनलाई लामो समय स्वास्थ्य परीक्षण गर्नका लागि विशेष निगरानिमा राख्नुपर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ । 

‘प्रत्येक वर्ष १०÷१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएका जीवजन्तुलाई छ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु डाक्टरको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ,’ प्रमुख व्यवस्थापक डा पोखरेलले भने ।

थपियो डाँफे

विगत आठ वर्षपछि चिडियाखानामा एक जोडी डाँफे थपिएको छ । जुम्लाबाट ल्याइएको डाँफेलाई अहिले अवलोकनका लागि नराखी संरक्षण कक्षमा राखिएको छ । अन्य जीवजनावरको तुलनामा चराको प्रजाति यहाँ बढी छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रुपमा स्थापना गरेका हुन् । विसं २०११ बाट सर्वसाधरणका लागि खुल्ला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो । 


  • 8
    Shares