अकुत कमाएका पूर्वअसईः अख्तियार र सम्पत्ती शुद्धिकरणले खोज्दै

काठमाडौं– नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरिक्षक (असई) ध्रुव केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धिकरण विभागमा उजुरी परेको छ।

परिवारका नाममा विभिन्न ठाउँमा रहेका लगानीको स्रोतबारेको विवरणका आधारमा केसीविरुद्ध उजुरी परेको अख्तियार स्रोतले जनाएको छ।

काठमाडौं र पोखरामा रहेको किंग्स लङमा ठूलो हिस्सेदारीको विवरण फेला परेको सम्पत्ती शुद्धिकरण विभागले जनाएको छ।

केसीले ठूलो रकम मिटरव्याजमा लगानी गरेको समेत अनुसन्धानको दायरामा आएको अख्तियारले जनाएको छ।

किसन राई र उनका  दाई संगम राईलाई मिटरब्याजको रकम लगानी गरी करोड भन्दा बढीको चेक केसीले राखेको विवरण सतहमा आएको थियो। दाजुभाईसँगबाट मात्रै मिटरव्याजमा लगाएको पैसाको करोडौं ब्याज नै असुल गरिसकेको विवरणसहितको उजुरी परेको सम्पत्ती शुद्धिकरण विभाग स्रोतले जनाएको छ।

पोखरामा रहेको किंग्स लङमा शेयर पत्नी रोजीना भण्डारी केसीका नाममा राखेको, किंग्स लङ काठमाडौंको १६ प्रतिशत र पोखराको २६ प्रतिशत शेयर लिएको प्रमाण समेत आएको विभागले जनाएको छ।

राई दाजुभाई किसन राई रिचार्जर वेभका सञ्चालक तथा न्युरोड युवा विकास सहकारीका अध्यक्ष र सोहीमार्फत कारोबार भएको विवरण उपलब्ध भएको विभागले जनाएको छ।

केसीले झापाको विर्तामोड र चितवनमा महँगो मूल्यमा जग्गा खरिद गरेको, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकमार्फत हुने गरेको विषयमा अनुसन्धान तत्कालै सुरु गरिने अख्तियारका एक अधिकारीले बताए।

काठमाडौं बनस्थली नर्सरी चोकको केसीको भवनका विषयमा पनि विवरण उल्लिखति भएको बताइन्छ।

सरदरमा एउटा सुब्बा सो–सरहको जागिरमा रहेका पूर्वअसईले १६ बर्ष प्रहरीमा काम गर्दा पाएको सेवा सुविधा र मिशनसमेतको रकम जोड्दा ४० लाख समेत जम्मा पार्न मुस्किल हुन्छ, अन्य सम्पत्तिको त कुरै छैन । तर, केसीसँग एक करोड मूल्य पर्ने त गाडी मात्रै छ, करोडौंका शेयर लगानी पनि छन् ।

केसीको सम्पत्ति विवरण अख्तियारले नै छानबिन गरेका कतिपय अस्वभाविक आम्दानीकर्ताको जस्तै देखिएको छ । यसरी अस्वभाविक आम्दानी गर्ने मध्येका मालपोत कार्यालयका लेखापाल युगल किशोर ठाकुरलाई अख्तियारले पक्राउ गरेको थियो । जसले ८ बर्षमा नै तीन करोड भन्दा बढीको सम्पत्ति जोडेका थिए ।

यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल सुरेश अधिकारीसँग झन्डै ६ करोड रुपैंया रहेको भनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारमा नै लामो समय बसेका केसीको सम्पत्ति विवरणको पनि खोजीनीति हुनुपर्ने बताइन्छ ।