मातृकाप्रसाद कोइरालाको कोशीको कथा पुनः प्रकाशित

  • 3
    Shares

काठमाडौं– पब्लिकेसन्स नेपालयले आफ्नो क्लासिक्स् शृङ्खला अन्तर्गत् २०२० मा मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ । प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन ।

किताबका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भन्छन् ‘यो किताब केहि समय देखि बजारमा उपलब्ध थिएन । केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ । यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनका बारेमा खुलासा गर्छस त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरूको कथा भन्नेछ । कोशी उतिबेला बिहारको श्राप थियो तर अब वरदान भएको कुरा उनीहरू नै बताउँछन् । कोशीमा धेरै पानी बगिसक्यो तर यी कथाहरू मानवीय दुःखको चित्रण र आशाको खोजीका निम्ति अझै कालजयी छन् ।’

यस संग्रहका नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनैतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्वपूर्ण समय गुज्रेको थियो । सात सालका क्रान्तिताका नेपाली कांग्रेसका ’सुप्रीम कमाण्डर ’ तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोईराला सोभन्दा अगाडीदेखी नै साहित्यकारका रूपमा परिचित थिए । प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदीवरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरुको संगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखी लिएर, वि. सं. २०११ सालको कोशी–सन्धी प्रकरणसम्मको विषयलाई समेटेका छन् ।

कोशी–सन्धी कोईरालाको राजनैतिक जीवनको सबैभन्दा विवादस्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोईरालाले यसको महत्ता र विभिषिका दुबै देखे । मातृकाप्रसाद कोईरालाद्वारा लिखित ‘कोशीको  कथा’, समाजशास्त्रीय तथा राजनैतिक हिसाबले पठनीय छदै छन् , भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छन् ।

नेपालय क्लासिक्स् अन्तर्गत् नेपालय पब्लिकेसन्सले प्रसिद्ध नेपाली लेखकहरूको अप्रकाशित वा आउट(अफ(प्रीन्ट साहित्यिक कृतिहरू प्रकाशित गर्दै आएको छ । यही शृङखला अन्तर्गत् हालसम्म, नेपालयले ब्रह्म शमशेरको ‘नेपालको महाभुकम्प’, लेखनाथ पौड्यालको ‘कवि शिरोमणि रचनावली’  र मंजुलको ‘सम्झनाका पाइलाहरू’ प्रकाशित गरिसकेको छ । ‘कोशीको कथा’ नेपाली बजारका निम्ति २ सय ९५ मा उपलब्ध छ ।


  • 3
    Shares