कैलाली र रुपन्देहीमा गरी ३ संक्रमितको मृत्यु

काठमाडौं — कैलालीमा २ जना र रुपन्देहीमा १ जना गरी सोमबार मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीमा कोरोना संक्रमणबाट सोमबार बिहान २ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

२० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो । शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

त्यस्तै रुपन्देहीको सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ र लुम्बिनी प्रदेशमा २०५ पुगेको छ ।