प्रचण्डसँग मेरो तस्बिर र प्रकाशको त्यो आलेख

  • 46
    Shares

यो समाजको मनोविज्ञान नै खराब बनिसकेको छ। यहाँ शक्ति केन्द्रसँग सम्बन्ध भएको चाल पाए भने कस्ता–कस्ता प्रस्ताव आउँछन्।

ठूलो कुरो केही थिएन। प्रधानमन्त्री निर्वाचित भएका प्रचण्डसँग तस्बिर हानियो, अनेक कोणमा। तैपनि कमजोर मोबाइलले खस्रो तस्बिर खिचिदियो।

त्यसलाई सामाजिक सञ्जालमा पोस्ट्याउन भ्याएँ।

अनि सुरु भए मप्रति बन्ने विविध धारणाहरू। कसैले मलाई प्रचण्डको मान्छे भन्न थाले। एमालेहरू अलिक टाढा हुन थाले। प्रेस चौतारीका कतिपय बैठकमा बोलाउने गर्दथे– बन्द भयो!

कतिपय नजिकबाट चिन्नेहरूले भन्न थाले– स्वतन्त्र कम्युनिस्ट हो। अनेक–अनेक धारणा बने।

खासमा प्रचण्डले भैंसीको पुच्छर समाएर बराहक्षेत्रमा पूजा गरेको रिपोर्टिङ मैले गरेको थिएँ। माओवादीलाई आलोचनात्मक सुझावको निरन्तरता दिइरहेको थिएँ। पेशागत रूपमा मेरो व्यावसायीकतामा प्रश्न उठाउने स्थान र स्पेश थिएन, छैन।

अहिले पनि कतिपय सवालमा आन्तरिक सुझावको विन्दु होस् या सुधारका निम्ति सन्देश त्यो दिने क्रम चलिनैरहन्छ।

प्रचण्डसँगको निकटता, सामिप्यता भनेको त्यहि तस्बिर खिचेको बेला थियो। बेलामौका प्रचण्डका राजनीतिक उतारचढावबारे सकारात्मक र समालोचनापूर्ण आलेखचाहिँ लेख्ने गरेको थिएँ।

एक जना व्यापारीक साथीले फोन हाने। कारण थियो त्यहि तस्बिर।

प्रस्ताव आयो– ‘तपाईको प्रधानमन्त्रीसँग राम्रो रहेछ, एउटा समस्या थियो समाधान गर्नुपर्ने भयो। प्रकाशले फोन गरिदिए भने ठिक हुन्छ।’

मकवानपुरको कुनै कामको विषय थियो। साथीले भनेपछि केही पनि नबुझी मैले प्रकाशलाई फोन हानें, भेट्ने समय मिलाएँ।

लाजिम्पाटमा व्यावसायीक साथीको गाडीमा छिरियो। प्रचण्डलाई भेट्नु थिएन प्रकाशलाई भेट्दा पुग्थ्यो।

त्यहाँ प्रचण्डसँगको भेटका लागि बसिरहेका थिए– मकवानपुरे वकिल रामनारायण बिडारी। ति बिडारीले मलाई राम्रोसँग चिन्दथे तर टाउको फर्काए।

चिन्नुको कारण थियो– नेपाल १ टेलिभिजनको बहस। उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्छ या पर्दैन भन्ने सवालमा स्वागत नेपालसँगको बहसका दौरान म पनि पत्रकारिताबाट एउटा अतिथि थिएँ।

बालकृष्ण ढुंगेल पक्राउ हुनुअघि गृहमन्त्री बामदेव गौतमले एउटा बयान दिएका थिए– ढुंगेल फरार छन्। तर ढुंगेल काठमाडौंमा नै थिए, त्यसबेला।

दोस्रो संविधानसभाको निर्वाचन भएर भर्खरै बैठक बस्ने समयका दिनमा उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक थियो भन्ने बिडारीको मत थियो, मैले त्यसको काम छैन, संविधानसभाले स्वतन्त्र रुपमा संविधान जारी गर्नुपर्छ नत्र प्रतिनिधिको के काम भयो? ७ जना नेता मिलेर बनाए भैगो नि! भनेको थिएँ।

त्यहि दौरान लाइभ टिभीमा एउटा व्यावसायीक पत्रकारलाई बिडारीले सन्दर्भहिन शैलीमा ‘रोयलिस्ट’ भनेका थिए। स्मरण ताजै थियो। यस प्रसङ्गलाई यहाँ जोड्नुको अर्थ छ।

समालोचनापूर्ण हिसाबले उनका नजिकका रहेका भनेका छोरा नै हुन्, उनलाई नै सुझाव दिँदा ठिक होला जस्तो लाग्थ्यो। अहिले पनि नजिक कोही छन् भने उनलाई नै सुझाव दिन मन लाग्छ। तर सुझाव कार्यान्वयन वा त्यसको संकेत पनि पाउन छाडेपछि मादल कुन तालमा बजेको छ, संसार त्यहि तालमा नाच्दो रहेछ भन्ने ‘रियलाइजेशन’ भएको छ

प्रकाशलाई भेट्नुको साधारण कारण सुनाइसकेको थिएँ– फोनमा। त्यसपछि जुन कामका लागि भनेको थिएँ, प्रकाशको जवाफ थियो– प्रयास गर्छु।

ति व्यावसायीक साथीले अर्को पनि प्रस्ताव गरे– एउटा सशस्त्र प्रहरीको हवल्दारलाई मिशन हाल्न सकिन्छ? मैले प्रकाशलाई त्यो पनि प्रस्ताव राखें।

उसको उत्तर थियो– कठिन छ। लाजिम्पाटमा साधारण काम गरिरहेका केही थान पुलिस देखाउँदै भने– हामीकहाँ बसेर यीनले केही पाउने होइनन्, त्यहि मिशनको आश हुन्छ। हाम्रो बल पुगे, यीनलाई नै गर्ने हो, नत्र अति नै गाह्रो काम हो, यो।

मलाई यस्ता विषयमा खासै जानकारी नभएका कारण प्रकाशको भनाई व्यवाहारिक र आधिकारीक लाग्यो, हामी फर्कियौं।

मेरो मस्तिष्कमा बिडारी हल्लिरहेको थियो। रातो कारमा लाजिम्पाट छिरेको यो व्यक्ति किन लामो समय त्यहाँ बस्यो? प्रश्नहरू ठोक्किरहेका थिए। एउटा आलेखिय भाव सँधै हुने भएकाले मैले यस विषयमा एउटा केही लेख्नुपर्छ कि भन्ने सोच बनाएँ।

व्यावसायी साथीसँग उनले भनेको कामको अपडेट गराउने वाचासहित हामी छुट्टियौं।

अफिसमा उक्लिएँ। सोमबारका दिन थियो। भोलीको अखबार तयार पार्नु थियो। एमाले र माओवादी जनको वादविवाद चलिरहेको थियो। सामाजिक सञ्जाल हेरिसक्नु थिएन।

प्रकाशलाई फोन गरें– ब्रदर, यस्तो विविध चर्चा चलिरहेको छ। तपाईको तर्फबाट एउटा केही लेख्नुपर्ने भयो। भोलीको अंकमा प्रकाशित गरिदिन्छु।

अति विश्वास गर्ने भएकैले प्रकाशले भनें– म अलिक व्यस्त हुन्छु। केही खेस्रा पठाउँछु मिलाएर राम्रो बनाइदिनु न। मैले केही युद्धकालका तस्बिर पनि मागें।

‘हामी मर्न तयार हुँदा तिमी कहाँ थियौ साथी?’

यहि शीर्षकमा आलेख पहिलो पृष्ठमा प्रकाशित गरियो। प्रकाश खुसी भए। शेयर गरे। पत्रिकामा प्रकाशित भएका कारण कतिपय अनलाइन पोर्टलले यसलाई साभार गरे।

मलाई स्मरण छ– प्रकाशको देहान्त भएको दिनको। यहि आलेखलाई हजारौंपटक पढ्नेगरी धेरैले प्रकाशित गरेका थिए। तर त्यो आलेख कुनमा प्रकाशित भएको थियो भन्ने क्रेडिट थिएन। आजभोली उनका बार्षिकीमा पनि प्रकाशित गर्छन्, कतिपयले। खासगरी प्रचण्डमार्फत मुनाफा र रोजगारी पाएकाहरूले।

बिडारीका अनेक क्रियाकलाप मैले देखिरहेको थिएँ, लाजिम्पाटमा। बिडारीमाथि पनि लेख्ने रहर जाग्यो। ठोकिदिएँ– रातो कार, रातो कुर्सीमा कालाकोटेको पर्खाई।

समाचारमा नियत राख्न हुन्न भन्ने पूर्ण ज्ञान थियो। तर बिडारीको जुन प्रकारको शैली र उसले नदिएको रेस्पोन्स मेरो मस्तिष्कमा हल्लिरहेको थियो। तथ्य तोडमोड नगरी शव्दमा आफ्ना भावलाई पनि मिश्रण गरेकै हो। तर, पत्रकारिता वा लेखन शिल्पका लागि यो सही होइन भन्ने हेक्का थियो– छ।

पहिलो पटक नियतलाई कतै मिसाइयो, त्यसको सानो ग्लानीभाव त रहने नै भयो। दुनियाँले प्रशंशा गरेपनि व्यावसायीकताको मर्मलाई त्यहाँ धक्का थियो। त्यसपछि प्रण नै गरियो– नियत समाचार वा आलेखको मुख्य विन्दु बन्नु हुन्न–कहिँकतै। यो क्रम त्यहिँदेखि बन्द भयो।

एकाध दिनपछि ति व्यावसायीक साथीले फोन गरे। काम के भयो? त्यहि शैलीमा मैले प्रकाशलाई सोधें। प्रकाशले पनि मन्त्रिपरिषदको कार्यालयका सचिवलाई सोही शैलीमा सोधेका रहेछन्। त्यहाँका सचिवले फोन गरेका थिए।

मकवानपुरका सिडिओले फोन गरे। काम गर्न नसकिने र कानुनसम्मत हुन नसक्ने भन्ने भएपछि मेरो दोहोरो कुरा भएन। कानुनभन्दा बाहिरको पहुँच वा काम भनेको नियतको हुन्छ भन्ने लागेर ति व्यावसायी साथीलाई भनिदिएँ– तपाईले गरेको प्रस्ताव कानुनसम्मत नहुने रहेछ, हुँदैन।

पछि हेक्का भयो– कानुनसम्मत हुने भए त उसले गरिहाल्थ्यो होला नि! मलाई किन पछ्याउँथ्यो र? अनि ठानें– वाह रे फोटो तेरो पनि यत्रो पावर?

एउटा युग नै परिवर्तनको नेतृत्व गरेका थिए प्रचण्डले। अहिले पनि त्यहि लाग्छ। त्यसैले कसैसँग आशा गर्न सकिन्छ भने उनैसँग त्यान्द्रो बाँकी होला भन्ने लागिरहन्छ।

त्यसैले समालोचनापूर्ण हिसाबले उनका नजिकका रहेका भनेका छोरा नै हुन्, उनलाई नै सुझाव दिँदा ठिक होला जस्तो लाग्थ्यो। अहिले पनि नजिक कोही छन् भने उनलाई नै सुझाव दिन मन लाग्छ। तर सुझाव कार्यान्वयन वा त्यसको संकेत पनि पाउन छाडेपछि मादल कुन तालमा बजेको छ, संसार त्यहि तालमा नाच्दो रहेछ भन्ने ‘रियलाइजेशन’ भएको छ।

प्रकाशपछि पनि प्रचण्डको गतिलाई दायाँ बायाँ गर्नहुन्न भन्ने पक्षमा अनौपचारिक सुझाव या जानकारी दिइएका अनेक प्रसङ्गहरू छन्। त्यसका प्रत्योत्तर र प्रभावका विषयमा पनि संश्लेषण हुन्छ, विस्तारै।


  • 46
    Shares