पाइरेट्स अफ क्यारेबियन फ्रेन्चाइजीबाट बाहिरिए जोनी

लण्डन(एजेन्सी)– हलिउड फिल्म ‘पाइरेट्स अफ क्यारेबियन’ फेम्ड हलिउड अभिनेता जोनी डिपका फ्यानका लागि एउटा नरमाइलो खबर छ । फ्यानहरुले आफ्ना मनपर्ने यी कलाकारलाई सन् २०२१ मा आउन लागेको ‘फेन्टास्टिक बिट्स’को तेस्रो सिक्वेलमा हेर्न पाउने छैनन् । फिल्म प्रेन्चाइजी वार्नर ब्रोसले जोनीलाई फिल्मबाट टाढिन भनेको छ । जोनीले एक पत्रिकासँग मुद्दा हारेपछि वार्नरले यस्तो अनुरोध गरेको हो ।

शुक्रबार मात्र अभिनेताले आफ्नो इन्स्टाग्राम एकाउन्टमा यो कुराको जानकारी दिएका हुन् । ‘हालैको घटनालाई मध्यनजर गर्दै म एक छोटो विज्ञप्ती जारी गर्न चाहन्छु । सबैभन्दा पहिला म ती मानिसलाई धन्यवाद भन्न चाहन्छु, जसले मलाई आफ्नो समर्थन दिए र मप्रति बफादारीता देखाए । पछिल्लो केही दिनमा तपाईंहरुको प्रेमपूर्ण सन्देश पाएर म गदगद छु । दोस्रो कुरा, म सबैलाई यो कुरा भन्न चाहन्छु कि वार्नर ब्रोजले मलाई ‘फेन्टास्कि बिट्स’मा आफ्नो भूमिका ग्रिण्डेलवाल्डबाट राजीनामा दिनका लागि भनेका छन् । मैले उनीहरुको अनुरोध स्वीकार गरेको छु’, उनले लेखेका छन् ।

‘अदालतको फैसलाबाट सत्यताका लागि जारी मेरो लडाईं कहिले परिवर्तन हुने छैन । मैले फैसलाका विरुद्ध अपिल गर्ने निर्णय लिएको छु । म आफ्नो विरुद्ध लागेको आरोपलाई गलत साबित गर्नेछु । मेरो जीवन र करियर केवल यी पलबाट परिभाषित हुँदैनन् । यो पोस्टलाई पढेकोमा धन्यवाद’, उनले थप लेखेका छन् । प्रोडक्सन कम्पनी वार्नर ब्रोजले पनि यो खबरको पुष्टि गर्दै हालसम्मका आफ्ना फिल्ममा काम गरेकोमा जोनीलाई धन्यवाद दिएको छ ।

जोनीको यो मामला एक प्रख्यात पत्रिका र उनीबीचको हो । जोनीको आफ्नी श्रीमति अम्बर हेयर्डसँग सम्बन्धविच्छेदको विवाद चलिरहेको छ । यही मामलामा पत्रिकाले उनलाई ‘वाइफ बीटर’ अर्थात् श्रीमति पिट्नेवाला भनेको थियो र यहीकारण जोनीले अखबारका विरुद्ध मुद्दा हालेका थिए । यही मुद्दामा अदालतले उनी विरुद्ध फैसला गरेको हो ।

सन् २००९ मा जोनी र अम्बर सम्बन्धमा आए । सन् २०१५ मा उनीहरुले गुपचुप विवाह गरेका थिए । सन् २०१६ मा श्रीमतिले अभिनेताका विरुद्ध यौन सम्बन्धका समयमा उनले श्रीमतिमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् । यहीकारण उनले कैयौं व्यक्तिगत र व्यावसायिक नोक्सानी व्यहोर्नु पर्यो । त्यहीकारण पनि उनलाई ‘पाइरेट्स अफ क्यारेबियन’ फ्रेन्चाइजीबाट बाहिर जाने बाटो देखाइयो ।