पर्यटकीय गन्तव्य बन्दै धनपालगढी

मोहम्मद सदरुल

विराटनगर–सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गन्तव्यमध्ये मोरङको धनपालगढीमा भौतिक पूर्वाधार निर्माणका लागि बजेटको पर्खाइमा छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्न लागेको यो स्थानलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी यसको व्यवस्थित विकासका लागि उचित बजेटको आवश्यकता देखिएको छ ।

नेपाल पर्यटन बोर्ड, स्थानीय तह र प्रदेश सरकारको सिफारिशमा छनोटमा परेका धनपालगढीको धार्मिक र पुरातात्विक दृष्टिले बेग्लै महत्व छ । निजी क्षेत्र, स्थानीय सरकार र स्थानीयवासीको सहयोगमा सो ठाउँमा पर्यटन प्रवद्र्धन गरिने स्थानीयवासीको भनाइ छ । विराटनगरको उत्तरपूर्वमा पर्ने विगतको कसेनी गाविस र हाल बेलबारी नगरपालिकामा पर्ने एउटा भग्नावशेषलाई राजा धर्मपाल वाल धनपालको गढी भनेर आजसम्म चिनिन्छ ।

यसलाई सेनवंशी राजाहरुभन्दा पूर्वका बङ्गालका पालवंशीय राजाकै पालाको गढी भनेर विद्वानहरुले आँकलन गरेको साहित्यकार दधिराज सुवेदी बताउछन् । हरेक वर्ष वैशाख १० गते मेला लाग्दै आएको धनपालगढीमा ऐतिहासिक र पुरातात्विक महत्वको राजाको दरबारको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउन सकिनेछ । चारैतिर मानव बस्तीले घेरिएको ३५ बिघा क्षेत्रफलमा फैलिएको सानो जङ्गलभित्र धनपाल राजाको ऐतिहासिक दरबारको अवशेष बाँकी छ ।

धनपाल राजाले खनेका नौ पोखरीमध्ये तीन पोखरी अझै बाँकी रहेको मानिएको गढीमा रहेको राजाको मन्दिरलाई विशेष गरी यहाँका थारू समुदायले पुज्ने गरेका छन् । यहाँ भाकल गरेको सबै कुरा पुग्ने जनविश्वास गरिन्छ । विराटनगरबाट २१ किलोमिटर उत्तर पूर्व र महेन्द्र राजमार्गको बेलबारीबाट आठ किलोमिटर दक्षिणमा रहेको सो स्थानको मन्दिरमा हात्तीमा चढेको राजा धनपालको मूर्ति र ठूल्ठूला नौ वटा घण्टी चोरी भइसकेको छ ।

दरबारका केही इट्टा र ताम्रपत्र, देवालको भग्नावशेष, इनारको पाटा मात्रै अवशेषका रुपमा छ । स्थानीयवासी बुद्धिविनोद गिरीका अनुसार राजा धनपालकी छोरी फूलवादेवी असाध्यै राम्री र शक्तिशाली भएकाले उनले आफ्नी छोरीलाई पराजित गर्नेलाई राजकुमारी दिने निधो गरेको किंवदन्ती छ । भारतबाट आएका अल्लाहरुदल नामका राजकुमारले राजकुमारीसँग कुस्तीमा पराजय भोगेपछि धनपालसँगै युद्ध गरेका थिए । धनपालसँग पनि हारेपछि अल्लाहरुदलले छलकपट गरेर हजाममार्फत दाह्री काट्ने निहुँले धनपालको घाँटी काट्न लगाएर आफ्ना सेना परिचालन गरी राजकुमारीको अपहरण गरेका थिए । त्यसपछि राजा धनपालको गढी सुनसान भएको जनविश्वास छ ।

धनपाल पोखरीमा दुर्लभ सेतो र रातो कमलको फूल पाइन्छ । चराचुरुङ्गी र वनस्पतिले गर्दा मौसममा यस ठाउँमा दैनिक ५० समूहसम्म वनभोज खान आउने गर्छन् । भारतको विहार क्षेत्रबाट पनि वनभोज खान गढीमा आउने गरेको स्थानीयवासी रामनारायण चौधरीले बताए । हरेक वर्षको चैतको शनिबार यहाँको मन्दिर आसपासका बासिन्दा आएर साँझ बत्ती बाल्ने र एक शनिबार बोका र पाठी बलि दिएर त्यहीँ बसेर मासुलाई प्रसादका रुपमा ग्रहण गर्ने चलनले निरन्तरता पाइरहेको छ । आन्तरिक र बाह्य पर्यटक भित्रियाउने योजनाअनुरुप सरकारले सबै गन्तव्यका लागि रु ५० करोड बजेट विनियोजन गरिसकेको छ । धनपालगढीमा भौतिक संरचना निर्माणका लागि सङ्घीय सरकारले रु. ५० लाख र प्रदेश न.१ सरकारले रु. ५० लाख विनियोजन गरिसकेको छ भने प्रदेश सरकारले यो वर्ष पुनः रु.४० लाख बजेट विनियोजन गरिसकेको बेलाबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

‘धनपालगढीमा रु. दुई करोडभन्दा बढीको काम भइसकेको छ । यस क्षेत्रको व्यवस्थित विकासका लागि सङ्घीय सरकारको साझेदारी कार्यक्रमअन्तर्गत रु.पाँच करोडको योजना पेश गरेको छु’, उनले भने, ‘बजेट प्राप्त हुनासाथ यसको दीर्घकालीन योजना अनुसार विकास गर्ने तथा यहाँको एतिहासिक तथा पुरातात्विक वस्तु वा सामग्रीलाई सङ्ग्रहालयमा राखिनेछ ।’ नगरप्रमुख सुवेदीले स्थानीय तह, प्रदेश र देशको विकासका लागि ओझेलमा परेका यस्ता धार्मिक र पर्यटकीय महत्व राख्ने गन्तव्यको प्रचारप्रसार र संरक्षण गरिनुको विकल्प छैन् भन्दै धनपालगढी क्षेत्रमा पर्खाल लगाउने काम सकिएको छ र स्थानीयवासीले अतिक्रमण गरेको केही जग्गा अधिग्रहण गरी पर्खाल लगाएर त्यसलाई संरक्षण गर्ने जानकारी दिए । धनपालगढीसम्म जाने लगभग आठ किमी बाटोको डेढ किमीबाहेक सबैमा कालोपत्र भइसकेको पनि उनले बताए ।

गढीमा विराट चोक हुँदै नेता चोकबाट पनि जान सकिन्छ । पर्यटकीय हिसाबले निकै महत्व मानिएको यो ठाउँको विकास र विस्तारका लागि सरकारले बृहत् योजना बनाई व्यवस्थित ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले धनपालगढीको जग्गा अतिक्रमण भएकाले सो क्षेत्रको साँधसिमाना कायम गरेर भित्र रहेको पोखरी पनि व्यवस्थित पार्नुपर्छ भने । कमलको फूल फुल्ने यो पोखरीलाई व्यवस्थित गर्नुपर्ने, भित्र रहेका पुराना बोटबिरुवालाई हटाई नयाँ जातको र हरियाली हुने तथा आकर्षक देखिने बोटबिरुवा लगाई प्राकृतिक सौन्दर्यता बढाउने काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

इञ्जिनियर धिरेन्द्र दाहालले केही वर्षपहिले धनपालगढीको विकासका लागि सरकारले रु सात लाख बजेट विनियोजन गरेको बताए । उनले उक्त रकमले त्यो ठाउँको समग्र विकास गर्न सम्भव नभएकाले उक्त पर्यटकीय गन्तव्यको बृहत् योजना बनाई पर्यटक भित्रियाउनुपर्ने बताए ।

(रासस)