अन्तरिक्षमा फिल्म खिच्न प्रतिष्पर्धा

मुम्बई(एजेन्सी)– बलिउड होस् या हलिउड अथवा विश्वको जुनसुकै स्थानमा निर्माण हुने फिल्मका निर्माता तथा निर्देशकहरु आफ्नो फिल्मका लागि नयाँ–नयाँ लोकेसन खोज्दछन् । फिल्मी पर्दामा हामीले हालसम्म पृथ्वीका अलग अलग स्थानलाई हेरिसकेका छौं । अब निर्माताको ध्यान पृथ्वीलाई छोडेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन(आईएसएस)मा छ ।

आईएसएस अर्थात् चन्द्रामा फिल्मको सुटिङका लागि रुसले तयारी शुरु गरिसकेको छ । रुस अन्तरिक्षमा फिल्म सुटिङ गर्ने पहिलो देशका रुपमा आफूलाई उभ्याउन सक्रिय भएर लागेको छ । त्यही कारण उनीहरु अन्तरिक्षसम्म जान सक्ने एक अभिनेत्रीको खोजीमा छन् । यद्यपि रुसलाई अमेरिकाले कडा टक्कर दिने तयारी गरिरहेको छ । किनकी हलिउडका सुपरस्टार टम क्रुजले धेरै समय अघि देखि नासासँग मिलेर अन्तरिक्षमा सुटिङ गर्ने घोषणा गरिसकेका छन् ।

रुसको स्पेस एजेन्सी रस्कोसमोसले ‘द च्यालेन्ज’ नाम राखिएको फिल्म बनाउनका लागि देशको सबैभन्दा ठूलो टेलिभिजन च्यानल च्यानल वानसँग हात मिलाइसकेको छ । फिल्ममा मुख्य भूमिका एक अभिनेत्रीको हुनेछ । त्यहीकारण निर्माता तथा निर्देशकहरु २५ वर्षदेखि ४५ वर्ष उमेर बीचको अभिनेत्री खोजिरहेका छन् । फिल्ममा प्रमुख भूमिका निभाउने अभिनेत्रीको उमेर २५ देखि ४५ बीचको हुनेछ ।

फिल्ममा अभिनेत्रीका लागि सुरुवाती ३० जनाको सर्टलिष्ट तयार पारिनेछ । जसमा एक मुख्य अभिनेत्री हुनेछ भने अर्कोले उसको दोहोरो भूमिका निभाउनेछ । यो फिल्मका लागि जुन अभिनेत्री छनोट पर्छिन, उनलाई स्कुल अफ कोस्मोनोट्समा तीन महिना कडा प्रशिक्षण दिइनेछ । निर्माताले अभिनेत्री बौद्धिक किसिमको हुनुपर्ने सर्त राखेका छन् । साथै छनोट भएको अभिनेत्रीको पृष्ठभूमि कुनै पनि आपराधिक क्रियाकलापसँग जोडिएको हुनुहुँदैन । निर्माता तथा निर्देशकले पुरुष अभिनेताको सवालमा पनि यही सर्त राखेका छन् ।

फिल्मको निर्माता रुसी राष्ट्रपति ब्लादीमिर पुटिनका स्पेस चिफ र रोस्कोसमोसका प्रमुख दमित्री रोगोजिन हुनेछन् । च्यानल वानसँग फिल्मको सम्झौता भएकाले फिल्मका जुनसुकै गतिविधि यो च्यानलबाट प्रसारण हुनेछ ।

उता हलिउड अभिनेता क्रुजले भने अक्टोबर २०२१ मा एलम मस्कको रकेट क्रु ड्रयागन स्पेसशिपमाफृत आईएसएसमा जाने योजना बुनेका छन् । टमको यो फिल्मको निर्देशन डाग लिमानले गर्नेछन् ।