मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ– पार्टीका नेताहरूबाटै सरकार ढाल्न खोजिँदैछ

काठमाडौं– विहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार विघटन गराउन पार्टीका शीर्ष तहका नेताले अभ्यास गरेको बताएका छन्।

उच्च स्रोतका अनुसार आफूले कुनै हालतमा राजीनामा नदिने बताउँदै प्रधानमन्त्री ओलीले सरकार विघटनको प्रयास असफल हुने मन्त्रीहरूलाई बताए।

‘मेरो राजीनामा मागिएको छ। म राजीनामा दिन्नँ। परिआएको विषयको सामना गर्छु। तपाईहरूले आफ्नो जिम्मेवारी ढुक्कसाथ पूरा गर्दै जानुहोस्’, प्रधानमन्त्रीले भने,‘यस्ता विवाद बेलामौका आइरहेका छन्। तर अहिलेचाहिँ अलिक बढि गरे जस्तो भयो।’

सरकार गिराउनका लागि पार्टी भित्र र बाहिरबाट बारम्बार हमला भइरहेको बताउँदै उनले त्यसकारण पनि सरकारले भनेजति काम गर्न नसकिरहेको बताएको स्रोतले दाबी गरेको छ।