हलिउड स्पाइ फिल्ममा ऋतिकको तयारी

मुम्बई(एजेन्सी)– बलिउडमा हालको समयमा दुई ट्रेण्ड देखिएको छ । एउटा ट्रेन्ड केही बलिउड कलाकारहरुमा ओटीटी मोह देखिएको छ भने अर्को केही कलाकारहरु हलिउडमा राम्रो भूमिकाको खोजीमा छन् । बलिउड अभिनेता ऋतिक रोशन पनि हलिउडको नयाँ एक स्पाइ फिल्ममा प्रमुख भूमिकाका लागि कुराकानी गरिरहेका छन् ।

बलिउडका जबरदस्त एक्सन हिरोले स्टूडियोमा खिचिएको अडिसन सुटको भिडियो पठाइसकेका छन् । हाल यो प्रक्रिया शुरुवाती चरणमा छ । सबै कुरा मिलेमा ऋतिक चाँडै नै यो फिल्मका लागि हलिउड जानेछन् । तर ऋतिकले आफ्नो सुपर हिरो फिल्म ‘कृष ४’को सुटिङ सकेपछि उनी हलिउड उड्नेछन् ।

समाचार अनुसार ऋतिकका पिता राकेश रोशनले ‘कृष ४’का लागि स्क्रिप्टको धेरै काम गरिसकेका छन् । ‘कृष’ सिरिजको यो चौथो फिल्ममा कृष्णा बनेका ऋतिकले आफ्ना पिता रोहित मेहरालाई फिर्ता लिन गरेको यात्रालाई देखाइनेछ । साथै यो फिल्ममा प्रख्यात एलियनको भूमिका पनि देखाइनेछ ।