के प्रचण्ड अस्थिरतामा रमाउँछन्? दलिलहरू यस्ता छन्

  • 14
    Shares

काठमाडौं– लामो युद्धको संक्रमणकालिन व्यवस्थाबाट शान्ति प्रक्रियाको खाका कोर्दै संघीय गणतन्त्रको व्यवस्थासम्म आइपुग्दा राजनीतिको मुख्य विन्दुमा उभिएका छन्, पुष्पकमल दाहाल प्रचण्ड।

प्रतिनिधि र प्रदेश सभाको चुनावअघि तत्कालिन एमालेसँग गठजोड र त्यसपछि एकता गरेका प्रचण्ड अहिले पनि राजनीतिक विवाद र चर्चाको प्रमुख स्थानमा छन्।

प्रचण्डको राजनीतिक पृष्ठभूमी सफलताको यात्रामा भए पनि उनी पार्टीभित्र होस् या देशको व्यवस्थापकीय भूमिकामा प्रभावकारी बन्नका लागि सँधै अस्थिरता र संक्रमणकाललाई नेतृत्व गर्न त रुचाउँदैनन्?

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा सार्वजनिक कार्यक्रममा प्रचण्डको नामै नलिई बुधबार मात्रै दिएको अभिव्यक्तिले यहि संकेत गरेको थियो।

के प्रचण्ड अस्थिरतामा रमाउँछन् त? के छन् उनका राजनीतिक पृष्ठभूमीका गतिविधि र दलिलहरू?

एउटा मिडिया हाउसले गरेको कार्यक्रममा प्रचण्ड आफैंले भनेका थिए,‘मलाई बिघटन र समायोजन गर्न मन पर्छ। र, मैले गरेर आएको यहि हो।’

‘एकता केन्द्र बिघटन गरी, माओवादी बनाएँ। माओवादी विघटन भयो, एकीकृत माओवादी बन्यो, त्यो विघटन भयो नेकपा माओवादी केन्द्र भयो, त्यो विघटन भई अहिले नेकपा बनेको छ।’

यी तमाम तर्कसँगै नेतृत्वमा रहेका उनले पार्टीभित्र कस्ता–कस्ता रणनीतिलाई व्यवाहारमा उतारे?

मोहन वैद्य किरणसँग मिलेपछि जब माओवादी गठन भयो, प्रचण्डले जनयुद्ध कालमा नै आन्तरिक संघर्षमा दुई लाइनमा खेलिदिए। कहिले बाबुराम भट्टराईलाई कारबाही त कहिले रामबहादुर थापा बादललाई कारबाही गरे।

चुङवाङमा भएको तत्कालिन माओवादीको बैठकमा प्रचण्डले दिएको अभिव्यक्ति अनुसार नै उनले देशभित्रका अन्य पार्टी र अन्तर्राष्ट्रिय निकायलाई पनि के–हो? के–हो? बनाउने कोशीश गरेका थिए। जसको कारण उनी सँधै नेतृत्वमा हावी भए।

यसैको कसीमा उभिएर केही महिना अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मनमुटाव भएकै बेला भनेका थिए,‘३२ बर्ष अध्यक्ष भइसक्नुभयो, अझै हुनुहुन्छ। अब कति चाहियो?’

प्रचण्डले पार्टीभित्र आन्तरिक अस्थिरतालाई प्रश्रय दिएको निर्णयमा पुगेरै तत्कालिन एमाओवादीभित्रका तीन उपाध्यक्ष मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा बादलले धोवीघाट बैठक गरेका थिए। जहाँ मुख्य एजेन्डा ‘प्रचण्डलाई नेतृत्वबाट हटाउने’ भन्ने थियो।

यो राजनीतिक अवस्थामा आफू कमजोर हुने भएपछि प्रचण्डले डा. बाबुराम भट्टराईलाई केही मधेसवादी दलको समर्थनका आधारमा प्रधानमन्त्रीमा प्रस्ताव गरे र त्यो गठजोड भत्काईदिए।

पहिलो संविधानसभा भङ्ग हुने बेला जातीय राज्यको कुरा जोडतोडले उठेको थियो। आफ्नो साख जोगाउनका निम्ति उनले आदीवासी जनजाती महासंघका प्रतिनिधिलाई पनि उचालेका थिए। यसले ठूलो चर्चा पाएको थियो।

दोस्रो संविधानसभामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा आएपछि मुलुकमा नेतृत्व गर्ने विषयमा प्रचण्ड कमजोर सावित हुने अवस्था आयो। ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि अति कमजोर प्रतिपक्षी दलको नेताका रुपमा प्रचण्ड सदनमा छिरेका थिए।

उच्च स्रोतका अनुसार सोही विषयलाई ‘ईश्यु’ बनाएर नेपाल–खनाललाई आफ्नो समिकरणमा उभ्याएर ओलीलाई कमजोर बनाउने नीतिमा प्रचण्ड छन्। जानकारहरू भन्छन्,‘यसमा उनी असफल भए भने फेरि ओलीसँग मिल्छन् र अरुलाई कमजोर बनाउँछन्।’

१६ बुँदे सहमतिका आधारमा संविधान जारी भइसकेपछि सत्तामा नयाँ समिकरण बन्ने भएपछि प्रचण्डले हस्ताक्षर गरे। नयाँ संविधान जारी भयो र नयाँ सत्ता समिकरणको खेलमा उनी प्रधान बन्न आइपुगे। उनले भनेका थिए,‘पहिलो दल हुँदा सकस थियो, तेस्रो भएपछि थाहा भयो सत्तामा कसरी खेल्न सकिन्छ।’

त्यहाँबाट सुरु भयो उनको अस्थिरताको अर्को श्रृङ्खला। संविधानमा असन्तुष्ट मधेसवादी दल आन्दोलनमा थिए, केन्द्रमा नयाँ सत्ता समिकरणको खेल चलिरहेको थियो। संविधान जारी भइसकेपछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो र कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालालाई ब्याक गराउन प्रचण्ड एमालेसँग मिले।

नाकाबन्दीपछि ओलीको नेतृत्वमा सरकार गठनमा प्रचण्डको सहयोग थियो। उनले ओलीको त्यो सरकारलाई पनि ९ महिना चल्न दिएनन्। सदनमा त्यहि विषयमा ओलीले भनेका थिए,‘अरुणा लामाको गीत जस्तो भयो साथीको व्यवहार, एक दिन एकातिर सिएर पठायो, अर्कोदिन अर्कातिर भ्वाङ परिरहेको हुन्छ।’

९ महिनामा फेरि प्रचण्डले नै अविश्वासको प्रस्ताव पेस गरी कांग्रेससँग मिलेर सरकार बनाए। त्यो पनि ९–९ महिनाको नेतृत्व गर्ने सहमतिका आधारमा। दुवै सरकारको काम थियो–चुनाव।

पहिलो चरणको स्थानीय तहको चुनावमा मधेसवादी दल सहभागी नभएपछि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको चाबी बुझाए। त्यसबेला पहिलो चरणमा नै छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराए।

दोस्रो र तेस्रो चरणमा भने प्रचण्डले गोप्य रुपमा फेरि ओलीसँगको सहमतिका आधारमा चुनावी गठजोडको लिखित सहमति गरे। माओवादीको गिर्दो लोकप्रियताबीच उनलाई नेतृत्व र प्लेमेकरका रुपमा उदय हुनु थियो।

एमाले–माओवादीको गठजोडले बहुमत ल्यायो र भागवन्डाका आधारमा अहिलेका स्थानीय, प्रदेश र संघीय सरकार परिणामका रुपमा देखिए। पार्टी एकीकरणको टुंगो लाग्यो। विभिन्न जिल्लादेखि उपल्ला कमिटीसम्म गठनकका क्रममा प्रचण्डले नेकपाभित्रका नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतलाई बाईपास गरी ओलीसँगको समिकरण बलियो बनाए।

ओली युरोपको भ्रमणमा रहेकै बेला प्रचण्डले नेकपाभित्रको आन्तरिक राजनीतिको मुख्य ठाउँमा उभिन आफैंले गरेको गोप्य सहमतिको खुलासा गरे– आलोपालो प्रधानमन्त्री। यसले ओली–प्रचण्डबीच वाकयुद्ध सुरु भयो।

फेरि प्रचण्डले कार्यकारी अध्यक्ष पदका निम्ति ओलीसँग अर्को सहमति गरे–५ बर्ष नै प्रधानमन्त्रीको पद दिने तर पार्टी आफूले चलाउने। उनको योजना थियो–पार्टी कमिटीको बैठक राखी सरकारलाई नियन्त्रणमा राख्ने।

यो प्रयोगका निम्ति उनले सचिवालयको बैठक राखी नेता बामदेव गौतमलाई यसको कारक बनाए। उप–निर्वाचनमा चुनावी मैदानमा उठाउने। कसैले पनि गौतमका लागि ठाउँ नछाडेपछि सचिवालयमा गौतमलाई ‘उपाध्यक्ष’ बनाउने प्रस्ताव फ्याँके। जुन सफल भयो।

यसपछि गौतमसँगको अन्तरंगलाई अझ बलियो बनाउन राष्ट्रिय सभा सदस्य हुँदै संविधान संशोधन गरी प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्डले गरे। जसले तत्कालिन एमालेभित्र नयाँ विवादको सुरुआत हुनु नौलो कुरा थिएन। बामदेवले सार्वजनिक रुपमा नै आफू प्रधानमन्त्रीका लागि लायक रहेको भनी वक्तव्यबाजी गर्न थाले। यसले ओली र बामदेवबीचको दूरी अझ बलियो भयो।

संविधानतः बामदेवले यो मौका नपाउने अवस्था थियो तैपनि प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा सचिवालयको बैठक राखी गौतमलाई कहिले राष्ट्रिय सभाको सांसद बनाउने त कहिले प्रतिनिधि सभामा उठाउने परस्पर विरोधी प्रस्ताव राख्न थाले।

अन्ततः बामदेवलाई राष्ट्रिय सभाको सदस्यका रुपमा भित्राउने निर्णयमा सहमति भयो। एउटा विवादको समाधान यहिँनेर भएको थियो।

त्यसअघि प्रचण्डको प्रस्तावका आधारमा नै बरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा वरियतामा तेस्रो स्थानमा राखिएको थियो। जबकि, तत्कालिन एमालेको नीतिअनुसार पूर्वअध्यक्ष झलनाथ खनाल बरियतामा तेस्रो हुने थिए। उनी चीनमा रहेका बेला यता एकीकरण घोषणा भयो– खनाल रुष्ट भए।

त्यसको केही महिनापछि नेपाललाई जानकारी नदिई सचिवालयको बैठक राखी प्रचण्डकै प्रस्तावका आधारमा खनाललाई बरियताको तेस्रो स्थानमा ल्याइयो– नेपाल रुष्ट भए। नेपालले त यतिसम्म भनिदिए– दुई अध्यक्षले भन्दैमा सबैकुरा हुँदैन।

यी घटनाक्रमले नै प्रचण्ड पार्टीभित्र अस्थिरतालाई चलायमान बनाउन चहान्छन् भन्ने प्रमाणित गर्छ।

केही महिनादेखिको किचलो!

तत्कालिन माओवादीमा जस्तै नेकपामा पनि ‘ओली र नेपाल’ लाइनको संघर्षबीच नेतृत्वमा उदाउने प्रचण्डको चेष्टा सफल हुन नपाएपछि केही महिनादेखि किचलो चलिरहेको छ।

प्रधानमन्त्री ओलीलाई राजीनामा गराई नेपाललाई प्रधानमन्त्री बनाउने प्रचण्डको प्रस्तावले गुटका नेता रमाएका छन्। तर असलमा उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेलले भनेजस्तो ‘पूर्व समूहमा खेलेका कारणले नै नेकपामा समस्या देखिएको’ हो। पूर्व समूहलाई प्रचण्डले समिकरणका रुपमा उपयोग गरिरहेका छन्।

बालुवाटारमा भएको त्यसबेलाको स्थायी समितिको बैठकमा प्रचण्डले खुलेआम प्रधानमन्त्री ओलीको राजीनामा माग गरे। यसले उनलाई स्थायी समितिमा ओलीविरोधी कित्तामा उभिएको नेताका रुपमा व्याख्या गर्न सरल भयो तर ओलीसँगको सम्बन्ध चिसो बन्दै गयो।

‘प्रचण्डको भूमिका शंकास्पद नै हुन्छ। अघिल्लो दिन भरमार झगडा गरेको या बोलचालै बन्द गर्नेगरी विवाद भए पनि भोलीपल्ट फोन गरेर भेट्न आउँछु भन्छन्’, बालुवाटार उच्च स्रोतले भन्यो,‘उनको यो भयानक र डरलाग्दो व्यवाहारले कुन बेला के हुने हो, पत्तो हुन्न।’

प्रचण्डले हालै मात्र ओलीसँग प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफूलाई सहमतिअनुसार प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए। स्थायी समितिले नै ५ बर्ष प्रधानमन्त्री ओलीलाई भनी अनुमोदन गरिसकेको अवस्थामा प्रचण्डको यो प्रस्तावको विकल्पमा ‘यस्ता कुरा नगर्नुस् बरु अलग–अलग हौं’ भन्ने जवाफ पाएका थिए।

उच्च स्रोतका अनुसार सोही विषयलाई ‘ईश्यु’ बनाएर नेपाल–खनाललाई आफ्नो समिकरणमा उभ्याएर ओलीलाई कमजोर बनाउने नीतिमा प्रचण्ड छन्। जानकारहरू भन्छन्,‘यसमा उनी असफल भए भने फेरि ओलीसँग मिल्छन् र अरुलाई कमजोर बनाउँछन्।’

तीन बर्षदेखि प्रचण्डले एकल नेतृत्व नपाएका कारण अस्थिरताको खेलमा सक्रिय भएको कतिपयको बुझाई छ। पार्टी विभाजन भएकै अवस्थामा ओली कमजोर हुने र नेपाल–खनाल समूहमाथि आफ्नो एकल नेतृत्व हुने मनसायमा पनि प्रचण्ड छन्।

तर राजनीतिका धुरुन्धर खेलाडी नेपाल–खनालले भने अहिलेको विवादको अन्तिम चुरो पत्ता लगाउने कोशीश गरिरहेका छन्। त्यसैअनुसारको विवरण बुझ्नका निम्ति नेता गौतम राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको बताइन्छ।


  • 14
    Shares