काठमाडौं उत्रिए भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणे

काठमाडौं– भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं बुधबार काठमाडौं उत्रिएका छन्। भारतीय वायु सेनाको विमानमार्फत मध्यान्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।

चार सदस्यीय टोलीको भ्रमणका निम्ति दुईवटा विमानमा काठमाडौं आएको हो। नरवणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतले स्वागत गरेका छन्। उनी बुधबारको रात सोल्टी होटलमा बिताउँदैछन्। सो क्षेत्रको सुरक्षा व्यवस्था नेपाली सेनाले कडा पारेको छ।

नरवणेको गाडीको अगुवा–पछुवा नेपाली सेनाको अनुभवी टोलीले गरेको छ। सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको पनि स्कर्टिङ रहेको छ।

नरवणेलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषणसहित केहीलाई नियन्त्रणमा लिइसकिएको छ।

आज कुनै पनि औपचारिक भेटमा व्यस्त नहुने नरवणे भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाटमा व्यस्त हुनेछन् भने पत्नीसहित पशुपतिनाथको दर्शन गर्नेछन्।

उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरी नरवणे स्वदेश फिर्ता हुने बताइएको छ।