प्रहरीभित्र राजनीति: साधुलाई शूली, चोरलाई चौतारी!

  •  
  •  
  •  
  •  
  • 29
  •  
    29
    Shares

यो आक्षेप होइन– चिरफार हो। बेन्जामिन फ्रान्कलिंक भन्छन्– प्रत्येक आधिकारिक व्यक्तिलाई प्रश्न गर्नु प्रत्येक नागरिकको पहिलो जिम्मेवारी हो। लोकतन्त्रको धर्म पनि यहि नै हो।

र, यी प्रश्नहरू हुन्। यीनका उत्तर अनिवार्य खोजीनीति हुनुपर्छ। जब प्रहरी राज्यको सबैभन्दा पहिलो आधिकारीक निकाय हो, जनतासँग ठोक्किने भने त्यसको जवाफदेहिताको पहिलो जिम्मेवारी पनि प्रहरीले लिनुपर्छ। इतिहास होस् या वर्तमान यो तथ्यबाट यसका नेतृत्वकर्ता भाग्न पाउने छैनन्।

प्रहरीको नेतृत्वलाई सबै थाहा हुन्छ किनकी माथिको आदेश र मञ्जुरीबिना तलका कुनै नेतृत्वले कुनै काम गर्दैनन्।

माथिल्लो नेतृत्वको इशारा नपाइकन कसैले कुनै घटनामा मौन बस्न सक्दैन र त्यो सम्भव पनि छैन। प्रहरी, नेतृत्वको चेपुवामा परेको हुन्छ। प्रहरी संगठनको छवि, संगठनप्रतिको जनविश्वास जहिले पनि जिल्ला स्तरमा कार्यरत प्रहरी नेतृत्वको व्यबहारमा निर्भर हुन्छ।

जिल्लास्तरको नेतृत्वले सहि काम गरेको छ या छैन? उसले अबलम्बन गरेको नीति सहि छ छैन? उसका क्रियाकलाप पारदर्शी छन् छैनन्? उसको उठबस के कस्ता पृष्ठभूमिका मानिसहरूसँग छ? उसको सेवा प्रवाह स्तरसँग आम जनता खुशी छन् छैनन्? यी कुराको निगरानी प्रदेश प्रहरी प्रमुख र प्रहरी प्रधान कार्यालयले गर्ने हो।

उसले गरेका राम्रा कामलाई प्रोत्साहन गर्ने र गलत क्रियाकलापलाई सुधार्न बाध्य गराउने हो। तर के जिल्ला नेतृत्व आफू असल नियतले काम गर्न स्वतन्त्र छ?

बिजय यादव, अरुण कुशवाहालगायतका तराईका प्रहरी प्रयोग गरेर सर्वेन्द्र खनालले के गरे सबैलाई जानकारी नै छ। शक्तिमा बस्नको लागि र शक्तिकेन्द्रको नजिक रहिरहने स्वभावका उनी अहिले अख्तियारमा आयुक्त भएर जाने दौडमा शक्तिकेन्द्रसँगको भेटघाटमा ब्यस्त छन् भन्ने पनि चर्चा छ।

कुनै बेला नेपाली कांग्रेसका कार्यकर्ता नै भएका उनी माओवादीसँग त्यति नै नजिक भए र कांग्रेसलाई निषेध गरे अहिले यीनि पुरानो एमालेको कुनै खेमासँग नजिकिएर शक्ति प्राप्त गर्ने दौडमा कटिबद्ध भएर लागेका छन्। यसको आधिकारीकता उनले नै दिनेछन्। उत्तर उनैले देलान्। हावा नचली पात हल्लिँदैन भनेजस्तो मिडियामा नै सार्वजनिक भएका सन्दर्भहरूकै मेसोमा यसलाई बुझ्न आवश्यक छ।

राजनीतिक नेतृत्व, कर्मचारी तन्त्रीय नेतृत्व, प्रादेशिक नेतृत्व, बिभागीय नेतृत्व, प्रहरी नेतृत्व, नागरिक समाज, बिभिन्न पेशागत संगठनका नेतृत्वलगायत बिभिन्न चरित्र गुण बोकेका नेतृत्वलाई खुशी पार्दा पार्दै जिल्लाको प्रहरीले बास्तविक जनतालाई खुशी पार्ने काम गर्नै सक्दैन। केन्द्रीय नेतृत्व आफ्नो असक्षमता लुकाउन अनेक सम्झौता गर्ने अनि तलका नेतृत्वलाई आफ्नो प्रतिबद्धता दर्शाउन आफ्नो काममा कुनै सम्झौता नगर्न आदेश दिने।

चर्चित स्युडो केमिकल्स काण्डमा जयबहादुर चन्दसँग जोडिएका प्रनाउ अपिल बोहोराको घडी काण्डको महिमा सेलाउन नपाउँदै उनले कालिमाटी वृत्तमा इन्चार्ज पाउँछन् अनि उनकै कार्यकालमा थुनुवा भाग्छन्, यसको बारेमा सोच्ने कि नसोच्ने?

तर त्यहि आदेश बमोजिम काम गर्न थाल्यो भने सबै भन्दा ठूलो तनाव जिल्लाको नेतृत्व गर्नेलाई संगठन भित्रकै नेतृत्वकर्ताहरूबाट हुने गरेको तथ्य सबैभन्दा जटिल छ। राजनीतिक र कर्मचारीतन्त्रीय नेतृत्वसँग कुरा गरेर ति नेतृत्वका विचार समेत सम्मिलित गरेर आफ्ना मातहतलाई यसो गर भन्नुपर्नेमा राजनीतिक र कर्मचारीतन्त्रीय नेतृत्वसँग स्पष्ट कुरा गर्न नसक्ने अनि बिरोधाभाषपूर्ण आदेश दिएर समस्या आए पश्चात उनीहरूलाई कारबाहीको डर देखाउने प्रबृत्ति प्रहरीको नेतृत्वमा मौलाएको छ।

यी सन्दर्भहरूको चुहावट आवश्यक थियो। अल्बर्ट आइन्स्टाइन भन्छन्– यदि म गलतहरूबीच रहेर, थाहा पाएर पनि चुप बसें भने म त्यो सहकार्यका निम्ति दोषी महशुस गर्नेछु भन्ने नै टिप्पणीकारको ठहर हो।

जस्तो प्रहरी नेतृत्वले बिभिन्न मन्त्रालयको नीति, संसदीय समितिका निर्देशन, दबाब समूहको माग, सम्मानित अदालतबाट भएका आदेश निर्देशन, महान्यायाधिवक्ताको सुझाव, सरकार प्रमुखको इच्छा र स्वार्थ, नेपालको प्रचलित संबिधान, कानून, नियम, अन्तर्राष्ट्रिय कानून, सन्धि सम्भौता आदिलाई मनन् गर्नुपर्ने हुन्छ।

ति सबै कुरा सुनेर कसरी काम गर्ने भन्ने निर्देशन प्रहरी महानिरीक्षकले दिनुपर्छ र दिन्छन्। जस्तो अर्थ मन्त्रालय चोरी तस्करी नियन्त्रण गर भन्छ। गृह मन्त्रालयले समेत राजस्व बृद्धि गर्नको लागि तस्करी नियन्त्रण गर भन्छ तर तस्करी नियन्त्रण गर्न थालेपछिको नतिजा के हुन्छ प्रहरी नेतृत्वले त्यो बुझेको छैन। किनभने उसलाई त्यो बुझ्ने आवश्यकता कहिल्यै परेन। यहाँ समस्या कहाँ पर्छ भने प्रहरीको केन्द्रीय नेतृत्व र प्रादेशिक नेतृत्व अवकाशको मुखमा हुन्छ तर जिल्ला नेतृत्व आफ्नो व्यावसायिक छवि बनाउन लागि परेको हुन्छ।

तस्करी, जुवा, बन्यजन्तु शिकार, खोलानालाको अबैध उत्खनन्, वेश्याबृत्तिको व्याबसाय, लागु औषधको कारोबार, गुण्डागर्दी, अबैध क्रसर, अबैध मदिरा उत्पादन र बिक्रिवितरण, मिटर ब्याज, मुद्दा मामिलामा बिचौलियाको उपस्थिति, अपराध अनुसन्धानमा सम्झौता यी यस्ता बिषयहरू हुन जसको पक्षमा प्रहरी जाने बित्तिकै आर्थिक लाभका पर्याप्त अवसरहरू आउँछने अनि बिपक्षमा प्रहरी जाने बित्तिकै समाजमा कानून व्यवस्थाप्रतिको जनविश्वास कायम हुन जान्छ। ्

तर, यो परिस्थितिमा हिजो समाजमा चलखेल गरेर स्थापित गलत तत्वहरू प्रहरी नेतृवविरुद्ध लाग्छन्। यी तत्वहरूको पहुँच प्रहरी महानिरीक्षकदेखि राजनीतिक नेतृत्वसम्म हुन्छ। भन्सार छलिका सामान ल्याएर आफ्नो व्यापारिक साम्राज्य खडा गरेका व्यापारीदेखि तस्करको महिनावारीमा भात भान्सा चलाएका धेरै यस्ता वर्गले आफ्नो पहुँचको दुरुपयोग गर्न थाल्छन्।

प्रहरी नेतृत्वकोमा दबाब जान थाल्छ। प्रहरी नेतृत्वले यो दबाब थेग्न सक्दैन अनि त्यस्ता अधिकृतहरूको सरुवा हुन्छ। तर जसले माथि उल्खिित यी विकृतिलाई देखेर पनि नदेखेझैं गर्छ, उसले शुभलाभ पनि प्राप्त गर्छ, उसले नियोजित सरुवा र कारबाहीको शिकार पनि हुनुपर्दैन, उसैको घर ठूलो हुन्छ, उसैको गाडी, सुबिधा, बिलासिताको स्तर बढ्दो हुन्छ। त्यस्तो भएपछि नेपाल प्रहरीमा कुन प्रवृत्तिले मौलाउने अवसर पाउँछ।

कुनै समय २ नम्बर प्रदेशका प्रमुख प्रद्युम्न कार्कीले कुनै ब्रिफिङमा सिपाही हवल्दारले समेत सुन्नेगरी २ नम्बर प्रदेशमा रौतहट र सिराहा बाहेकका जिल्लाहरूले इमान्दारिताका साथ काम नगरेको कुरा भनेका थिए भने तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै नजिक बसेर काम गरेका एक अधिकृतले काँकडभिट्टा सरुवा भएपछि उनले गरेको गैर व्यावसायिक कार्यको लागि कन्फ्रेन्स कल गर्दा काँकडभित्ताको इलाकामा तस्करी बढेको कुरा भनेका थिए भनेर प्रहरी अधिकृत माझ नै चर्चा चलेको थियो।

त्यति बेलाका झापा जिल्ला प्रमुख, काँकडभिट्टाका प्रमुख को थिए बुझ्न सकिन्छ, रौतहट र सिरहा बाहेकका जिल्ला प्रमुख को–को थिए त्यो पनि बुझ्न सकिन्छ।

कुनै बेला रसुवामा रक्त चन्दन तस्करी गरेर बदनाम भएर विभागीय कारवाही परेका एक अधिकृत जसको कारणले तत्कालीन नेपाली सेनाका कर्णेलको जागिर नै गएको थियो, उनले सजाय या पुरस्कार के पाए त्यसको हिसाब किताब छ कि छैन प्रहरी नेतृत्वसँग?

कुनै बेला पूर्व क्षेत्रको कुनै हिमाली जिल्लाको प्रहरी प्रहरीमुखको बारेमा त्यहि जिल्लाकै सिडिओले रुँदै गृह सचिवलाई गुहारेपछि तानिएका कुनै अधिकृतले त्यसपछि के कस्ता अवसरहरू पाए त्यसको हिसाबकिताब छ कि छैन?

चर्चित स्युडो केमिकल्स काण्डमा जयबहादुर चन्दसँग जोडिएका प्रनाउ अपिल बोहोराको घडी काण्डको महिमा सेलाउन नपाउँदै उनले कालिमाटी वृत्तमा इन्चार्ज पाउँछन् अनि उनकै कार्यकालमा थुनुवा भाग्छन्, यसको बारेमा सोच्ने कि नसोच्ने?

जबसम्म यी प्रवृत्तिहरूलाई निस्तेज गरिँदैन, कसरी प्रहरी कर्मचारीमा सकारात्मक बाटोमा हिड्न प्रेरणा जागृत होला? ‘साधुलाई शूली, चोरलाई चौतारी’ को नीतिलाई नसुधारेसम्म प्रहरीलाई राम्रो काम गर्न कसरी प्रेरित गर्न सकिएला?

विगतका पदकको कुरा होइन, प्रहरीमा सुधार गर्न प्रतिबद्ध हालकै महानिरीक्षकको कार्यकालको पूर्वसन्ध्याकै समय पारेर प्रहरीमा हालसालै पदक प्राप्त गर्नेले के कस्ता उल्लेखनीय काम गरेका रहेछन् त्यो कुरा सार्वजनिक गर्न के प्रहरी नेतृत्व तयार छ?

नेपाल प्रहरीले आफ्ना संगठनका बर्ष भरिमा उत्कृष्ट काम गर्ने अधिकृतहरूको नामावली त निष्पक्ष रुपमा तयार पार्न नसकीरहेको वर्तमान परिप्रेक्षमा कसरी आफ्ना अधिकृत र जवानहरूलाई उत्कृष्ट ढंगले कार्य गर्न प्रेरित गर्ला?

कमसेकम पुरस्कार दिँदा, पदक दिँदा, बढुवा दिँदा, सरुवा दिँदा लिनेलाई लाज नलागे पनि दिने र सिफारिस गर्नेलाई त लाज लाग्नुपर्ने हो। जबसम्म असल नियत, असल कार्य, उत्कृष्ट नतिजा दिने व्यक्ति पुरस्कृत र गलत नियत, गलत कार्य र संगठनलाई बारम्बार बदनाम गराउने व्यक्ति दण्डित हुने संस्कार बस्दैन, तब सम्म राम्रो काम गर्न कसैलाइ उत्प्रेरित गर्न सकिँदैन।


  •  
  •  
  •  
  •  
  • 29
  •  
    29
    Shares