पातला पर्यटक, बाक्लै वन्यजन्तु

  •  
  •  
  •  
  •  
  • 8
  •  
    8
    Shares

चितवनसात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका छन् । लामो समय निकुञ्ज सुनसान हुँदा वन्यजन्तुले पर्यटकीय मार्गमा आफ्नो दैनिकी बनाउन थालेका छन् । पहिलेपहिले धेरै पर्यटक र कोलाहलका कारण सुनसान ठाउँतर्फ केन्द्रित हुने गरेका वन्यजन्तु यतिबेला जीपमार्ग आसपास नै पर्याप्त देखिने गरेका छन् ।

निकुञ्जभित्र जीप सफारीमा जाने जोकोहीका लागि आहा बन्ने गरेको छ । तीन दिनअघि पर्यटक बोकेर गएका जीपचालक प्रताप परियार जीप वरिपरि बाघ लामो समय रहेपछि पर्यटक निकै रमाएको बताए । निकुञ्जको रानीखोला नजिकै लघुना ताल छ । त्यसको आडैमा अजङ्गको बाघ भेटियो । २० मिनेट जति हाम्रो पछिपछि आयो, उनले भने, ‘एक जना आमा र उहाँका छोराछोरीले भिडियो खिचेर निकै रमाइलो गरे । यस्तो अवसर पर्यटकले कम मात्रै पाउने भए पनि अहिले धेरैपछि खुलेकाले सम्भावना निकै हुने गरेको उनको भनाइ छ ।

समूहमा गैँडा, मृग, चित्तल, गौरीगाई, बाँदर सहजै देखिने गरेको उनी बताउछन् । विगतमा गैँडा देखाउनसमेत ठूलै कसरत गर्नुपर्ने भए पनि अहिले सहजैरूपमा प्रायः सबै जनावर देख्न सकिने परियारको अनुभव छ ।

ललितपुर सानागाउँकी पिङ्की शेर्पा चार साथीसहित जीपमा निकुञ्ज घुम्दै गर्दा निकै रमाइलो भएको अनुभव सुनाउछिन् । लामो समयपछि खुलेर हो वा सधैँ यस्तो हो, आफूलाई थाहा नभएको भन्दै उनले भनिन्, ‘दुर्लभ एकसिङ्गे गैँडा, हरिण, मृगजस्ता जनावर सजिलै नजिकैबाट हेर्न पाउँदा स्वर्णिम अनुभव हुँदोरहेछ । पहिलोपटक चितवन राष्ट्रिय निकुञ्ज घुम्नुभएकी शेर्पालाई जीवनमा एकपटक यो निकुञ्ज सबैले हेर्नैपर्छ जस्तो लाग्यो । निकुञ्जको मुख्य कार्यालय कसराको घडियाल प्रजनन केन्द्र, डुङ्गा सयरजस्ता पर्यटकीय गतिविधिले पनि आफूलाई निकै लोभ्याएको सुनाइन् ।

सामुदायिक वनमा हात्ती सफारीका क्रममा पनि दुर्लभ, अन्य जनावर र चराचुरुङ्गी सहजै देख्न पाएपछि पर्यटक निकै रमाउने गरेको पर्यटन व्यवसायी सुमन घिमिरे बताउछन् । उनले भने, ‘निकुञ्ज घुमेर आएका पर्यटक निकै रमाउने गरेका छन् । जङ्गल सफारी लजका सञ्चालकसमेत रहेका घिमिरेले थपे, ‘लामो समयपछि पर्यटकीय गतिविधि खुलेकाले जसले निकुञ्ज घुम्ने अवसर पाएको छ, उसले निकै ठूलो मौका पाएको छ ।

पहिलेभन्दा कम खर्चमा धेरै जनावरको अवलोकन गर्न अहिले पर्यटकले पाएका छन् । यहाँको मौसम पनि अहिले घुम्नका लागि निकै अनुकूल छ । घिमिरेको भनाइमा निकुञ्ज घुम्न आउने पर्यटकले निकुञ्जबाटै हिमाल पनि देख्न पाएका छन् । यो साता मौसम खुलेकाले चितवनका विभिन्न ठाउँबाट हिमाल सहजै देखिने गरेको छ ।

गर्मी जिल्लाको रूपमा परिचित चितवनमा यतिबेला न गर्मी छ न जाडो । दिउँसो घाम ताप्नुपर्ने र राति सिरक ओढ्नुपर्ने उपयुक्त वातावरण भएकाले धेरैको आकर्षण निकुञ्ज घुम्ने भएको घिमिरेको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लामो समयपछि निकुञ्ज खुलेकाले पर्यटक कम भए पनि धेरै जनावर हेर्ने अवसर पाएको बताउछन् । उनले भने, ‘जोजतिलाई घुम्ने अवसर मिलेको छ, उहाँहरूले धेरै जनावर हेर्न पाउनुभएको छ । क्रमशः पर्यटकको सङ्ख्या बढ्ने उनी बताउछन् । निकुञ्जभित्र जीप सञ्चालन हुने बाटो क्षेत्रमा गत वर्षहरूमा मानवीय चाप बढी हुने हुँदा जनावर टाढाटाढा भाग्ने भए पनि यतिबेला बाटोको आसपासमा नै विचरण गरेको देख्न सकिने बरालको भनाइ छ ।

चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । काठमाडौँ र पोखरापछि सबैभन्दा बढी पर्यटक यहाँ आउने गर्दछन् । निकुञ्जमा बाघ, एकसिङ्गे गैँडा, गौरीगाई, लघुना, घडियाल गोही, मृग, जरायो, अर्नालगायतका जनावर, चराचुरुङ्गी, वनस्पतिको अध्ययन अनुसन्धान र अवलोकन गर्न यहाँ पर्यटक आउने गर्दछन् ।


  •  
  •  
  •  
  •  
  • 8
  •  
    8
    Shares