नेकपा नेतृत्व विवादमा राष्ट्रपतिद्वारा हस्तक्षेपको अर्थ

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनतिर लैजाने कि एकीकरणमा नै कायम राख्ने भन्ने प्ले मेकर मध्येका एक हुन्– उपाध्यक्ष बामदेव गौतम।

त्यसबेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद चर्किँदा गौतमको ६ बुँदे सहमतिको खाकाले सेफल्यान्डिङ गर्न मद्दत पुगेको थियो। त्यसमा प्रचण्डलाई कार्यकारी अधिकार र ओली ५ बर्ष नै प्रधानमन्त्री रहने थियो।

त्यसैको आधारमा स्थायी समितिमा सहमतिको प्रतिवेदन लैजानेगरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बन्यो र दुई अध्यक्षलाई प्रतिवेदन बुझायो। त्यसमा पनि ओली ५ बर्ष सरकारको नेतृत्वमा रहने उल्लेख थियो र अनुमोदन भयो।

फेरि नेकपामा ‘अलग–अलग’ हुने विषयको चर्चा र समिकरणका आधारमा भइरहेका बैठकले समस्या ल्याएको छ। प्रचण्डनिवास खुमलटार बैठकमा सहभागी भएका उपाध्यक्ष गौतमलाई यो विभाजनको संकट आउन नदिन र सहमति गराउनका निम्ति राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएकी छन्।

मंगलबार साँझ शितलनिवास पुगेका गौतमलाई राष्ट्रपतिले अहिले देखिएको विवाद समाधानको मध्यस्तताको नेतृत्व गर्नका लागि सुझाव दिइन् ।

उच्च स्रोतले भन्यो,‘पार्टी वा सरकार नै संकटमा पर्न सक्ने कुनै पनि प्रकारका कदमलाई रोकेर नेकपाको रोलमोडल नेता बन्न गौतमलाई राष्ट्रपतिको सुझाव थियो।’

जब–जब नेकपामा संकट आउँछ, शितलनिवास सक्रिय जस्तो देखिन्छ। यतिमात्र होइन, प्रधानमन्त्री ओलीको निर्णयका आधारमा नै मिलाउने कोशीश र प्रयत्नमा रहेको समेत देखिने नेताहरू बताउँछन्। जसका कारण राष्ट्रपति भण्डारीको बेलामौका आलोचना समेत हुने गरेको छ।

यसअघि आन्तरिक विवाद चर्किरहेको बेला दल विभाजनसम्बन्धी विधयेक सरकारले ल्याएको थियो जसलाई केही मिनेटमै राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी थिइन्। फिर्ताको निर्णय पनि तुरुन्तै स्वीकृत भयो। ‘लामो विचार नगरी वा केही समय पनि नलगाई शितलनिवासले लिने यस्तो निर्णयमा प्रधानमन्त्री पक्षधरता हो की? भन्ने देखिन्छ’, उच्च स्रोतले भन्यो।

त्यति मात्र होइन प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनेगरी बालुवाटारमा स्थायी समितिको बैठकमा छलफल चलिरहेका बेला राष्ट्रपति भण्डारीको हस्तक्षेपकारी चहलपहलका कारण प्रचण्ड शितलनिवास पुग्नु परेको थियो। त्यसले पनि ठूलै राजनीतिक ‘तहल्का’ मच्चाएको थियो।

सत्तारुढ पार्टीभित्रको विवाद चलिरहेका बेला शितलनिवासले गौतमसँगको भेट मात्र होइन, अन्य बेला समेत गरेका कतिपय हस्तक्षेप जस्ता विषय अर्थपूर्ण नै बनेका थिए।