प्रकाश दाहालसँग चिनजान र लाजिम्पाटको त्यो साँझ

  • 96
    Shares

‘प्रकाश दाहालसँग चिनजान गरौं न। मलाई कस्तो डाउन टु अर्थ लाग्छ। फेरि अहिले नीजि विषयमा उसलाई पेलिराख्या छन्। त्यो पनि बुझौं’, मैले मेरा अनन्य मित्र र प्रकाशका पनि त्यस्तै साथीसँग प्रस्ताव राखें।

‘आजै भेट्ने हो त?’, उनको सटिक उत्तर आयो।

‘ठिक छ भेट्ने हो।’

मेरो कार्यालय पनि दरबारमार्ग नजिक भएका कारण सोही लोकेशनमा भेट हुने कुरा भयो। अहिले छ–छैन थाहा छैन, सिभिल बैंक भएको भवन तलको रेष्टुरेन्ट इक्ज्याक्ट भेन्यु।

सगरमाथा आरोहणपछिका केही महिना थिए– उनीहरूका लागि। सायद बिना मगरसँगको सम्बन्ध र विवाहको विषयलाई लिएर प्रकाशलाई त्यसबेला राज्य समिति सदस्य वा कुनै यस्तै जिम्मेवारीबाट हटाइएको थियो।

बाबु पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रहने त कुरै भएन। लाजिम्पाटस्थित निवासमा पनि बस्दैन थिए त्यसबेला सायद!

प्रकाशसँगको अनौपचारिक चिनजानचाहिँ फेसबुकमा थियो। हामी साथीका साथी भएको विषयमा उनी राम्रो जानकार भएर राम्रोसँग प्रतिक्रिया दिने, सुझाव लिने, कसले कसरी लिएको छ माओवादीलाई त्यस विषयमा अनौपचारिक संवाद भइरहन्थ्यो।

सम्बन्धका सबै विषय समाचार, आलेख वा तत्कालिक प्रकाशनका सामग्री हुँदैनन् भन्ने मलाई जानकारी थियो र प्रकाशलाई त्यसमा विश्वास।

कम्ब्याक्ट पाइन्ट, कालो धुलो लागेको आउटर, फुस्रो कपाल र पान चपाइरहेको केटो रेष्टुरेन्टभित्र छिरे। ति हामी बसेकै टेबुलमा आए। प्रकाश दाहालसँगको पहिलो भेट त्यहि थियो।

बर्षौंदेखि संगत गरेको र एकअर्कालाई जानेको जसरी हामी विविध विषयमा गफियौं। त्यस मध्येको एउटा विषय थियो– वाइसीएल र यसका नेताका नाममा भइरहेका विविध गतिविधि। जसले प्रचण्डको नामलाई चर्चा र आलोचना दुवैको कसीमा राखिरहेको थियो।

बेलामौका भेट गर्दैगर्ने सर्त र समझदारी स्वभाविक हुने भयो। हामी छुट्टियौं केही घन्टाको संवादपछि।

प्रकाशसँगका संवादपछि उसबारे एकछिन घोत्लिएँ, बाटोमा। जसको बारेमा मिडियामा अनेकथरी चर्चा र समाचार आइरहेका छन् त्यो मानिस यति सरल र सहज कसरी हुनसक्छ? आलोचकहरूलाई पनि माया गर्नुपर्छ भन्ने कसरी ठान्न सक्दछ?

उसका वैवाहिक जीवनका अनेक उतारचढाव थिए। त्यसमा पनि घोत्लिएँ। सायद, घरमा त्यति सहज भएन वा मन मिलेन होला। आखिर राधासँग युगौंयुगको इतिहासमा जोडिने कृष्णकी पनि त पत्नी अर्कै हुन्। भन्ने पनि लाग्यो।

दिनहरू बित्दै गए। स–साना विषयमा सञ्जाल र फोनमार्फत प्रकाशसँग कुराकानी हुनु अब नयाँ कुरा भएन। राजनीतिक व्यक्तित्वको परिवारभित्र पहिलो नजिकको परिचय वा एउटा मित्रवत सम्बन्ध भने प्रकाशसँग नै बनिसकेको थियो।

यो शक्ति केन्द्रसँगको सम्बन्ध स्थापित गर्ने धेयसँग जोडिएको थिएन। त्यसैले लाजिम्पाट छिर्नैपर्छ भन्ने खास चासो पनि भएन।

सम्बन्ध कायम राख्दा जो व्यक्ति हो उसँगको निकटतालाई मात्र अर्थपूर्ण राख्ने बानी छ। उसको व्यक्तिगत जीवन र जोडिएका अनेक पक्ष–प्रतिपक्षसँग हुत्तिने शैली छैन।

चित्त नबुझेको वा आफूलाई कुनै खास विषयमा मन दुखे फ्याट्ट भनिदिने तर मनभरी बोझ नराख्ने व्यवहार भएकाले प्रकाशसँगको निकटतामा जोडबल पुग्यो।

महिनाहरू बित्दै गए। प्रकाशमाथिको कारबाहीका चार्ज पनि फिर्ता हुँदै गए। उनी लाजिम्पाटभित्रको घरमा आमालगायतका परिवारका सदस्यसँग बस्न थाले। त्यतिमात्र होइन, उनी बाबु प्रचण्डकै स्वकीय सचिवालयमा सक्रियता, धैर्यता र विद्वताका साथ अब्बल काममा सक्रिय भए।

संवाद केही पातला भए पनि अर्थपूर्ण हुन्थे।

त्यस साँझ गिफ्टमा आएका एकाध मिठाई खाएर बासस्थान लाग्नुअघि प्रकाशलाई कुनातिर तानेर भनिदिएँ– ल! बधाई छ। अब राम्रो काम गर्नुभयो भने राम्रो होला। तर राष्ट्रवादी चरित्र स्थापित गरेका, भावनामा खेलेको केपी शर्मा ओली र एमालेले अलिक समस्या पार्ला!

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव परेपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसामु राजीनामा दिएर सदनको भाषण गरेका थिए।

त्यसबेला प्रचण्ड र ओलीबीच भएका दोहोरीका विषयमा पनि थोरै कुराकानी भए– प्रकाशसँग।

मुलुकमा नाकाबन्दी रहेको र खाद्यान्नलगायतका विषयमा नै आहत भएको त्यो बेलाको स्थितिमा ‘राष्ट्रवाद’मात्र सबै सवाल होइन भन्ने प्रकाशको तर्क थियो।

मेरो बेलामौका यी विषयमा मतभेद रहन्थ्यो । तर मित्रता मतभेदका वादविवादका क्रममा नै गहिरो भइरहेका थिए। माओवादीका कार्यकर्ताहरू त्यतिबेला भन्थे– ओली होइन, ओइल चाहिन्छ! यस विषयमा पनि अनेक चर्चा र टिप्पणी भइरहन्थे।

प्रचण्ड प्रधानमन्त्री निर्वाचित, उपेन्द्रकान्त र ल्यारक्याल लामा

प्रचण्डको राजनीतिक शक्ति जति उर्जाशील बन्दै थियो सत्ताका निम्ति, प्रकाशसको स्वकीय सचिवका रुपमा काम गर्ने योग्यता त्यस्तै बढिरहेको थियो।

तीनकुनेको रोयल रेस्टुरेन्टमा एक जना कांग्रेसी साथीले बोलाएका थिए। त्यहाँ पुग्दा उनीसँग डिआईजी जयबहादुर चन्द पनि थिए। चन्दसँग परिचय भयो। उनी बानेश्वरको लागुऔषध व्युरोको प्रमुख थिए सायद त्यसबेला।

खाजा खाने क्रममा तीन थान बियर र अस्ट्रिचको एक प्लेट सेकुवा बजाई सकेको थिएँ। समाचार सुनियो– संसदबाट बहुमतमा प्रचण्ड प्रधानमन्त्री निर्वाचित।

सायद वियरले काम गरेको हुनुपर्छ– केही समयपछि प्रकाशलाई फोन गरें– सदनमै हो की कहाँ?

‘लाजिम्पाट जाँदैछौं’, उसको जवाफ थियो,‘तपाईँ पनि त्यतै आउनुस्।’

तीनकुनेबाट ट्याक्सी चढी अनामनगर हुँदै अर्का प्रचण्डसँग राजनीति गरिसकेका एक जना ‘दाईसाथी’ लिएर लाजिम्पाट पुगियो।

प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भन्ने थाहा थियो तर यति शक्तिशाली कि बधाईका नाममा चाकरी गर्न जो पनि पुग्छन्, भिडभाड हुन्छ भन्ने हेक्का राखिएको थिएन।

त्यसबेला पार्टीका कयन नेता पुगिसकेका थिए। साहित्यकार, पत्रकार, पुलिस सबै भेट गर्ने र चाकरी बजाउने नाममा छिरीसकेका थिए। व्यापारी र अरु धेरै कोही मिठाईका पोका, कोही खादाको चाङ लिएर उपस्थित थिए।

मेरा मित्र– जसले प्रकाश र मेरो चिनजान गराएका थिए उनी पनि लाजिम्पाटमा थिए। बाहिरपट्टि प्रचण्ड परिवारका अन्य सदस्यहरू कुर्ची लाएर बसेका थिए, प्रचण्ड भित्री कोठामा बधाई लिन व्यस्त थिए।

नेपाल प्रहरीका महानिरिक्षक (आईजी) उपेन्द्रकान्त अर्याल र विवादीत नेता जो मन्त्री समेत बनेका थिए। भर्खरै माओवादीमा छिरेका थिए। ल्यारक्याल लामा सँगै लाजिम्पाट प्रवेश गरे।

‘जो विवादीत छ त्यो प्रहरी प्रमुखको यस्तो हितैसी’, एकछिन घोत्लिएँ,‘फेरि यस्ता मानिसको राजनीतिक पहुँच भएर होला सायद!’

भनिन्छ राजनीतिमा सबैथोक स्वीकारयोग्य हुन्छ । तर त्यति मन नपरेको कुरोचाहिँ थियो– विवादीत मानिसलाई पार्टीमा सांसद नै बनाउने कुरा। यसअघिका कयन टेलिफोन होस् वा अनलाइन वार्तामा प्रकाशसँग मेरो मतभेद हुन्थ्यो। त्यस मध्येको एउटा व्यक्ति ल्यारक्याल पनि थियो।

पछि बैंकको लकरमा पेस्तोल समेत राख्ने हैसियत भएको मानिस भन्ने समाचार र विवरणमा आएकै थिए! राजनीतिसँग उनीहरू टाँसिन्छन्, राजनीतिज्ञ टाढा हुनुपर्छ भन्ने मान्यतामा थिएँ म। आजभोली पनि यी र यस्ता व्यक्तिबाट राजनीतिज्ञ पर भएन भने ठिक हुँदैन।

प्रधानमन्त्री निर्वाचित भएको दिनकै कारण नमिठो कुरा गर्न मिलेन। तर जोशमा पुगेको टिप्पणीकारले अर्याल र लामालाई बाटो छाड्ने कुरा थिएन। अलिक टिठलाग्दो गरि नै भनिदिएँ– तपाईहरूको पालो मपछि।

प्रधानमन्त्रीलाई बधाई दिइयो, एकाध थान तस्बिर खिचियो। अब भने सामाजिक सञ्जालले बनाइदियो– प्रचण्डको मान्छे!

यहाँ तस्बिर मात्र खिच्नुपर्छ, चिनजान हुनुपर्दैन। प्रकाशसँगको लामो दोस्ती भए पनि कुनै प्रकारका सिफारिस र राजनीतिक लाभका कुरा गरिएन, आफ्ना लागि। बरु, साथी प्रधानमन्त्रीसँग भएकाले राज्यको लाभ, प्रधानमन्त्रीको पदको गरिमाका लागि केही सुझाव दिइयो।

त्यो ठूलो घेरामा अनेक मानिसहरूको सम्बन्ध हुन्छ, कसले कसको सल्लाह सुन्ने र? कोही बिगार्ने भेटिन्छन्, कोही नाफाखोर भेटिन्छन्। सबैसँग संगत गर्नैपर्ने होला? कयौंचोटी त्यहि लाजिम्पाटका घरबेटीका नाममा विवाद आयो, प्रचण्ड जोडिन थाले। अहिले खुमलटारका घरबेटीसँग जोडिएका छन्।

त्यस साँझ गिफ्टमा आएका एकाध मिठाई खाएर बासस्थान लाग्नुअघि प्रकाशलाई कुनातिर तानेर भनिदिएँ– ल! बधाई छ। अब राम्रो काम गर्नुभयो भने राम्रो होला। तर राष्ट्रवादी चरित्र स्थापित गरेका, भावनामा खेलेको केपी शर्मा ओली र एमालेले अलिक समस्या पार्ला!

राजनीति हो, त्यस्तो नहुने केही छैन। सदनमै प्रचण्डको हुर्मत लिनेगरी राजीनामा घोषणा अघि ओलीले ‘अरुणा लामाको गीत’ सुनाएकै थिए।

प्रकाशको दिपशिखासँग के थियो?

मेरो प्रकाशबीचमा संगठनका विषयमा बहस चलिरहेको थियो। निचोरिएको बहस आन्तरिक रुपमा चलिरहेका बेला सामाजिक सञ्जालमा सक्रिय प्रकाशले फेसबुकमा लेखे– संगठनमा कुनै सरोकार नभएको, तितो बचन भएको मान्छे देखेर दिक्क लाग्छ!

भाइबरमार्फत अक्सर रातको साढे १० बजेपछि कुराकानी हुने प्रकाशले मलाई नै केन्द्रित गरेर व्यंग्य गरेको ठानें। अलिक कठोर शैलीमा मैले उनलाई सोधें– के हो? फेसबुकमा नै लेख्नुपर्छ यस्ता कुरा!

उसको जवाफ थियो– यो तपाईलाई होइन ब्रदर! अर्कै प्रसंगमा लेखिएको हो।

मलाई विश्वास लागेन। हिजो भर्खर तितोमिठो कुरामा निचोरिएर मैले पनि बोलेकै हुँ। यसैको रोष पो पोख्या हो कि! भन्ने लाग्यो र अझ र्याख र्याख पारें।

निक्कैपछि उनले भने– ह्या! कस्तो मान्छे तपाईलाई किन लेख्नु ब्रदर! एकाध धमिरा छन् वाईसीएलमा तिनलाई हो।

‘को हो त त्यो पात्र?’

प्रकाशको जवाफ थियो– दिपशिखालाई लेख्या हो क्या!

दिपशिखासँग मेरो कुनै चिनजान थिएन। त्यसैले मेरो सन्दर्भ र सरोकारका अलिक गहिरा प्रश्न हुने नै भएनन्। मैले यो पनि सोधिन कि– दिपशिखाले के गरेका थिए? किन प्रकाशले लेखे? त्यो प्रकाशसँगै रहस्यमा नै रह्यो मेरा लागि।

दिपशिखा भनेका रामप्रसाद सापकोटा रहेछन्। अलिक उदण्ड शैली र भाषामा कुराकानी गर्ने। पछि बुझ्दै जाँदा पदका लागि मरिहत्ते गर्ने तर काममा माखो नमार्ने भनेर व्याख्या गर्दा रहेछन् संगठनभित्र।

पछि–पछि घटनाक्रमले देखायो– प्रकाशले नराम्रो मानेर के गर्नु अरुले चेपेपछि। आखिर आजको दिनमा विमानस्थलमा परेड खेल्ने शैलीमा पुग्ने पनि दिपशिखा! पार्टी एकीकरणमा युवाको नेतृत्व पाउने पनि दिपशिखा! सोच्दछु– प्रकाश नमरी गएको भए कहाँ हुन्थे होला ऊनी?

(नेपथ्यको यो प्रबन्ध क्रमशः प्रत्येक साता प्रकाशित हुनेछ– सम्पादक)


  • 96
    Shares