आततायी प्रहरी जवान– किशोरीको बलात्कार गरे, बेहोस् भएपछि कोदोबारीमा फ्याँकिदिए!

डोटी– डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवान सुशील सिंहले एसईईको तयारी गरिरहेकी एक १५ बर्षिया किशोरीको बलात्कारसँगै असफल हत्या प्रयास गरेको रहस्य खुलेको छ।

अस्थायी प्रहरी पोस्टमा कार्यरत सिंहले बलात्कारपछि घाँटी थिचेर कोदोबारीमा फालेका थिए। किशोरीको मानसिक अवस्था विक्षिप्त बनेको छ। उनी डिप्रेशनमा पुगेकी छन्। प्रहरी देख्नासाथ तर्सिने गरेकी उनका बुवाले बताएका छन्।

१३ कात्तिक राती ११ बजे किशोरीको सुत्ने कोठामा छिरेर सिंहले बलात्कारसँगै हत्या प्रयास गरेको पीडितको आरोप छ।

२४ वर्षीय प्रहरी सिंहले निदाएकी किशोरीलाई ब्युँझाएर मुख थुनेर बलात्कार गरे। अपराध लुकाउन ज्यान लिने सोच बनाई सलले घाँटी कसे, हातले थिचेर मरेको ठानी नजिकैको कोदोबारीमा फालेको पीडित पक्षको आरोप छ।

पीडित किशोरीलाई गडसेरा स्वास्थ्यचौकी, जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा देखाएपछि सेती प्रादेशिक अस्पतालमा अभिभावकले पुराएका थिए।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दर्ता गराएका छन् । बलात्कार तथा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ।