भारतीय सहयोगमा निर्मित भिमसेन आदर्श विद्यालयको भवन उद्घाटन

काठमाडौं– भारत सरकारको सहयोगमा नवलपुरमा भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको भवन निर्माण भएको छ ।

साढे दुई करोड लागतमा बनेको भवनकोे काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधि, विद्यार्थी एवम् विद्यालय परिवारले सोमबार भिडियो कन्फरेन्समार्फत भवन उद्घाटन गरेका हुन् ।

नवलपुर जिल्लाको देवचुली–७ मा अवस्थित विद्यालयको स्थापना सन्१९६९ मा भएको थियो। विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ५५ प्रतिशत भन्दा बढी छात्रा छन्। भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइ सुविधा रहेका काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

साविकको साना विकास परियोजना र हाल उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको अर्को एउटा उदाहरण रहेको विज्ञप्तिमा उल्लेख छ।