शाहरुख यसरी बने रोमान्स किङ

मुम्बई(एजेन्सी)– वैवाहिक जोडी भगवानले नै जुराउछन् भन्ने मान्यता छ । तर फिल्मको जोडी भने बक्सअफिसले निर्धारण गर्छ । हरेक शुक्रबार बलिउडको जोडीमाथि निर्माताले दाउ लगाउँछन् । जोडी यदि अनस्क्रिन जमे भने सम्झिनुहोस् फिल्मले सय करोडको उकालो चढ्छ । बलिउडमा शाहरुख खान एउटा यस्ता स्टार हुन्, जोसँग जोकसैको जोडी सुपरहिट छ । शाहरुखको रोमान्टिक शैली नै त्यस्तै छ । यिनै शाहरुखले आज आफ्नो जन्मदिन मनाउदैछन् । शाहरुख बलिउडको रोमान्स किङ कसरी बने त ? थाहा पाउँ केही कुराः–.

शाहरुख खान र काजोलको जोडी पर्दामा हेर्नका लागि आज पनि फ्यानहरु ब्यग्र प्रतिक्षामै हुन्छन् । ‘कुछ कुछ होता है’ र ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ जस्ता फिल्ममा सहकार्य गरेपछि यो जोडी सदाबहार बने । आज पनि यो जोडी कुनै फिल्ममा रोमान्टिक बने भने उनीहरुलाई हेर्न दर्शकको भीड नै लाग्ने गर्दछ ।

शाहरुख खान र माधुरी दिक्षित बलिउडको हिट जोडीमध्ये एक हो । पर्दामा उनीहरुको केमेष्ट्रीलाई दर्शकले खुबै मनपराउछन् । यतीमात्र होइन, आज पनि दुवै स्टारा एक स्टेजमा पुग्दा सबैको श्वास एकपटक रोकिन्छ । यस्ता कैयौं अवसर छन्, जहाँ एकै स्टेजमा यी दुई स्टारले सँगै नाँचेका छन् ।

शाहरुख खान र जूही चावलाले एकसाथ कैयौं फिल्ममा सहकार्य गरेका छन् । दुवैले ‘राजू बन गया जेन्टलमेन’, ‘डर’, ‘राम जाने’, ‘यस बोस’ र ‘डुप्लिकेट’ जस्ता हिट फिल्म दिएका छन् । यो जोडीले दर्शकसँगै समीक्षकबाट पनि प्रशंसा पाएका छन् ।

बलिउडमा यस्ता केही जोडी छन्, जसलाई पर्दामा हेर्न दर्शक खुबै रुचाउछन् । त्यसमा एक जोडी शाहरुख र दीपिका पादुकोणको पनि हो । हालसम्म यो जोडीले तीन फिल्ममा सहकार्य गरिसकेका छन् र तीन वटै फिल्म दर्शकले मन पनि पराए । दीपिकाले ‘ओम शान्ति ओम’बाट शाहरुखको अपोजिटमा अभिनय गरेर बलिउडमा धमाकेदार डेब्यू गरेकी थिइन् । यो फिल्म पछि दीपिकाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

शाहरुख खान र रानी मुखर्जीको जोडी फिल्म ‘कुछ कुछ होता हे’बाट रुचाइएको जोडी हुन् । यो जोडीले बलिउडमा एकसे एक हिट फिल्म दिएका छन् । यिनीहरु मिल्ने साथी पनि हुन् ।