के प्रचण्ड पुत्रीहरू ‘रअ’ प्रमुख भेटेर फर्किए?

  •  
  •  
  •  
  •  
  • 42
  •  
    42
    Shares

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी विभाजनोन्मुख भएको विषय सतहमा आइरहँदा त्यस मध्येको एउटा कारण बताइएको छ– फेरि प्रधानमन्त्रीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मिडियाहरूले चलाएको यो दाबीसहित प्रचण्ड पुत्रीहरू भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र स्वकीय सचिवसमेत रहेकी कान्छी छोरी गंगा दाहालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का प्रमुख सामन्त गोयललाई भेट गरी फर्किएको पनि जनाइएको छ।

त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग संवाद गरेको र प्रधानमन्त्रीमा दाबी गरेको बताइन्छ ।

तर खुमलटार वा अन्य विविध उच्च स्रोतले यस विषयको स्वतन्त्र पुष्टिचाहिँ गरेका छैनन्। यद्यपि, खुमलटार स्रोतले प्रचण्डले प्रधानमन्त्री पद चाहियो भनी कुनै प्रस्ताव नगरेको पनि जनाएको छ। हालसम्म प्रचण्ड सचिवालयले यी चर्चाको खण्डन नगर्नु या विवरणका विषयमा कुनै प्रतिक्रिया नजनाउनुलाई शंकास्पद मान्न सकिने कतिपयको भनाई छ ।

‘गोयल काठमाडौं आएर प्रधानमन्त्री ओलीलाई भेटेको विषयलाई काउन्टर दिनका लागि यस्तो चर्चा चलाइएको हुन सक्छ। फेरि दिल्लीले प्रचण्डलाई त्यस्तो प्रकारको लिगेसीअनुसार छोरीहरूलाई भेट दिएको हुन पनि सक्छ’, उच्च स्रोतले भन्यो,‘यस विषयमा विस्तृत र पूर्ण जानकारी खुलाइएको छैन।’

यी हल्ला एकातिर चलिरहेका बेला पार्टी विभाजनको गम्भिर मोडमा रहेको भन्ने विविध प्रकारका विवरणचाहिँ आधिकारिक तहबाट नै आइरहेका छन्। प्रचण्डले खुमलटारमा सचिवालयका ६ जना नेतालाई बोलाएर प्रधानमन्त्री ओलीले पार्टी अलग गरी जानेसम्मको प्रस्ताव गरेको बताएका थिए।

‘यो विषय पनि प्रचण्डले सुनाएको एकपक्षीय धारणाका रुपमा बुझेका छौं। धेरै कुरा गोलमोटल रुपमा आइरहेका छन्। यी सबै विषयलाई टुंगो लगाउनका निम्ति बैठक र छलफल हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’, नेकपाका एक नेता भन्छन्,‘आ–आफ्ना हिसाबले प्रचारबाजी गरिन थालेका छन्। पार्टीमा समस्या छ तर कस–कसले कसलाई भेटेर के खेल खेलियो भन्ने विषयको तथ्यबारे कोही बोल्न चाहेका छैनन्।’

प्रचण्डले प्रधानमन्त्री ओलीलाई पदच्युत गर्नका निम्ति पार्टी विभाजनसम्म हुन सक्ने र आगामी प्रधानमन्त्रीका रुपमा नेता माधवकुमार नेपाललाई अगाडि बढाउनुपर्ने धारणा राख्दै सहयोगका लागि सचिवालय र स्थायी समितिका सदस्यसँग आन्तरिक अपिल गरेको बताइन्छ।

कतिपय राजनीतिक विश्लेषकले नेकपाभित्रको अहिलेको विवादमा दिल्ली हावी भएको बताएका छन्। यस्ता अनेक विवाद चलिरहँदा चीनको चासोका कारण यसअघि टुटफुटबाट जोगिएको नेकपा पछिल्लो पटक चर्किनुमा रअ प्रमुखको बालुवाटार भेट रहेको पनि बताइन्छ।

‘कसले कसलाई के भनेर पठायो भन्ने विषय नै गौण राखिएको छ । यसका बाछिटामात्र देखिएका छन्, हिजो प्रधानमन्त्री ओलीले भारतले हटाउन खोज्यो भन्दा प्रचण्डले भारतले होइन मैले राजीनामा मागेको भनेका थिए’, विश्लेषकहरू भन्छन्,‘आज रअ प्रमुख बालुवाटार छिर्छन् फेरि प्रचण्डका छोरीहरू गोप्य रुपमा दिल्ली पुगेर फर्किएको चर्चा पनि चल्छ।’

नेकपाका दोस्रो र तेस्रो तहका नेताले भने यी सबै विवादलाई समाधानका निम्ति छलफल र बैठक राख्नुपर्ने माग गर्न थालेका छन्।


  •  
  •  
  •  
  •  
  • 42
  •  
    42
    Shares