प्रहरीमा राजनीति: नेतृत्वको आँखामा कसिंगर बनाइएका राम्रा अधिकृतले के–के भोग्नुपर्छ?

  • 24
    Shares

नेपाल प्रहरीको एउटा बिशेषता छ। नेपाल प्रहरीको आफ्नो कुनै संस्थागत दर्शन छैन।

नेपालका प्रचलित संबिधान( २०१९, २०४७, अन्तरिम संबिधान र नेपालको संबिधान २०७२)ले गरेको दिशानिर्देश बमोजिम बनेका कानून पालना गराउने, समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध रोकथाम, नियन्त्रण र अनुसन्धान गर्ने, कानूनी राज्य एवम न्यायीक सर्वोच्चता कायम गराउने, समाजमा कायम मत्स्य न्यायलाई दुरुत्साहन गर्ने, आम नागरिकमा सुरक्षाको अनुभूति गराउने लगायतका महत्वपूर्र्ण जिम्मेवारी निर्वाह गर्नु पर्ने दायीत्व र ति दायित्व निर्वाह गर्दा अबलम्बन गर्ने सैद्धान्तिक मार्गको रुपमा लिइएको ‘सत्य सेवा सुरक्षणम’ लाई अक्षरसः पालना गर्नुपर्ने सांगठनिक प्रतिबद्धता बमोजिम आफ्ना क्रियाकलापहरूलाई व्यवस्थित गर्नु नै नेपाल प्रहरीको एक मात्र संस्थागत दर्शन हो भन्दा अत्युक्ति नहोला। यहि दर्शनलाई थप सरल र सहज रुपमा आम जनताले बुझुन् भनेर प्रहरीले अबलम्बन गर्ने गरेका ‘शुन्य सहनशिलता, प्रहरी मेरो साथी, समुदाय–प्रहरी साझेदारी, सामुदायीक प्रहरी, नागरिक मैत्री प्रहरी, नागरिक सेवा कक्ष, नागरीक वडापत्र, प्रहरी घरदैलो अभियान, महिला तथा बालबालिका मैत्री प्रहरी सेवा, पिटुएचटु अर्थात् पुलिस पब्लिक ह्यान्ड इन ह्यान्ड आदि धेरै नाराहरू समेत प्रहरीले बेला बेलामा दिने गरेको छ।

बास्तबमा प्रहरीले हरेक राजनीतिक परिवर्तन पश्चात आफूलाई जन अपेक्षा अनुकुलको बनाउने प्रयास गरेको देखिन्छ अझ भनौं देखाइन्छ। नेपाल प्रहरीले जनता माझ पस्केका यी सबै नाराहरूलाई हृदयदेखि नै लागु गरेको अबस्थामा नेपाल प्रहरी नेपालको सबै भन्दा जनप्रिय संगठन बन्न असम्भव छैन।

नेपाल प्रहरीका कार्यक्षेत्रमा खटिएका हरेक प्रहरीलाई यी प्रतिबद्धताको बारेमा जानकारी छ। तर पनि किन बेला–बेलामा प्रहरी किन बिबादित हुन्छ? नेपाल प्रहरी किन आफ्ना क्रियकलापहरूका कारण बिबादित र आलोचित बन्छ? समाजबाट दण्डहीनता हटाउने दायित्व बोकेको प्रहरी किन बेलाबखतमा बाटो बिराउँछ? यसको उत्तर खोज्नु अत्यावश्यक छ।

यी प्रश्नको उत्तर खोज्ने नै हो भने प्रहरी नेतृत्वको चिरफार गर्नु आवश्यक छ। प्रहरी नेतृत्व भन्नाले केन्द्रमा प्रहरी महानिरीक्षक (आईजी)को नेतृत्व हुन्छ भने प्रदेशमा प्रहरी नायव महानिरीक्षकको नेतृत्व हुन्छ, जिल्लामा प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकको नेतृत्व हुन्छ, इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको नेतृत्व हुन्छ भने चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्व हुन्छ।

प्रहरीको नेतृत्वलाई किन चिरफार गर्नुपर्छ भन्ने कुरा बुझ्नलाई एउटा उदाहरण पस्किन चाहन्छु। नेपाल प्रहरीले १० बर्षे जनयुद्धको डटेर सामना गर्यो । सो जनयुद्धका बेला घर बसिरहेकादेखि ड्युटीमा खटिएका प्रहरीले समेत प्राण उत्सर्ग गरेको यथार्थ नेपाली जनलाई थाहै छ। तर पनि कैलालीको टिकापुरमा भएको प्रहरी बरिष्ठ उपरीक्षकलगायत धेरै प्रहरीको ज्यान गएको घटनालाई म उदाहरणको रुपमा पस्किन चाहन्छु।

मधेस आन्दोलनको बेला टिकापुरमा थप मद्दत टोली पठाउनुपर्ने महसुस गरेर थप मद्द लिएर जान तत्कालिन अञ्चल प्रमुखलाई आदेश दिइयो। प्रथम श्रेणी दर्जाको अधिकृतलाई थप मद्दत पठाउने निर्णय हचुवाको भरमा गर्न सकिदैन। प्रहरी महानिरीक्षकको जानकारी बिना यो निर्णय हुनै सक्दैन। प्रहरी अपरेशन प्रमुखलाई नाघेर त्यो निर्णय र आदेश जारी हुनै सक्दैन। त्यो समयका क्षेत्रीय प्रहरी प्रमुखको जानकारि बिना पनि यो सम्भव छैन। प्रहरी परिचालन बिधि अनुसार थप पद्दत भनेको जटिल परिस्थितिलाई थप जटिल हुन नदिन थप तयारीका साथ सुदृढ प्रहरी परिचालनको अबस्था हो। थप मद्दत जाने टोली किन सुदृढ भएर गएन? अञ्चल प्रहरी प्रमुख नै थप मद्दत खटेको अबस्थामा जिल्लामा रहेका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक मध्ये कोही एक त्यहाँ किन गएनन्?

मधेश आन्दोलनको समयमा जताततै भिडन्त भइरहेको त्यो परिस्थितिमा पर्याप्त जनशक्ति र फायर पावरका साथ प्रहरीको थप मद्दत किन गएन? प्रहरीको माथिल्लो नेतृत्वले त्यो बिषयलाई किन नजरअन्दाज गर्यो? प्रहरी बरिष्ठ उपरीक्षक जस्तो अधिकृत जसको मातहतमा प्रहरीको सशस्त्र गुल्म नै हुन्छ, थप मद्दत जाँदा पर्याप्त जनशक्ति आवश्यक असबाबका साथ किन गएन या किन पठाइएन? बिना हतियार जानुमा कसको दोष थियो? बिना हतियार थप मद्दत टोली गएको कुरा प्रहरीको क्षेत्रीय प्रमुख, प्रहरी परिचालन प्रमुख र प्रहरी महानिरीक्षकलाई जाहेर थियो थिएन? स्यालको शिकार गर्न जाँदा बाघको शिकारको तयारि गरेर जानु भन्ने फौजि उक्ति पक्कै पनि प्रहरी महानिरीक्षक दर्जासम्म पुगेका अधिकृतहरूलाई जानकारि हुनै पर्छ तर प्रहरी नेतृत्वले कमजोर रुपमा गएको थप मद्दतलाई बलियो बनाउने कुरा किन सोचेन?

नेपाल प्रहरीमा कामै गरेर मात्र कसैको वृत्ति विकास हुँदैन बरु काम नगर्नेको वृत्ति बिकास सहज छ। काम गर्ने मानिसले काम गर्छ, गरिरहन्छ। उसले अनेक खतरनाक अवसरमा काम गरेर संगठनको साख जोगाएको हुन्छ। जति काम गर्यो त्यति उ सबैको निशानामा पर्छ। किनकी उसको कामको मुल्याङ्कन सहि र पारदर्शी तवरले हुने हो भने नेतृत्वले रुचाएको अधिकृत कौडीको भाउमा पनि बिक्दैन, अनि काम गर्ने अधिकृत विचरा मेरो मुल्याङ्कन नेतृत्वले गरिहाल्छ नि किनकी मैले यत्रो काम गरेको छु भनेर काम गरिरहन्छ। काम गर्दा गर्दै उसलाई हाकिमलाई खुशी बनाउन के गर्नुपर्छ भन्ने कुराको ख्याल नै आउँदैन

सामान्य गस्ती निस्कँदा समेत लाठी, हत्कडी, सञ्चार साधन, जनशक्ति, आवश्यक हतियार, गोलिगठ्ठा जानुपर्ने र गस्ती जानुअघि सबै कर्मचारीलाई ब्रिफिङ गर्नुपर्ने स्थायी आदेश नै भएको नेपाल प्रहरीका यी दिवंगत प्रहरी अधिकृत र जवान मूर्ख त पक्कै थिएनन् होला। किन र के कारणले यो दुर्दान्त घटना भयो? क–कसको कमजोरी, लापरवाही र हेल्चेक्राईका कारण यो घटना भयो? छानबिन पश्चात दोषी पत्ता लगाइयो लगाइएन? दोषी ठहरिएकालाई कारबाही भयो भएन?  यी र यस्तै अनेक अनुत्तरित प्रश्नहरू धेरै छन् जसले प्रहरीको नेतृत्वको चिरफार गर्छ।

यो एउटा घटना जसमा प्रहरीको नोक्सानी भयो, प्रहरीको मनोबलको धज्जी उड्यो, प्रहरी नेतृत्वको लाज उदाङ्गो भयो तर यसको जिम्मेवारी कसले लियो त? यो घटनाले के भन्छ भने नेपाल प्रहरी आफैं कमजोर छैन तर अदुरदर्शी नेतृत्वका कारण मात्र नेपाल प्रहरीको साख समयसमयमा गिरेको देखिन्छ। तलका साना नेतृत्वलाई दोष थोपरेर माथि नेतृत्वमा बस्नेहरू ओभानो बन्ने प्रचलन नेपाल प्रहरीमा मौलाएको देखिन्छ।

नेतृत्वको प्रिय पात्रको रुपमा रहेको अधिकृत रहेछन् भने तथ्यलाई तोडमरोड गरेर भए पनि उसलाई जोगाउने र नेतृत्वको आँखाको कसिंगर बनेका अधिकृत परे भने छानबिनको बहानामा उसलाई समाप्त पारिदिने प्रवृत्ति मौलाएको छ नेपाल प्रहरीमा। त्यहि प्रवृत्तिको शिकार भए हिजो रत्न शमसेर, द्वारिकाबहादुर श्रेष्ठ, गगन चन्द ठाकुर, हाङसिंह चेम्जोङ्ग(तोम प्रसाद विमलीको कारण बिगारिएका थिए हाङसिंह चेम्जोङ्ग), राजेन्द्रबहादुर सिंह, बसन्तराज कुँवर, कल्याण तिम्सिना, किरण गौतम, श्रीबत्स अधिकारी, नवराज सिलवाल, यादव खनाल, मिलन बस्नेत, दिपक थापा, रुगम कुँवर, दिवेश लोहनी, अंगुर जिसी, कुमुद ढुङ्गेल, दिपेन्द्र अधिकारी, सञ्जय तिमिल्सिना, अमरेन्द्र सिंह, राजकुमार सिलवाल, सुरेश काफ्ले, ऋषि कणेलहरू।

यी त सार्वजनिक भएका नामहरू हुन्, नदिखिएका अन्य धेरै नामहरू होलान जो पलायन गराइए या पलायन हुन बाध्य बनाइए।

नेपाल प्रहरीमा कामै गरेर मात्र कसैको वृत्ति विकास हुँदैन बरु काम नगर्नेको वृत्ति बिकास सहज छ। काम गर्ने मानिसले काम गर्छ, गरिरहन्छ। उसले अनेक खतरनाक अवसरमा काम गरेर संगठनको साख जोगाएको हुन्छ। जति काम गर्यो त्यति उ सबैको निशानामा पर्छ। किनकी उसको कामको मुल्याङ्कन सहि र पारदर्शी तवरले हुने हो भने नेतृत्वले रुचाएको अधिकृत कौडीको भाउमा पनि बिक्दैन, अनि काम गर्ने अधिकृत विचरा मेरो मुल्याङ्कन नेतृत्वले गरिहाल्छ नि किनकी मैले यत्रो काम गरेको छु भनेर काम गरिरहन्छ। काम गर्दा गर्दै उसलाई हाकिमलाई खुशी बनाउन के गर्नुपर्छ भन्ने कुराको ख्याल नै आउँदैन। अनि उसले काम गर्दै गर्दा कुनै गल्ती भयो भने त्यो एउटा गल्ती उसको लागि अभिसाप बन्छ। प्रहरी नेतृत्व चाकरि चाहन्छ तर काम गर्ने अधिकृत चाकरि गर्दैन। जो सक्षम छ उसले किन चाकरी गर्ने भनेर सोच्छ काम गर्ने अधिकृत। तर मुल्याङ्कनको आधार काम मात्रै कहिल्यै हुनसकेको छैन। प्रहरी नेतृत्व आफू चर्चामा आउन जे पनि गर्छन्, शक्तिको नजिक बसिरहनको लागि संगठनका आधारभूत मुल्यमान्यतालाई बिसर्जन गरिदिन्छन्।

प्रहरीका हरेक नेतृत्वले चर्चामा रहनको लागि र भावी नेतृत्वमा पुग्नका लागि गर्नुपर्ने सम्झौता गर्न तयार हुन्छन्। प्रहरीमा कानून बमोजिम चल्ने, कानूनका हरेक व्यवस्थालाई अक्षरशः पालना गरेर आफ्नो कर्तव्य पूरा गर्न खोज्ने अधिकृतहरूलाई पन्छाएर जहिले पनि नेतृत्वमा पुग्नको लागि सम्झौता गर्न कुनै हिचकिचाहट नगर्ने अधिकृतहरू मात्रै नेतृत्वमा पुगेका छन्। यदि प्रहरीको उपल्लो नेतृत्व मात्रै स्वार्थरहित भयो, आग्रह पूर्वाग्रहबाट मुक्त भयो, आफ्नो पद र सुविधालाई कायम राख्न आफ्ना अधिकृतहरूलाई पीडित बनाउने कार्य गर्न बन्द गर्यो मात्र  भने नेपाली समाजको रुपान्तरणको लागि नेपाल प्रहरी मात्रै पनि काफि छ।

नेपाल प्रहरीलाई गहिरिएर अध्ययन गर्ने हो भने प्रहरी व्यवस्थालाई राजनीतिक प्रभावका हिसाबले पाँच चरणमा बाँडेर हेर्नुपर्ने हुन्छ। पहिलो चरणमा प्रहरीले पञ्चायतको प्रभावमा रहेर पार गर्यो, दोस्रो चरण २०४६ सालको आन्दोलन पश्चातको प्रजातान्त्रिक माहोलको प्रभावमा रहेर पार गर्यो, तेस्रो चरण जनयुद्धको १० बर्षे प्रभावको सेरोफेरोमा पार गर्यो, चौथो चरण शान्ति सम्झौतादेखि संविधान जारी हुँदासम्मको संक्रमणकालीन अवधिको प्रभावमा पार गर्यो भने त्यसपछिको पाँचौं चरण प्रहरी राजनीतिका अनेक उलटपुलटको प्रत्यक्ष प्रभावमा रहेर पार गर्यो।

पञ्चायतको समयमा प्रहरी शक्तिको रुपमा थियो, समाजमा प्रहरीको उपस्थितिलाई राज्यको सबल उपस्थितिको रुपमा हेरिन्थ्यो। प्रहरीको नेतृत्वले दरवार र पञ्चायती ब्यबस्थामा हालिमुहाली गर्नेको प्रत्यक्ष निगरानी र विश्वासमा बसेर काम गर्नुपथ्र्याे। यो बेलामा प्रहरीको प्रमुख काम अपराध रोकथाम, अनुसन्धान भन्दा पनि पञ्चायती शासन ब्यबस्थालाई टिकाइरहने प्रमुख कडीको रुपमा समाजलाई निगरानी गरिराख्नु थियो। नेपाली समाज जटिल बनिसकेको थिएन, नेपाली समाज धार्मिक सहिष्णुता, सामाजिक सद्भावमा बिश्वास गर्दैथियो, जातिय बिभेद र बिभिन्न जात, धर्म, पेशाका बिचमा कुनै ठूलो बिभेद थिएन।

पञ्चायतले आफ्नो ठूलो शत्रुको रुपमा हेर्ने गरेको त्यतिबेलाका (प्रतिबन्धित) नेपाली काङ्ग्रेस र कम्युनिष्ट सिद्धान्तका पक्षपाती राजनीतिक चेतना भएका समूहहरूलाई निश्तेज गराउन राज्यले प्रयोग गर्ने प्रमुख शक्तिको रुपमा थीयो नेपाल प्रहरी। त्यसैले २०४६ सालको परिवर्तन पश्चात प्रहरीले आफू परिवर्तन भएको देखाउन प्रहरीको पोशाकमा परिवर्तन गर्यो । प्रहरी ब्यबहारमा कुनै परिवर्तन आएन किनकि प्रहरीको नेतृत्व बास्तबमै परिवर्तन भएको थिएन उनीहरू त केबल परिवर्तन भएको नक्कलि भ्रम छर्नमै ब्यस्त थिए।

(क्रमशः अर्को अंकमा)


  • 24
    Shares