वृद्धवृद्धामाझ स्कार्लेटको गुपचुप तेस्रो विवाह

  • 3
    Shares

न्यूयोर्क(एजेन्सी)– हलिउड अभिनेत्री स्कार्लेट जोहान्सनले जीवनको तेस्रो विवाह गरेकी छन् । उनले आफ्ना प्रेमी कोलिन जोस्टसँग गुपचुप रुपमा विवाह गरेकी हुन् । वृद्धवृद्धाका लागि अमेरिकामा खोलिएको च्यारिटेबल संस्था मिल्स अन ह्विल्सले गत साता उनीहरुको विवाह भएको पुष्टि गरेको छ ।

संस्थाका अनुसार जोडीले कोभिड–१९ को महामारीका कारण एकदमै साधारण रुपमा विवाह गरेका छन् । जोडीले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै परिवार, नजिकका आफन्त र केही सीमित नजिकका साथीभाइको उपस्थितिमा गुपचुप विवाह गरेका थिए । ‘यो कठिन अवस्थामा कमजोर उमेरका वृद्धवृद्धामाझ भिन्न किसिमले विवाह गर्ने उनीहरुको इच्छा अनुरुप यो शुभकार्य भएको हो’ संस्थाको इन्स्टाग्राम र ट्वीटर एकाउन्टमा उल्लेख छ । यो पोस्टमा पानीजहाजको तस्बिर पनि राखिएको छ, जसमा ‘जस्ट मेरिड’ लेखिएको छ । जोहान्सनका प्रतिनिधिले उनीहरुको विवाहको पुष्टि गरेका छन् ।

जोडीले न्यूयोर्कको पालिसेड्समा विवाह गरेका थिए । लेखक तथा कमेडियन रहेका जोस्टसँग जोहान्सनले सन् २०१७ को स्केच शो ‘सेटरडे नाइट लाइभ’ पछि डेट शुरु गरेकी थिइन् । यो शोमा जोहान्सन अतिथीका रुपमा पुगेकी थिइन् । जोस्टका अनुसार यो जोडीको भेट सन् २००६ मै भएको थियो । यो जोडीले सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए । ३५ वर्षीया जोहान्सन विश्वकै सबैभन्दा महंगी अभिनेत्रीमा पर्छिन् । उनले मार्बल सिनेमाटिक युनिभर्सको फिल्म ‘ब्ल्याक विडो’बाट पछिल्लो पटक अत्याधिक चर्चा पाएकी थिइन् ।

यसअघि जोहान्सनले सन् २००८ मा आफ्ना क्यानाडेली प्रेमी रायन रेनल्ड्जसँग विवाह गरेकी थिइन् । यो विवाह केवल तीन वर्षसम्म मात्र चल्यो । त्यसपछि उनीहरु सन् २०११ मा अलग्गिए । त्यसपछि सन् २०१४ मा स्कारलेटको जीवनमा रोमेन डाउरियाक आए । उनीहरुको विवाह पनि तीन वर्षमात्र चल्यो । यो अवधिमा उनीहरुले एक सन्तानलाई जन्म दिए ।


  • 3
    Shares