खुमलटार कर्नरमा ओली गुटको दौडधुप, के छ प्रचण्ड तयारी?

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– नेकपा स्थायी समिति सदस्य एवम् परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार निवासमा भेट गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको चर्चा चलेपछि ज्ञवाली खुमलटार पुगेका थिए। उनले दुई अध्यक्षबीचको संवादका लागि ओलीले पठाएको बालुवाटारको निम्तो दिएको बताइन्छ।

विहीबार स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटारमा यस्तै निम्तो लिएर पुगेका थिए। प्रचण्ड संवादका लागि तयार छैनन्। पार्टीका कतिपय गतिविधिदेखि सरकारका काममा सामान्य सल्लाह समेत नगर्ने प्रधानमन्त्री ओलीको शैलीका कारण आफू आजित भएको टिप्पणीसहितको राय दिन्छन्, प्रचण्ड।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि अध्यक्षबीचको संवादहिनता तोडाउनका निम्ति खुमलटार कर्नरमा पुगेका थिए । प्रचण्डको जवाफ उही आयो।

मन्त्रीमण्डल पुनर्गठन, कर्णाली प्रदेशको विवाद र पर्सामा प्रचण्डपक्षीय स्थानीय नेताको हत्याका कारण नेकपाभित्रको विवाद चर्किएको छ। दुई अध्यक्षबीचको सहमतिका आधारमा नै पार्टीका बैठक र सरकारका नियुक्तिका विषयमा अघि बढ्ने सहमतिका आधारमा अघिल्लो पटकको विवाद समाधान भएको थियो । तर ओली एक्लैले निर्णय गरी अघि बढेका पछिल्ला परिघटनासँग प्रचण्डको रोष छ।

ओलीले फेरि पनि आफूमात्र नेकपाको अध्यक्ष भएको र निर्णयमा हालीमुहाली गरेको गुनासो प्रचण्डले ओली गुटका तीनै नेतालाई सुनाएको बताइन्छ। यद्यपि, ठोस कुराकानी के भयो र नेकपाको आगामी विवाद समाधानका निम्ति कस्तो वार्ता र सन्देश थिए भन्नेमा कसैले खुलाएका छैनन्।

यता खुमलटारले सतहमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अन्य नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग सहमति भइसकेको हल्ला चलाएको छ।

प्रचण्ड सरकार गिराएरै अघि बढ्ने तयारीमा छन् त ?

खुमलटारस्थित स्रोतले भन्यो,‘त्यस विषयमा अहिलेसम्म कुनै सल्लाह भएको छैन। तर प्रधानमन्त्री ओलीले यसअघि भएका सहमतिलाई तोड्दै मनोपोली गरेको विषयचाहिँ पार्टीमा उठ्नुपर्छ भन्ने सल्लाह भएको हो।’

अध्यक्षबीच एक प्रकारको समझदारी गर्ने र सो समझदारीको उल्लंघन बालुवाटारबाट भइरहेकोप्रति प्रचण्ड खुशी छैनन्। अझ आन्तरिक राजनीतिमा पहिला भारतले पार्टी विभाजन गर्न खोजेको भनी सार्वजनिक अभिव्यक्ति दिने र पार्टी अध्यक्षलाई जानकारी नदिई नै भारतीय गुप्तचर प्रमुखसँग बालुवाटारमा भेट गर्ने विषयले प्रचण्डको मन कुँडिएको बताइन्छ।

पार्टीभित्र ठूलो अन्तरविरोध हुँदा प्रचण्डलगायतका नेता भारतसँग मिलेर सरकार गिराउन खोजेको भन्ने ओलीको अभिव्यक्ति थियो। त्यसबेला बसेको स्थायी समितिको बैठकमा प्रचण्डले ‘भारतले होइन, तपाई राजीनामा दिनुस् मैले मागेको’ भनेका थिए। तर अहिले भारतसँगको सम्बन्ध र रणनीतिक विषयमा पार्टीलाई नै बेखबर राखी ओली एकाङ्की हिसाबले चलेका कारण खुमलटार रुष्ट बनेको नेताहरू बताउँछन्।

तर कोरोना भाइरस संक्रमण भएका नेता जनार्दन शर्मासँग कन्ट्याक्ट ट्रेसिङमा रहेका कारण प्रचण्ड बालुवाटार नगएको बताइन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •