प्रविधि दुरुपयोगबारे सचेत रहन ब्यूरोको आग्रह

काठमाडौ – नेपाल प्रहरीको साइबर ब्यूरोले अज्ञातस्थानबाट आएका फोन वा मेसेन्जरमा आएका म्यासेजबारे सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी  प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालद्वारा हस्ताक्षरित सूचनामा पछिल्ला दिनहरुमा विभिन्न समयमा व्यक्तिहरूको ल्याण्डलाईन, मोबाईल फोन नम्बरहरुमा, अननोन, प्राइभेट वा नदेखिने नम्बर तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर ‘म साईबर क्राईम डिपार्टमेन्टु बाट बोलेको हो, तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भै रहेको छ, हामीले एक पटकको लागि त्यसो हुन बाट रोकिदिएका छौं, तर भेरिफिकेसनका लागि  तपाइले आफ्नो न्यूड फोटो, भिडियो पठाउनु होस भनेर ई-मेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने तत्पश्चात् उक्त ई-मेल, फेसबुकको आई डी, मेसेन्जर डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजुरीहरु प्राप्त भईरहेको बताएका छन् ।

यस किसिमको सूचना एवं उजुरी पछि प्रहरीले गैर कानुनी एवं सर्वसाधारणलाई झुक्याउने क्रियाकलाबाट सचेत रहन सबैलाई अनुरोध गरिएको समेत अर्यालले जनाएका छन् ।

ब्यूरोले सो सम्बन्धमा प्रविधिको दुरुपयोग गरी गरिएका गैर जिम्मेवारी तथा ऐन कानुन विपरीत कार्य प्रति सजग भई, त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलापहरू बाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनैपनि विवरणहरू उपलब्ध नगराउन साथै त्यस्ता कार्यहरू भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।