नेपाल प्रहरीभित्र शुन्य सहनशीलता: हिजो र आजका ‘यस म्यान’हरूले के गरे ?

  • 22
    Shares

नेपाल प्रहरीले समाज र राष्ट्रको लागि जति गरेको छ त्यति अरु कुनै संगठनले गरेका छन् भन्न सकिँदैन। नेपाल प्रहरी जुनकिरी हो नेपाली समाजको लागि। नेपालमा सूर्य जस्तो झलझलाउँदो सेना छ, सशस्त्र प्रहरी बल छ, आगो जस्तो रापिलो निजामति सेवा छ तर जहिल्यै पनि जुनकिरी जस्तो नेपाल प्रहरी नै काम लाग्छ। अनेक अप्ठ्याराहरूका बाबजुद, आफ्नै संगठनभित्र विद्यमान विभेद र असमानताका बाबजुद, अवसरहरूको असमान वितरणका बाबजुद, नेतृत्वको आग्रह र पूर्वाग्रहका बाबजुद नेपाल प्रहरीका तल्लो दर्जाका कर्मचारीहरूले ज्यानको बाजी लगाउनु पर्दा कहिल्यै सोचेनन्। हातहतियारले सुसज्जित सेना ब्यारेकमा स्ट्याण्टुमा बसिरहेको बेला प्रहरीका जवानहरूले हातमा लाठी बोकेर खबरदारी गरेकै हो। तर पनि नेपाल प्रहरी आज किन सबैको प्रहार सहेर बसिरहेको छ त? किनकी नेतृत्वमा सहि र जुझारु मानिस कहिल्यै पुग्न सकेन ।

जबसम्म नेतृत्वमा सहि र जुझारु मानिस पुग्न सक्दैन त्यो संगठनले सहि नीति निर्माण गर्न सक्दैन। नेपाल प्रहरीले समाजको तल्लो तहसम्म जनतासँग नजिक भएर समाजसँगको सम्पर्कमा रहेर काम गर्नुपर्छ। त्यसको लागि नेपाली समाजलाई आफ्ना आँखाले देखेको, आफ्नो विवेकले बुझेको, आफ्नो अन्तरात्माबाटै नेपाली समाजलाई चिनेको नेतृत्व नेपाल प्रहरीले पाउनुपर्छ। जबसम्म मुल्याङ्कनलाई पूर्णतः पारदर्शी बनाइदैन तबसम्म नेपाल प्रहरीमा सहि नेतृत्व स्थापित हुनै सक्दैन।

फिल्डमा बढिभन्दा बढि समय बिताएको, समाजसँगको सम्पर्कमा रहेर समाजका गुण, चरित्र, सोच, आदर्शको बारेमा जानकारी राख्न सक्ने प्रहरीले मात्रै नेपाल प्रहरीलाई सुधार गर्न सक्छ। प्रहरीमा अनेक प्रकारका व्यक्तिगत चरित्र बोकेका अधिकृतहरू छन्। तर संगठनमा प्रवेश गरेपछि व्यक्तिगत चरित्रलाई बिर्सेर साङ्गठनिक चरित्र, सोच, मुल्यमान्यता, विश्वासलाई अङ्गिकार गर्नको लागि प्रशिक्षण गराइने हो तर प्रहरीको तालिम नै विकृत छ। हरेक व्याचका अधिकृतहरूलाई सोध्ने हो भने थाहा हुन्छ, प्रहरी तालिममा कतिसम्म आग्रह पूर्वाग्रहको प्रदर्शन गरिन्छ। प्रहरीको तालिमबाट नै अधिकृतलाई चाकरी कसरी गर्ने भन्ने कुरा सिकाइन्छ। जब सिकाई नै प्रदूषित हुन्छ, सिक्नेले के सिक्छ अनि जनतालाई के दिन्छ? तसर्थ नेतृत्वले तालिमलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा सोच्न जरुरी छ।

जहिले पनि तालिम केन्द्रको प्रमुख महानिरीक्षकलाई जोबाट खतरा हुन्छ, जोबाट महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालयभित्र हुने गरेका काममा बाधाव्यबधान उत्पन्न हुन्छ भन्ने हुन्छ त्यही अधिकृतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिन्छ।

इतिहास हेरौं-

श्याम भक्त थापाको पालामा अनन्तराम भट्टराई, ओमबिक्रम राणाको समयावधिभरी अमरसिंह शाह, रमेश चन्दको पालामा शुरुमा रवीन्द्रप्रताप शाह र त्यसपछि कल्याण तिम्सिना, कुबेरसिंह रानाको पालामा भिष्म प्रसाई, उपेन्द्रकान्तको पालामा राजेन्द्रसिंह भण्डारी र त्यसपछि सुरेन्द्रबहादुर शाह, सर्वेन्द्र खनालको पालामा पुष्कर कार्की, धिरु बस्नेत ।

स्मरणीय छ-

यी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकहरू सबै महानरीक्षकलाई चुनौति दिने खालका भएको कारण प्रहरी तालिम केन्द्रमा सीमित गरेर राखिएको स्पष्ट देखिन्छ। जुन मुलुकमा शैक्षिक संस्थाहरूलाई अपहेलनाको दृष्टिकोणले हेरिन्छ त्यो मुलुकको भविष्य दुर्घटनामुखि हुन्छ भने जुन संस्थामा तालिम केन्द्रलाई पाखा लगाइन्छ त्यो संस्थामा संस्कृतिले कम विकृतिले बढि मलजल पाउँछ र नेपाल प्रहरीको हकमा त्यहि भइरहेकोछ। जब तालिम केन्द्रमा तालिमरत पढेलेखेको युवाले आफूमाथि शोषण भइरहेको देख्छ उसले के सिक्छ भने संगठनले शोषणलाई प्राथमिकतामा राखेको छ जसले जति सक्छ त्यति शोषण गर्न सिक्नु नै प्रहरीको तालिम रहेछ भन्ने ठान्छ ।

त्यसैले प्रादेशिक तालिम केन्द्रको प्रमुखको रुपमा जानको लागि सबै इच्छुक हुन्छन् नत्र किन सरुवा हुने समय भएका सबै अधिकृतहरूको नाम एकातिर अनि कुन स्थानमा सरुवा हुने हो त्यो अर्को तिर राखेर सामाखुसी विद्यालयमा पढ्दै गरेको १ कक्षाको विद्यार्थीलाई ल्याएर पारदर्शी ढंगले गोलाप्रथा गरेर दरबन्दी कायम गरांै त अनि सरुवामा पारदर्शिता कायम हुन्छ। नत्र फेरि पनि सरुवामा पहुँच हुनेकै हालीमुहाली हुने कुरामा दुईमत हुँदैन । सरुवामा भएका मध्ये एकादुई मानिस कि पहुँच कि नेतृत्वसँगको निकटताको कारण लाभान्वित भएकै हुन्छन्। के सबै प्रहरी कर्मचारी प्रहरी महानिरीक्षक या प्रहरी अतिरिक्त महानिरीक्षक भएका मानिसहरूसँग नजिकै बसेर काम गर्न सम्भव छ?

हिजो डिबी लामा, खड्गजित बराल जस्तो केही गरौं भन्ने नेतृत्व पाएको नेपाल प्रहरी दिनानुदिन कमजोर हुँदै गयो किनकी नयाँ सोच र विचारलाई कुनै स्थान छैन, पुरानै केही ल्यापटपे समूह अनि मिठा नारा खोजेर हाकिम रिझाउनेको हालीमुहालीले नयाँ विचार बोक्नेहरू सँधै मोफसलमा बसेर रमिता हेर्न बाध्य छन्

अनि महानिरिक्षकको नजिक बसेर काम नगर्ने जतिले न सरुवा, न बढुवा, न पदक, न पुरस्कार, न राम्रा विदेश तालिम कुनै अवसर नपाएका धेरै उदाहरण छन्। कहाँसम्म हुन्छ भने महानिरीक्षकले चाहँदा ‘युएन मिसन’ जाँदा समेत ‘युएन’को परीक्षा फेल भए पनि पठाइदिन्छन् जसको उदाहरण कुबेरसिंह राना महानिरीक्षक हुँदा एउटा टोली बिना परीक्षा मिसन गएको उदाहरण समेत विद्यमान छ । र, त्यो टोलीमा तत्कालिन महानिरीक्षक रानालाई कुनै न कुनै स्वरुपमा रिझाउन सक्नेहरूको हालीमुहाली थियो। इतिहास जीवितै छ। कुबेरसिंह राना व्याबसायीक अधिकृत थिए तर संगठनभित्रकै सिण्डिकेटवालाहरूले बनाइदिएको व्याबसायीक मात्र।

यदि कुबेरसिंह व्यावसायीक हुन्थे भने जनकपुरको जिल्ला प्रमुख भएको बेला उनीमाथि लागेको हत्याको आरोप उनलाई लाग्ने थिएन। किनकी व्यावसायीक अधिकृतले कानुनले दिएको प्रक्रियालाई शिरोधार्य गर्छ। उनले तत्कालिन अञ्चल प्रहरी प्रमुख चुडाबहादुर श्रेष्ठको आदेशमा पक्राउ परेका मानिसलाई अञ्चल पठाउँदा पत्र साथ पठाइदिएको भए वा ति पक्राउ परेका मानिसलाई बुझाउँदा भरपाई गरेर बुझाउनुपर्छ भन्ने व्यावसायीक कुरालाई ध्यान दिएको भए उनीमाथि त्यो दुर्दान्त घटनाको आरोप लाग्दैनथियो। व्यावसायीकताले विश्वास गर्दैन बरु कानुनले निर्दिष्ट गरेको पद्धति र प्रक्रिया पूरा गर्छ। त्यसैले नेपाल प्रहरीले नितान्त ‘यस म्यान’ अर्थात् हुन्छ हजुर, हुन्छ सर, भइहाल्छ नि, म गरिहाल्छु नि, हजुरको आदेश नमान्ने को छ र? हजुर भनेर हाकिमलाई नै ब्रम्हा, बिष्णु, महेश मान्ने अधिकृतहरूलाई संगठनका नेतृत्व गर्न सक्ने स्थानमा पुर्याउनेगरी मुल्याङ्कन गर्ने गरेको इतिहास छ।

अब यही कुरालाई पुष्टि गर्न नेपाल प्रहरीको त्यो समयमा जानुपर्छ जुन समयमा नेपाल प्रहरी र नेपाली सेनाबाट केही जनशक्तिलाई स्थानान्तर गरेर सशस्त्र प्रहरी गठन गर्ने बेला थियो। त्यो बेला नेपाल प्रहरीबाट जो सशस्त्र प्रहरीमा गए ति मध्ये प्राय नेपाल प्रहरीमा बेकारका मानिएका, घामड ठानिएका, निकम्मा ठानिएका र नेपाल प्रहरीमा आफ्नो भविष्य नदेखेका अधिकृतहरू थिए। तर जब सशस्त्र प्रहरीमा गए उनीहरूले स्थापनाको छोटो समयभित्रै सशस्त्र प्रहरीलाई लोभ लाग्दो संगठन बनाए तर नेपाल प्रहरीमै बसेका उम्दा ठानिएका, जल्दाबल्दा मानिएका, ‘यस म्यान’ अधिकृतहरूले नेपाल प्रहरीलाई कहाँ पुर्याए हिजो र आजलाई तुलना गरे पुग्छ।

नेपाल प्रहरीमा नयाँ दृष्टिकोणले सोच्ने, हाकिमले कुनै काम गर्न लाग्दा यसो नगरौं सर, यो गलत हो भन्ने, हाकिमले भनेका सबै आदेश मान्ने भन्दा कानुन बमोजिमका आदेश मान्ने गैरकानुनी आदेश नमान्ने र तार्किक कुरा गर्न सक्ने अधिकृत या जवानहरूलाई बेकारका, घामट, निकम्मा मानिने प्रचलन छ।

हिजो डिबी लामा, खड्गजित बराल जस्तो केही गरौं भन्ने नेतृत्व पाएको नेपाल प्रहरी दिनानुदिन कमजोर हुँदै गयो किनकी नयाँ सोच र विचारलाई कुनै स्थान छैन, पुरानै केही ल्यापटपे समूह अनि मिठा नारा खोजेर हाकिम रिझाउनेको हालीमुहालीले नयाँ विचार बोक्नेहरू सँधै मोफसलमा बसेर रमिता हेर्न बाध्य छन्। त्यसैले वर्तमान महानिरीक्षकले वास्तबमै प्रहरीमा सुधार, प्रहरी कर्मचारीको उत्प्रेरणाको स्तरमा अभिबृद्धि, संगठनलाई परिवर्तनको पक्षमा लैजान खोजेका हुन् भने संगठनमा नयाँ विचारको खोजी गर्नुपर्छ । यो सुझाव पनि हो की खोजी सुरू गर्नुस् ।

सँधै कुनै न कुनै बहानामा नेतृत्वको आँखामा धुलो हालेर सँधै शक्तिको वरिपरी टाँसिइरहने जुका जस्ता अधिकृतहरूले अबको २ बर्ष पनि कटाउनेछन् त्यसबेला महानिरिक्षको अवकाश भइसकेको हुनेछ । बढुवामा हाइजम्प, लङ्गजम्पका धेरै उदाहरणहरू स्थापित भइसकेका छन्। ढुक्क नहुनुस् महानिरीक्षकज्यु– भोलीका नेतृत्वमा जाने अधिकृतले नेतृत्वको सपना देख्ने बिछ्यौनासम्म नै पुग्न नपाउने अनि तपाईले वास्तै नगरेका अधिकृतहरू नेतृत्वमा पुग्न सक्छन्। त्यसैले विचार सबैको लिनुहोस्, खुला छलफल चलाउनुस्, सबै अधिकृत योग्य छन् कोही कम योग्य होलान कोही बढि। प्रहरी उपरीक्षक हुँदा हालका महानिरीक्षक भन्दा योग्य ठानिएर बढुवा भएका केही तपाईकै साथीहरू आज तपाई महानिरीक्षक भइसक्दा किन बरिष्ठ उपरीक्षक नै छ? गम्भीर भएर योग्यतालाई आफ्नो नजरबाट मात्रै हेर्ने पूर्वाग्रही परिपाटीको अन्त्य गर्नुहोस्।

शुन्य सहनशीलताको नारालाई नेपाल प्रहरीले आत्मसाथ गरेको अभिव्यक्ति दिने महानिरीक्षकज्यु भ्रष्टाचारको अभियोगमा जेल बसेकाहरूको तस्बिर प्रहरी प्रधान कार्यालयको मुख्य भवनको प्रवेशद्वारमा सजाएर कुन र कस्तो शुन्यसहनशीलताको कुरा गर्नुभएको हो बुझ्न अलि कठिन भएको छ । सायद, भ्रष्टाचारीको उपमा पाएका पुर्खाहरूका ति सजिएका तस्बिरहरूको नकारात्मक प्रेरणाले नेपाल प्रहरीका अधिकृत तथा जवानहरूलाई कहिलेकाहि २–४ हजारदेखि लाखसम्म रकम सहित अख्तियारले पक्रेर के होला र भन्ने सोच पलाएको हुनसक्छ । त्यसैले हटाउनुस् ति भ्रष्टाचारका मूर्तिहरूलाई अनि बसाउन शुरु गर्नुहोस् मुल्य र मान्यताको थिति।

कुनै बेला उपेन्द्रकान्त अर्यालको भित्रिया भएकै कारणले नेपालगञ्जमा तस्करीलगायतका काम खुलेआम सञ्चालन गर्दा पनि कुनै सजाय नपाएका नायब महानिरीक्षक केशव अधिकारिलाई बिर्सिने? धेरै प्रहरीका माथिल्ला अधिकारिहरू छन् जसले पैसा र शक्तिको लागि तल्लो दर्जाका प्रहरी कर्मचारीहरूलाई दुरुपयोग गरे। जनकपुरमा सञ्जय टक्लालाई संरक्षण दिने बिश्व जंगबहादुर राणादेखि जनकपुरमै भुमिगत गिरोहसँग साँठगाँठ भएका छवीलाल जोशि र रुपकुमार न्यापानेलाई बिर्सिने? अनि तलका निम्छरा कर्मचारीलाई कारवाही गर्ने? माथिल्ला फणा उठाएर बसेका ‘गोमन साँप’हरूलाई दुध खुवाएर शुन्य सहनशीलता लागु होला र? 

तपाईले महानिरीक्षक हुने बित्तिकै पेट्रोल पम्पको हिसाब किताबमा घोटाला गर्नेलाई कागजात सहित अख्तियार पठाउने उत्कृष्ट कदम जसरी उठाउनु भयो त्यसैगरी यी भ्रष्टहरूका तस्बिर नेपाल प्रहरीको संग्रहालयको एक कुनामा संगठन बदनाम गराउने जमात भन्ने शीर्षकमा सामेल गर्नुस् र सबै भ्रष्टाचारी प्रमाणीतको नाम र तस्बिर प्रदर्शन गर्ने कार्यको आरम्भ गर्नुस्।

कुनै प्रदेशमा घुमुवा राखिन्छन्, खुलेआम पैसा उठाउने कामको शुरुवात हुन्छ । केही समयपछि प्रधान कार्यालयले थाहा पाउँछ अनि सबै घुमुवालाई गण, दंगामा तानिन्छ, काजमा गएका कुनै सिनियर अधिकृतसम्मलाई तानिन्छ, तर घुमुवा खटाएर पैसा उठाउने मुख्य जिम्मेवार तानिँदैन बरु उ त्यही स्थानमा तिनै घुमुवाहरू सहितका प्रहरीलाई सामेल गरेर सदाचार अनि शुन्य सहनशिलताको पाठ पढाउँछ। प्रहरी कर्मचारी मनमनै हाँस्छन्, अनि निर्लज्जताको पराकाष्ठा देखेर ‘जुन जोगी आए पनि कानै चिरेका’ उखानलाई सम्झिँदै आफ्नो पेन्सन पाक्ने समय कहिले पुग्ने हो हिसाब गर्न थाल्छन्।

त्यसैले, मुहान सफा गर्नुस् महानिरीक्षकज्यु, धारामा आउने पानी आफैं सफा र शुद्ध आउन थाल्नेछ। मुहानमा हिलो राख्ने अनि धाराको टुटी बदलेर हुन्छ? आम जनतालाई थाहा छ कि तलको कर्मचारीले बदमासी गर्नै सक्दैन, उसलाई गलत काम गर्न लगाउने र गलत काम गर्न आदेश दिने माथिल्लो दर्जाको नेतृत्व नै हुन्छ।

कुमार पौडेलको मृत्यु पश्चात जे हंगामा भयो, नेपाल प्रहरीको साख जसरी घट्यो, जसलाई दोषी मानियो के ति मात्रै दोषि हुन र? हालसालै चर्चित मानिएको सांसद अपहरण काण्डमा किन नेपाल प्रहरीको बदनामी भयो? प्रहरी बरिष्ठ उपरीक्षक रबिराज श्रेष्ठले विमानस्थलबाट अबैध बिदेशी मुद्रा तस्करी गराउन खेलेको भूमिकालाई यति चाडै बिर्सिने? नायब महानिरीक्षक गोपाल भण्डारीलाई बिदेशबाट आउनेको ल्यापटप, मोबाइल, पैसामा आँखा लगाएकोमा अख्तियारले पक्राउ गरेको यथार्थ बिर्सिने?

कुनै बेला उपेन्द्रकान्त अर्यालको भित्रिया भएकै कारणले नेपालगञ्जमा तस्करीलगायतका काम खुलेआम सञ्चालन गर्दा पनि कुनै सजाय नपाएका नायब महानिरीक्षक केशव अधिकारिलाई बिर्सिने? धेरै प्रहरीका माथिल्ला अधिकारिहरू छन् जसले पैसा र शक्तिको लागि तल्लो दर्जाका प्रहरी कर्मचारीहरूलाई दुरुपयोग गरेका थिए र छन्। जनकपुरमा सञ्जय टक्लालाई संरक्षण दिने बिश्व जंगबहादुर राणादेखि जनकपुरमै भुमिगत गिरोहसँग साँठगाँठ भएका छवीलाल जोशि र रुपकुमार न्यापानेलाई बिर्सिने? अनि तलका निम्छरा कर्मचारीलाई कारवाही गर्ने माथिल्ला फणा उठाएर बसेका गोमन साँपहरूलाई दुध खुवाएर शुन्य सहनशीलता लागु होला र?

भर्खरै केही घटना घटेका छन्। नेपालगञ्जमा हवल्दारलाई अख्तियारले पक्रियो रङ्गेहात। त्यस्तै बुटबलमा समेत प्रहरी रङ्गेहात पक्राउ परेका छन्। कार्यालय प्रमुखको सह नपाईकन तलका दर्जाका कर्मचारीले पैसा उठाउनै सक्दैन। मोरङ्ग जिल्लामा तिर्न बाँकी भनेर ३० लाख भन्दा बढि रकम पचाउन खोजेको र छानबिन पश्चात लेखापललाई सरुवा गरेर तत्कालिन मोरङ्ग प्रहरी इन्चार्जलाई जोगाइएको घटनाहरू ताजै छन्। जसले चिच्याउँदै भन्छन् कि हाकिमको सहबिना कुनै तल्लो कर्मचारीले गलत कार्य गर्न सक्दैन।

आफ्नो मातहतका कर्मचारीलाई गलत कार्यमा संलग्न गराउने जो कोहीलाई पनि दण्डित गर्ने र दिइएको जिम्मेवारीबाट मुक्त गराउने कार्यको शुरुवात नगरेसम्म सुधार सम्भव छैन। सरुवामा सबैले प्रयास गर्छन्, सरुवामा प्रयास गर्नु त्यतिकै जायज हो जति नेतृत्वमा पुग्न चाहनेले राजनीतिक लबिङ गर्छन्, यो प्राकृतिक हो। तर जो जसरी जाओस् त्यसमा कुनै आग्रह पूर्वाग्रह नराख्ने तर गलत कृयाकलापमा संलग्न भएको पाइएमा कसैलाई छुट नदिने नीति अख्तियार गर्नुहोस्। पहुँच भएकालाई सफाई अनि पहुँच नहुनेलाई दुखाई दिने परम्पराको अन्त्य गर्नुहोस्।

महानिरीक्षकज्यु, अन्तरवार्ताहरूमा कानुनी राज्यको कुरा गर्नुहुन्छ, न्यायीक सर्वोच्चताको कुरा गर्नुहुन्छ अनि सत्ताधारी दलकै अध्यक्षले वीरगञ्जको घटनाको सत्यतथ्य अनुसन्धान होस् भनेर वक्तव्य निकाल्छन्, त्यहि वक्तव्यलाई कोड गरेर मानव अधिकार आयोगकी पूर्वआयुक्तले सामाजिक सञ्जालमा ट्विट गर्नुहुन्छ, प्रमुख प्रतिपक्षी दलका प्रवक्ताले पीडितको जाहेरी किन दर्ता गर्दैन प्रहरी? भनेर सामाजिक सञ्जालमा लेख्नुहुन्छ।

नेपालको कानुन बमोजिम जघन्य प्रकृतिका फौजदारी मुद्दाको सन्दर्भमा आएको जाहेरी दरखास्त दर्ता गर्न प्रहरीलाई के ले छेकेको छ? कानुनका दफाहरूलाई पछ्याउने कि टेलिफोनका आग्रहहरूलाई, कानुनका मान्यताहरूलाई शिरोधार्य गर्ने कि शक्ति केन्द्रका आदेशहरूलाई। के नेपाल प्रहरीले आफ्नो नारा ‘सत्य सेवा सुरक्षणम्’लाई नारा मात्रै बनाउने हो? अनुसन्धान गरेर सत्य ल्याउनलाई जाहेरी दरखास्त दर्ता गर्नुभन्दापूर्व कसको नाम राख, कसको नाम हटाउ भनेर पीडितलाई डिक्टेट गर्ने हो र? जाहेरी दरखास्तमा परेका नामहरू मध्ये कुन दोषी हो र कुन निर्दोष हो भन्ने कुरा ठम्याउने अधिकार अनुसन्धान अधिकृतलाई कानुनले दिएको छ नि। अनि किन अनुसन्धानपूर्व नै कसको नाम राख कसको नाम नराख भन्नुभन्दा घटनाको सुक्ष्म अनुसन्धान गरेर सत्यतथ्य पत्ता लाएर दुधको दुध पानीको पानि गर्ने तर्फ पो प्रहरीको अनुसन्धान केन्द्रित हुने हो नि, होइन र?

प्रहरी अनुसन्धान गर्ने निकाय हो, अनुसन्धानको जिम्मेवारी प्रहरीले लिने हा,े जाहेरीमा कसको नाम राख्ने नराख्ने अधिकार पीडितलाई कानुनले दिएको छ। पीडित मैत्री प्रहरी सेवा र पीडित मैत्री कानुनको कुरा गरेर नथाक्ने नेपाल प्रहरीले जाहेरी दरखास्त दर्ता नगर्नुले नेपाल प्रहरीका संगठनात्मक प्रतिबद्धता नक्कली हुन् भन्ने भान जनमानसमा पार्न सक्छ। शक्तिमा हुनेबिरुद्धमा जाहेरी दरखास्त नलिएका उदाहरणहरू हिजो रौतहटमा इट्टा भट्टामा जिउँदै जलाएर मानिस मार्नेहरूलाई प्रहरीले संरक्षण गरेको, अनि पोखरामा उपेन्द्रकान्त अर्यालको छोराबिरुद्ध आएको जाहेरी दरखास्तमा प्रभावकारी अनुसन्धान नभएको, पीडितका बाबुले बेलाबखत बोलेका कुराहरूले समेत देखाएको संवेदनशील बिषय त छँदै छ। तपाईको कार्यकालमा यो धब्बा नलागोस् भन्ने अपेक्षा हो, बाँकी अभ्यास र परिणामले विश्वास दिलाउने जिम्मेवारी तपाईकै हो ।


  • 22
    Shares