गौरीलाई शाहरुखले पेरिस भनेर दार्जिलिङ पुर्याएपछि…

  •  
  •  
  •  
  •  
  •  
  •  

मुम्बई(एजेन्सी)– बलिउड बादशाह शाहरुख खान र उनकी पत्नी गौरीको विवाह भएको २९ वर्ष पुगेको छ । दुबैले सन् १९९१ अक्टोबर २५ मा विवाह गरेका थिए । दुवैको सम्बन्धमा कैयौं उतारचढाव आए, तर ढुंगा जस्तै उनीहरु एकापसमा अडिग रहे । २९ वर्षदेखिको उनीहरुको प्रेम अहिले पनि उत्तिकै जवान छ । आज पनि उनीहरुबीचको आत्मियता र प्रेम उस्तै देखिन्छ । यद्यपि शाहरुखले विवाहपछि गौरीसँग जोडिएको एक किस्सा एक अन्तरवार्तामा बताएका छन् ।

शाहरुखले आफूले गौरीलाई हनिमुनको बहानामा कसरी ढाँटेका थिए भन्ने कुरा अन्तरवार्तामा खुलाएका हुन् । ‘जब हाम्रो विवाह भयो, म निकै गरिब र गौरी मिडिल क्लासको राम्रो परिवारकी थिइन् । त्यो समयमा सबैले त्यही गर्छन्, जुन मैले गौरीसँग गरें । मैले उनलाई हाम्रो विवाह भएपछि पेरिस लगेर एफिल टावर देखाउछु भनें । तर मलाई थाहा थियो कि यो झुटो कुरा थियो । किनकी न मसँग पैसा थियो र न हवाइ टिकट नै । मैले उनलाई पेरिसको नाममा ढाँटेर दार्जिलिङ लगें’, उनले भनेका छन् ।

दुवैको प्रेमकथाको कुरा गर्दा शाहरुखले गौरीलाई पहिलोपटक एक साथीको पार्टीमा देखेका थिए । त्यो बेला उनी १९ वर्षका थिए । उनले १४ वर्षको गौरीलाई देख्नासाथ मनपराए । विस्तारै विस्तारै दुवैको दोस्ती प्रेममा बदलियो, तर शाहरुख गौरीका विषयमा शंकालु थिए । उनलाई गौरीले कपाल खुला राखेको मन पर्दैन थियो । न त उनी गौरीलाई अर्को कोही केटासँग गफ नै गर्न दिन्थे ।

शाहरुखको क्रियाकलापबाट दिक्क भएकी गौरी शाहरुखलाई केही नबताई दिल्लीबाट मुम्बई आएकी थिइन् । गौरीलाई खोज्दै शाहरुख मुम्बई आए र फेरी उनलाई प्रेम प्रस्ताव राखे । जब उनीहरुले विवाह गर्ने योजना बनाए, गौरीको परिवार उनीहरुको सम्बन्धका विरुद्धमा देखिए । निकै लामो प्रयासपछि दुवैले सन् १९९१ मा विवाह गरे । हाल उनीहरुका तीन सन्तान आर्यन, सुहाना र अबराम छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •