प्रहरीभित्र ‘महाराजहरू’का दुई वटा दाँत हुन्छन्

  • 55
    Shares

प्रहरी यस्तो पेशा हो जसले इमान्दारिताको साथ सेवा प्रवाह गर्दा अपराधी टिक्नै सक्दैन, अपराध हुर्किनै सक्दैन। प्रहरीले समाजको संवेदनशील भागहरूलाई राम्ररी चिनेको हुन्छ। प्रहरीको संगतमा समाजका सबै तह र वर्गका मानिसहरू आउँछन्।

पेशागत चरित्रअनुसार कोही प्रहरीको सेवा लिन आउँछन् भने कोही समाजका अपराधीहरूबाट पीडित भएको कारणले आउँछन् । कोही समाजमा शान्ति व्यवस्था कायम गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्न आउँछन्।

प्रहरी संगठनले गर्न सक्ने धेरै छन् तर सक्ने जति गरेकै छैन किनकी काम गर्ने मानिसको मुल्याङ्कन कहिल्यै हुँदैन। प्रहरी संगठनमा मुल्याङ्कन गर्ने आधार कार्य क्षमताको आधारमा छँदैछैन।

हात्तिको दुईवटा दाँत हुन्छ देखाउने र खाने। प्रहरीले देखाउने दुईवटा दाँत तलका दर्जाका मानिसले, कमजोर मानिसले कहिल्यै देखाउन सक्दैनन्। प्रहरी भित्रका महाराजहरूले मात्रै दुईवटा दाँत देखाउँछन् । उदाहरणका लागि बिगतको समयमा प्रहरीमा बाँडिएका पदकहरूलाई हेरौं। के प्रहरीमा बाँडिएका पदकहरू सबै उत्कृष्ट काम गर्नेहरूले मात्रै पाएका छन्? के प्रहरीमा उत्कृष्ट तालीम दिने बेलामा कुनै छनौट बिधि छ?

प्रहरीमा जुन राजनीति हावी छ, त्यो राजनीतिले प्रहरीमा पारदर्शितालाई भित्रिनै दिँदैन । पारदर्शिता भित्रियो भने शुभ लाभका गतिबिधि हुनै सक्दैनन्।

प्रहरीमा केही यस्ता अधिकृतहरू छन् जसले सबै अवसरहरू कुम्ल्याइरहन्छन्। जुनसुकै पद र दर्जामा पुगे पनि उनीहरूलाई कुनै सास्ती हँुदैन। उनीहरू ‘गणेश’ हुन्। प्रहरीमा थुप्रै ‘कुमारहरू’ छन् जसले कहिल्यै स्याबासी पाउँदैनन् तर पनि उनीहरू काममा लागिरहन्छन्।

आज म प्रहरीमा भएका चरित्रको बारेमा केही लेख्न गइरहेको छु। हुन त यो प्रहरीको मात्र चरित्र होइन यो हाम्रो जस्तो मुलुकको सबै कर्मचारीतन्त्रको रोग पनि हो। प्रहरीभित्रको कथालाई आँखीझ्यालबाट हेरौं न।

नेपाल प्रहरीमा तीन किसिमका अधिकृत छन्। पहिलो, काम गर्ने सबैको खुट्टामा बिझाउने काँडा हुने । दोस्रो, काम गरे जस्तो गर्ने तर काम नगर्ने सबैको प्यारो हुने । र, तेस्रोचाहिँ काम गर्न नै नखोज्ने सँधै लाभ र हानी मात्र हिसाब गर्ने अनि लाभ देखे काम गर्ने लाभ नहुने भए महात्मा गान्धीको बाँदर बनिदिने ।

पहिलो वर्गमा केही गरौं न त भन्ने खालका अधिकृतहरू पनि छन्। यी अधिकृतहरू जहाँ जान्छन् त्यहाँका जनताका बीचमा एउटा छवि बनाउन सफल हुन्छन्। दशकौंदेखि बिग्रिएको प्रहरीको छविलाई आफ्नो निष्पक्ष कार्यशैलीले गर्दा जनतामाझ ए प्रहरी यस्तो पो हुँदो रहेछ भन्ने सकारात्मक सन्देश दिन सफल हुन्छन्। तर यस्ता अधिकृतहरू सबैको आँखामा काँडा झैं बिझाउँछन्।

यसको कारण के हो भने हाम्रो समाजमा अनेक बिकृति बिसंगतिहरू लुकेका छन्। वास्तबमै भन्ने हो भने हाम्रो समाज सदियौंदेखि विद्यमान कुरीति, कुप्रथा, कुसंस्कार, कुविचार, कुसंस्कृतिदेखि अनेक प्रकारका मत्स्यन्याय, उँचनिच, जातीय बिभेद आदिको संगमस्थल हो।

जो दासत्वलाई जीवनशैली मानेर चलेको हुन्छ, जसले चाकरी र चाप्लुसी बाहेक अरु कुनै योग्यतालाई चिनेकै हुँदैन त्यसले यदि आफू मालिकको स्थानमा पुग्यो भने सबैबाट चाकरी चाप्लुसीको अपेक्षा राख्छ । किनकी ऊ आफू पनि त्यहि शिक्षालयको विद्यार्थी जो थियो

समाजमा बाल बिबाह, अनमेल बिबाहदेखि अनेक जघन्य अपराधहरू लुकेर बसेका छन् । अझ भनौं इज्जत, प्रतिष्ठा, मान सम्मान, शक्ति, पहुँच आदिको आडमा लुकाइन्छन्।

विश्व कहाँ पुगिसक्यो तर समाजले हालसम्म प्रगतिको पथमा हिँड्न नसक्नुको कारण पनि यहीँ लुकेको छ। समाज यी सबै विकृति र बिकृतिका पक्षपोषकहरूको हालिमुहालीको कारण बग्न सकेको छैन, यथास्थितिको पोखरि झैं जमेर बसेको छ । जमेर बसेको कारणले यो दूषित छ, प्रदूषित छ, अस्वस्थ छ।

समाजले वास्तबमै भन्ने हो भने परिवर्तनलाई आत्मसात गर्न सकेको छैन। यसको कारण बिश्वका अन्य मुलुकसँग हातेमालो गरेर हिँड्न सकिरहेका छैनौं। प्रहरीले यस्ता असामाजिक कार्यमा पहुँचको आधारमा काम गर्ने गरेको कारण समाजमा आपराधिक गतिविधि बढेको हो। नत्र प्रहरी ऐन र नियमावली, प्रचलित ऐन कानून, संबिधानले प्रहरीले के गर्ने के नगर्ने, कुन दर्जाको र कुन जिम्मेवारीमा भएको प्रहरी कर्मचारीले के गर्ने भन्ने स्पष्ट उल्लेख छ।

नियम कानूनले प्रहरीलाई उसको कर्तब्य, उत्तरदायित्व, जिम्मेवारी, अधिकार, सबै तोकिदिएको छ। कस्तो अपराधमा प्रहरी कसरी परिचालित हुने भन्ने कुरो विभिन्न ऐन कानुन, नियमावली, निर्देशिका तथा आदेशहरूमा स्पष्ट लेखिएको छ तर पनि किन कार्यान्वयन हुदैनन्? प्रश्नहरू छन् ।

किन निर्मला बलात्कार घटना पश्चात गरिनुपर्ने प्रहरी परिचालन भएन, किन रौतहटमा इट्टा भट्टाभित्र जिउँदै मानिसलाई खरानी बनाइएको बिषयमा प्रहरी मौन बस्यो, किन र कसरी धनुषामा ‘टक्ला’ को उदय भयो र कसको संरक्षणमा ‘टक्ला’को उदय भयो?

काठमाडौंमा डन भनेर हाउगुजी बनाइएका कुनै आपराधिक समूहबिरुद्धमा कुनै प्रमाण सहितको कानूनी कारबाही गराउन नसक्नुको कारण के हो? किन प्रहरीले कानून बमोजिम आएका जाहेरी दरखास्त लिनु भन्दा पहिले शक्तिकेन्द्रको आदेश कुर्छ ? यस्ता धेरै घटनाहरू छन् । यी त केबल केही प्रतिनिधि प्रसङ्गहहरू मात्र हुन्।

हा,े जब पहिलो वर्गका अधिकृतहरू झुक्किएर त्यहाँ पुग्छन् त्यहाँ आमुल परिवर्तन हुन्छ। प्रहरीको आनिबानी, व्यबहारदेखि प्रहरीका कृयाकलाप हुँदै तस्करीका लाइनहरू बन्द हुन थाल्छन्, वन्यजन्तु तस्करहरू निषेधित हुन्छन्, अबैध क्रसरदेखि ढुङ्गा गिट्टिको अबैध उत्खनन् र नदिनालाको अबैध दोहन बन्द हुन थाल्छ, मुद्दा फाँटमा दलाल र बिचौलियाको लागि प्रबेश निषेध हुन थाल्छ, कुम्भकर्णको निद्रा सुतेका प्रहरी कर्मचारीहरू रातदिन गस्ति पालो पहरा, चेकिङ गर्न थाल्छन्, गरिब निमुखाहरूले आफ्नो पिडा लिएर प्रहरी कार्यालयमा जान थाल्छन्, होटलहरूमा बेश्यावृत्ति गराउने कार्य निषेधित हुन्छ र कानुनको दायरामा ल्याइन्छन्, टोले गुण्डाहरूको हाउगुजीमा पुर्णविराम लाग्छ, जुवातास खेलाएर घर बर्बाद गर्ने दलेहरू भाग्नुपर्ने अबस्था आउँछ। ठेक्का टेण्डरमा गुण्डा जम्मा गरेर कब्जा गर्ने पद्धतिमाथि बिश्राम लाग्छ तब समाजका बिभिन्न स्वार्थ समूहको निँद हराम हुन्छ।

यो स्वार्थ समूह यति बलियो हुन्छ कि यसले केन्द्रदेखि तल्लो तहका सबैसँग आफ्नो पहुँच बिस्तार गरेको हुन्छ। हरेक राजनीतिक दलका नेताहरूसँग यो स्वार्थ समूहका सबैको सम्बन्ध प्रगाढ हुन्छ। यो स्वार्थ समूहको सम्बन्ध प्रहरीकै उच्च तहका हाकिमको बेजोड सम्बन्ध हुन्छ। यीनका कुरा कसैले काट्न चाहँदैनन्। हाकिमहरू समेत तलको अधिकृतले कुनै समस्या नल्याइदिए हुन्थ्यो भन्ने सोचमा बसेका हुन्छन् किनकि यीनलाई ब्याबसायिकता भन्दा पनि अनाबश्यक कसैलाई जबाफ दिनु नपरे हुन्थ्यो भन्ने चेतनाले कमजोर बनाइसकेको हुन्छ।

दिनै पिछे यो वर्गका प्रहरीबारेमा अप्राकृतिक गुनासो कि व्यक्तिगत रुपमा कसैलाई पठाएर या आफैं गएर कि डेलिगेसनको रुपमा गएर, कि पत्रपत्रिकामा लेखाएर, कि नेताबाट फोन गराएर गराइन्छ अनि पहिलो समूहमा पर्ने अधिकृत भनेको हाकिमको नजरमा समस्याको मुहान बन्दछन्।

जो अधिकृतहरू केही गरौं भन्ने मनसायका साथ लागेका हुन्छन्,  यीनलाई हाकिमले संरक्षण गर्ने हो भने नेपाल प्रहरीमा त्यो प्रवृत्ति मौलाएर जान्छ अनि ‘प्रहरी मेरो साथि’, समुदाय–प्रहरी साझेदारी’, ‘सामुदायीक प्रहरी’ जस्ता नाटकीय नाराको कुनै आवश्यकता नै पर्दैन।

तर प्रहरीमा यसको ठिक उल्टो चाकरी, चाप्लुसी, शुभलाभ प्रबृत्ति भएका अधिकृतहरूले मात्रै कसैको कार्यकर्ता, कसैको छोरा, भाई, भएको भरमा अवसर र उच्च मुल्याङ्कन पाउने प्रचलन देखापरेकोले त्यो नै प्रबृत्तिको रुपमा बिकास भएको छ । प्रहरीले अनेक नारा दिन्छ, कहिले सामुदायीक प्रहरी भन्छ भने कहिले प्रहरी मेरो साथी भन्छ, कहिले के भन्छ कहिले के भन्छ ।

प्रहरीले यो वर्गमा पर्ने अधिकृतहरूलाई पहिचान र मुल्याङ्कन गर्न सकेको दिनदेखि प्रहरीले अनेक नाराहरू तिर ध्यान नै दिनु पर्दैन तर के गर्ने प्रहरी कस्तुरी मृग झै यताउति बरालिइरहेको छ। कस्तुरी आफैसँग छ तर अज्ञानताको कारणले कस्तुरी मृग कस्तुरीको सुगन्धको खोजीमा बन पाखा मा कुदिरहन्छन्।

त्यसैगरी प्रहरी संगठनले आफूसँग भएको अनमोल सम्पदाको रुपमा रहेका सक्षम अधिकृतहरूलाई पहिचान गर्न सकिरहेको छैन अझ म त भन्छु कि नेतृत्वमा बस्नेले पहिचान गरेर पनि बुझ पचाइरहेको छ। भारतका राष्ट्रपति अब्दुल कलामको शब्दमा ‘इफ यु स्यालुट योर ट्युटी, यु डन्ट ह्याब टु स्यालुट एनीवन’ अर्थात् ‘आफ्नो कर्तब्य र जिम्मेवारिमा लागिरहने मानिसले कसैको गुलामि गर्नु पर्दैन’। प्रहरी संगठनले जुझारु र परिवर्तनका बाहक आफ्ना अधिकृतहरूलाई चिन्न सकोस् मात्रै काफि छ समाजमा भएका बिकृति बिसंगतिलाई लखेट्ने प्रबृत्ति झाङ्गिन शुरु गर्छ र प्रहरी बास्तबमै जनताको प्रहरी बन्नेछ।

दोस्रो वर्गका अधिकृतहरूमा काम गरे जस्तो गर्ने तर काम नगर्ने पैसाको लागि मरिहत्ते नगर्ने तर जहाँ–जहाँ बाट पैसा परम्परागत रुपले आइरहन्छ त्यसलाई नरोक्ने अर्थात् ‘पैसाको मामिलामा बहति गंगामे डुबकि लगादेने मे क्या वुराइ हे’।

यी अधिकृतहरू कुनै जोखिम मोल्दैनन् र कुनै परिवर्तन गर्न पनि चहाँदैनन्। यीनीहरू महत्वाकांक्षी छन् अनि कसरी पैसा कमाउने, कसरी पदोन्नती हुने, कसरी सुरक्षित रहने यीनै कुरामा सोचमग्न हुन्छन्। यीनलाई हाकिम कसरी खुशी पार्ने त्यो कलामा बिशेषज्ञता प्राप्त हुन्छ। यीनीहरू अप्ठेरो परिस्थितिमा सुरक्षित स्थानमा अनि सजिलो परिस्थितिमा हाकिम वा अन्य पहुँचको आधारमा राम्रा तालिम, राम्रा र सहज सरुवा, अझ भन्ने हो भने समय नै नभए पनि पहुँचको आधारमा हाइजम्प बढुवा आदि प्राप्त गर्नमा खप्पिस छन्।

कार्यालय समयमा यीनको आधा समय हाकिम खुसी पारेर बित्छ। फुर्सदमा कसरी काम गर्नसक्नेलाई पाखा लगाएर आफू अगाडि बढ्ने भन्ने बारेमा हिसाबकिताब गरेर बित्छ।

नेपाल प्रहरीको बास्तबमै परिवर्तन बिरोधी समूह यो समूह हो र यही समूहकै हालिमुहाली नेपाल प्रहरीमा सँधैभरी रहिआएको छ जसको मुल्य नेपाल प्रहरी संगठनले, नेपाली जनताले र समग्र राष्ट्रले चुकाउनु परिरहेको छ। यो समूहको सरुवामा पहिलो प्राथमिकता राजधानीका महत्वपूर्ण स्थानहरू, त्यसपछि सहज र लाभदायक स्थानहरू पर्छन्।

अलि अप्ठेरो परिस्थिति आउनासाथ प्रहरी प्रधान कार्यालय जिन्दावाद। यीनीहरू कहिले नाक भजाउँछन् कहिले जात, कहिले चाकरी भजाउँछन् कहिले बात। नेपाल प्रहरीको मुल्याङ्कन पद्धतिलाई एकपटक पुनर्लेखन गर्नु अत्याबश्यक छ। यो समूहलाई प्रहरी नेतृत्वले चहाँदा व्याबसायीक अधिकृतहरूमा रुपान्तरण गर्न सक्छ तर नेतृत्व आफैं परिवर्तन चाहँदैन। किनकी नेतृत्वमा पनि दास मानसिकताकै मानिस बसेको हुन्छ। दासले दासत्व चिनेको हुन्छ तर मालिकले दासत्व चिनेको हुँदैन। उसले चाकरीलाई चाकरी नमानेर सत्य मानेर बिश्वास गरिरहेको हुन्छ। त्यसैले मालिक भएको मानिसले दासत्व स्वीकार गर्दैन जसले दासत्व स्विकार गर्दैन त्यसले चाकरी चाप्लुसीलाई पनि अस्विकार गर्छ।

तर जो दासत्वलाई जीवन शैलि मानेर चलेको हुन्छ, जसले चाकरी र चाप्लुसी बाहेक अरु कुनै योग्यतालाई चिनेकै हँुदैन त्यसले यदि आफू मालिकको स्थानमा पुग्यो भने सबै बाट चाकरी चाप्लुसीको अपेक्षा राख्छ । किनकी  आफू पनि त्यहि शिक्षालयको विद्यार्थी जो थियो ।

सायद त्यसैले होला नेतृत्वमा पुग्ने हरेक मानिसले आफ्नो चाकरी चाप्लुसी गर्ने मानिसलाई बदल्न होइन झन दल्न चाहन्छन्, झन उपल्लो स्तरको दास बनाउन चहाँन्छन् अनि आफू उपल्लो स्तरको दासको मालिक बनेको देखाउन चहाँन्छन्। नेपाल प्रहरीमा दासत्वको यो बिज जबसम्म रहिरहन्छ नेपाल कुनै परिवर्तन आउँदैन।


  • 55
    Shares