प्रहरीभित्रको राजनीतिक नालीबेली : मैमत्ता बनेका राजेन्द्र, गिरीजाको कल्याण

यसलाई साझेदारी गर्नुहोस्
  • 39
    Shares

हरेक युगमा कोहि आउँछ जसले क्रमभङ्ग गरेर जान्छ । मलाई पनि आज एक महत्वपूर्र्ण बिषयको क्रमभङ्ग गर्न जाँगर चलेको छ, के थाहा यो क्रियाको प्रतिक्रिया स्वरुप केही सकारात्मक सुरुआत पो हुने हो कि ! मैले आज नेपाल प्रहरीको बिषयमा केही कुराहरू लेख्दैछु जुन कुराहरू नेपाल प्रहरीलाई सुधार गरेर जनमुखी बनाउनका लागि अत्यन्त आवश्यक छन् ।

नेपाल प्रहरी आज नेपालको जनजीविकासँग जोडिएको सबै भन्दा महत्वपूर्र्ण संगठन हो भन्दा अत्योक्ति नहोला । प्रहरी सालाखाला सामान्य मानवीय चेत भएकादेखि अत्यन्त महत्वाकांक्षी मध्यम वर्गीय परिवारका बहुसंख्यक तर औसत क्षमता भएका युवाहरूको बाहुल्यता भएको संगठन हो । यीनिहरूको मध्यम वर्गीय महत्वाकांक्षालाई अप्राकृतिक हावा दिएर हौसाउने अनि समाजकै उपल्लो वर्गीय समूहमा उँचो उडान मार्फत पाइला जमाउने अप्राकृतिक चाहनालाई मलजल गर्ने कार्य कहीँ कतै नेपाल प्रहरी संगठनले नै गरेको महसुस हुन्छ । कुनै समयमा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक मोतीलाल बोहोराले महानिरीक्षक भइसकेपछि आफूलाई सम्मान गर्न राजधानीको अमुक स्थानमा आयोजित सम्मान समारोहमा सम्मान गर्न भेला भएका अछामे बुद्धिजीबिलाई भनेका थिए– मलाई यो पदसम्म पुर्याउनको लागि हजुरहरूको ठूलो योगदान छ जसलाई म कहिल्यै भुल्न सक्दिन । किनकी अछामकै कुनै स्कुलमा शिक्षण पेशा गर्दै जीवनको रथलाई तानिरहेका मोतीलाललाई त्यहाँका ठकुरीहरूले टिक्न नदिएपछि काठमाडांै आएर प्रहरीको नायब निरीक्षक पदमा आवेदन दिएर जागिरे जीवनको सुरुआत गरेका थिए अरे मोतीलाल बोहोराले ।

नेपाल प्रहरी सबैभन्दा बढी काम गर्छ तर जसभन्दा अपजस पाउँछ किन ? यसको सबैभन्दा चोटिलो उत्तर काम नगरिकन सुतेर बस्नेको कुनै गल्ती हुँदैन र उसको बिरोध हँुदैन तर जसले बढी भन्दा बढी काम गर्छ उबाट कहिलेकाँही गल्ती हुन जान्छ तर हाम्रो समाजले गल्तीलाई अपराध बनाइदिन्छ अनि प्रहरीले अपराध गरेको सन्देश जान्छ । नत्र हेरौं न नेपालमा हालसम्म कति हत्या र बलात्कारका घटना भए तर यदाकदा भएका घटनाहरूले प्रहरीले विगतमा गरेका सबै महत्वपूर्र्ण योगदानलाई बिर्साइदिन्छ अनि प्रहरीले शिर निहुराउनुपर्ने बाध्यात्मक अबस्था आउँछ ।

नेपाल प्रहरीलाई कसरी सुधार गर्ने भन्ने चुनौती सबै सामु छ । राज्य सञ्चालकदेखि संगठनका माथिल्ला–तल्ला तहसम्मका नेतृत्वकर्ताहरूले यो चुनौतीलाई महसुस गरेका छन् ।

सुधारका प्रयास पनि यथेष्ट भएका छन् तर पनि सुधार हुन सकेको छैन किन? किन नेपाल प्रहरीका आम सदस्यहरूमा सुधारका प्रयासहरूको बाबजुद कुनै न कुनै कमीकमजोरि विद्यमान छ ? किन नेपाल प्रहरीका सकल दर्जाका सदस्यहरूमा उत्प्रेरणाले काम गर्दैन र मनोबल उँचो बनाएर संगठनका सदस्यहरूलाई आफ्नो कार्यप्रति जिम्मेवार बनाउने भन्दा बढी कारवाहीको लौरो देखाएर काम लिने प्रयासकै निरन्तरता भइरहन्छ ? किन नेपाल प्रहरीका अधिकृत र जवानहरूले आफ्नो संगठनले आफूप्रति न्याय गरेको महसुस गर्न सकिरहेका छैनन् ? किन संगठनका सदस्यहरूसँग खुला बहस गर्न संगठनकै उच्च पदस्थ अधिकृतहरू डराउँछन् ? किन संगठनका अधिकारिहरू आफ्ना अधिकृतहरूको बीचमा समेत बिभेदको रेखा कोरेर संगठनलाई अनेक स्वरुपमा डोर्याइरहेका छन् ? किन संगठनमा सँधै केही निश्चित अधिकृतहरूको मात्र हालिमुहालि देखिन्छ ? किन सरुवा र बढुवामा निश्चित अधिकृतहरूकै मात्र बोलबाला देखिन्छ ? किन सामाजिक बिभेदबिरुद्ध राज्यको प्रतिनिधित्व गरेर खडा हुने नेपाल प्रहरी आफ्नै संगठनका सदस्यहरूबीचमा बिभेदको पर्खाल लगाइरहन्छ? यी र यस्ता अनेक यावत प्रश्नहरू खडा छन यहाँ जसको उत्तर नखोजेसम्म नेपाल प्रहरीलाई कहिल्यै जनमुखी बनाउन सकिँदैन ।

जबसम्म सबै सदस्यहरूमा संगठनले निष्पक्ष रुपमा अबसरको बाँडफाँड गर्छ भन्ने बिश्वासको पालुवा पलाउँदैन तबसम्म नेपाल प्रहरीले जे जस्ता प्रयास गरेपनि असफल नै हुन्छ ।

मैले यो कुरा लेख्दा निकै प्रहरी अधिकृतहरूसँग गरेका कुराकानी र उनीहरूले व्यक्त गरेका धारणाहरूलाई समेत दृष्टिगत गरेको छु । अधिकृतहरूले आफ्नो नाम गोप्य राखिदिन गरेको आग्रहलाई मैले कायम राख्नै पर्ने हुन्छ तर मेरो लेखनलाई गहिरिएर मनन् गरेर सुधारका प्रयत्न गरेमा नेपाल प्रहरीको रुपान्तरण सम्भव छ र त्यो रुपान्तरणले नेपाली समाजलाई नै सकारात्मक दिशातर्फ डोहोर्याउँछ ।

नेपाल प्रहरीको पहिलो रोग भनेको हरेक महानिरीक्षकले आफ्नो र अर्काको भनेर अधिकृतहरूको पाँडे पजनी गर्ने प्रवृत्ति हो । रणबहादुर चन्द भन्ने कुनै दरबारनिकट डिआईजीले कुनै बेला सुदूरपश्चिम घर भएका अधिकृतहरू छानेको इतिहास छ भने सुदूरपश्चिमकै डिआईजी मोतीलाल बोहोराले सुदूरपश्चिमकै गृहमन्त्री शेरबहादुर देउवा हुँदा क्षेत्रीयताको नाता लगाएर तत्कालीन प्रहरी महानिरीक्षक (आईजी) रत्न शमशेरलाई हटाई आईजी बनेर षडयन्त्रको तानावानाले शक्ति हत्याएको पनि इतिहासले भन्छ ।

सुनिन्छ, मोतीलाल बोहोराले आफ्नो छोरालाई दरबारको सेवामा लगाएर दरबारकै आडमा शक्तिमा आसिन रहने उपाय समेत जोहो गरेका थिए तर दुर्भाग्यबस दरबार हत्याकाण्ड पश्चात उनको त्यो प्रयास सफल हन सकेन । मोतीलाल बोहोराले आफूपछि हुने आईजीमा पनि नेतृत्वका प्रमुख र प्रवल दावेदार अच्युतकृष्ण खरेलको सट्टामा ध्रुवबहादुर प्रधानलाई बनाउन खोजेका थिए भन्ने कुरा समेत सुनिन्छ– पूर्वप्रहरी अधिकृतहरूको मुखबाट । यसपछि शुरु भयो प्रहरीको आईजीले आफ्नो युवराज बनाउन संगठन भित्रै अनेक तानावाना बुन्ने क्रमको सुरुआत ।

अच्युतकृष्ण खरेलले आफ्नो कार्यकालको सुरुआत राम्रै गरेका थिए । तर पदबहाल भएको छोटो समयमै पद मुक्त हुनुपरेको र त्यसपछिका दिनमा ध्रुवबहादुर प्रधानले आईजी भएपछि अच्युतकृष्ण खरेलका मान्छे भएको आशंकामा प्रहरी अधिकृतहरूलाई आफ्नो पक्षका र बिपक्षका भनेर बिभाजन गरेपछि नेपाल प्रहरीमा पहिलो पटक बिधिवत रुपमा बिभाजनको रेखा कोरिएको थियो । जब पुनर्बहाली भएर नौ महिनापछि अच्युतकृष्ण खरेलले प्रहरी प्रधान कार्यालयमा पाइला टेके त्यो बिभाजनले मूर्त रुप लिइसकेको थियो । अब नेपाल प्रहरीमा क–कसलाई महानिरीक्षक बनाउने क–कसलाई बाटैमा सिध्याउने भन्ने खेलको कुटिल जालझेल शुरु भयो किनकी नौ महिनामा आफू माथि भएको अपमान न अच्युतकृष्ण खरेलले बिर्सेका थिए न त उनको भजनमण्डलिमा रहेका अधिकृतहरूले ।

अच्युतकृष्ण खरेल प्रहरीको महानिरीक्षक मात्र नभएर राजनीतिका समेत चतुर खेलाडी बनिसकेका थिए किनकी उनले बुझिसकेका थिए कि राजनीतिका प्रमुख खेलाडीहरूलाई नरिझाइकन उनको साम्राज्य खडा हुन सक्दैन। माओवादी द्वन्दको चपेटाम मुलुक परेको त्यो बेला खरेल साबले राजनीतिक नेतृत्वको बिश्वास लिएरै कतिलाई सिध्याउनु भयो कतिलाई उकास्नु भयो त्यो उहाँको समयका अधिकृतहरूलाई सोधे थाहा हुन्छ । खरेल साबसँग नजिक भएका सिपाहीसम्मले ठूलै अधिकृतहरूलाई पनि चाकरी गर्न बाध्य बनाउँथे भनेर एकजना प्रत्यक्षदर्शी अधिकृतले भनेका छन।

श्यामभक्त थापा नेपाल प्रहरीका महानिरीक्षक बने जो निकम्मा पनका जिउँदा जाग्दा उदाहरण हुन। यीनकै पालामा नेपाल प्रहरीको लागि स्वीकृत दरवन्दी सेनालाई सुम्पिने काम गरे भने यीनकै पालामा नेपाल प्रहरीका अधिकृत र जवानहरूले पाउँदै आएको बिदाको पैसा कटाएर दरबारमा चढाए

यसको सबै भन्दा ठुलो प्रमाण के हो भने तत्कालीन खरेल साबको समयका हर्ताकर्ता दिपक खरेलले भर्खरै केही समय अगाडि आफ्नो फेसबुकमा लेखेको ‘कुनै बेला मेरो बोलि बिक्ने अबस्थामा भाई हजुर, तपाई हजुर भन्दै चाकरीमा आउनेहरू अहिले भेट्दा तिमी भनेर संबोधन गर्ने, ब्यक्तिको चरित्र देखेर लाज लाग्यो, त्यस्ता चरित्र भएका ब्यक्तिलाई सँधैभरि एउटै ब्यबहार गर्ने बानी बसालौं भनेर सुझाब दिन चाहन्छु, अन्यथा लज्जित हुनु पर्ला’ यो स्टाटसले उजागर गराउँछ कि नेपाल प्रहरीमा महानिरीक्षकका नजिकका मानिसले कसरी प्रहरीका अधिकृत र जवानलाई बाँच्न गाह्रो बनाएका छन् ।

त्यसपछि महानिरीक्षक बनेका प्रदिप शमशेर जबराको कार्यकाल कस्तो रह्यो भनेर कुनै आत्मसम्मान भएका प्रहरी अधिकृत बोल्न चाहँदैनन् किनकी उनले आफ्नो कार्यकाल लम्ब्याउने नाममा नेपाल प्रहरीमा राष्ट्रिय अनुसन्धानका मानिसलाई सम्मानका साथ भित्राए जसको कारण २०५४ सालमा जागिर खाएर पास आउट भएका अधिकृतदेखि लिएर २०५८ सालमा जागिर खाएर पास आउट भएका ति अधिकृतहरू जसले पास आउट भएको भोलिपल्ट जनयुद्धको मैदानमा जिउज्यानको आहुति चढाएका थिए ति अधिकृतहरू भन्दा पछि २०५९ सालमा तालिममा छिरेर २०६१ सालमा पास आउट भएका अधिकृतहरूलाई २०६३ सालमै बढुवा योग्य बनाएर २०५४, २०५६ र २०५८ सालमा प्रहरी संगठनमा प्रबेश गरेर जिउज्यानको दाउ लगाएका अधिकृतहरूलाई रगतको आँशु पिउन बाध्य बनाए ।

यीनको समयमा शुरुमा त खरेलका मानिसलाई पेल्ने र उनका नजिकका मानिसलाई अबसर दिने काम गरे तर पछि यीनकै नजिकका मानिएका चाटुकारहरूको कारण पनि कुनै उल्लेख्य काम गर्न सकेनन् ।

श्यामभक्त थापा नेपाल प्रहरीका महानिरीक्षक बने जो निकम्मा पनका जिउँदा जाग्दा उदाहरण हुन। यीनकै पालामा नेपाल प्रहरीको लागि स्वीकृत दरवन्दी सेनालाई सुम्पिने काम गरे भने यीनकै पालामा नेपाल प्रहरीका अधिकृत र जवानहरूले पाउँदै आएको बिदाको पैसा कटाएर दरबारमा चढाए ।

यीनकै पालामा नेपाल प्रहरीमा कुनै बेला डिबि लामालाई फसाउन रणबहादुर चन्दको समूह लागे जस्तै नेपाल प्रहरीका केही अधिकृतहरूलाई अख्तियार लगाएर फसाउने क्रमको सुरुआत भयो जसको प्रत्यक्ष फाइदा उठाए रमेश चन्द र रविन्द्र प्रताप शाहले जो पालैपालो आइजिपि भए । यीनकै पालामा रक्सिले मत्त भएर कुनै प्रहरी उपरीक्षकले लात खाएको खबर पनि छापामा पढ्न पाइयो भने यीनकै सचिबालयमा कार्यरत यीनको नजिकको अधिकृतले प्रहरी प्रधान कार्यालयमै कसैलाई लुटेको खबर पनि पढियो भने यीनकै पालामा नेपाल प्रहरीमा छानिछानि प्रजातान्त्रिक बिचारधारा भएका केही अधिकृतहरूलाई सिध्याइयो ।

यीनले नै जनआन्दोलनमा दमन गरेको दोष थोपरेर राजेन्द्र बहादुर सिंह जस्ता व्याबसायीक प्रहरीको ब्याबसायीकताको हत्या गरे भने ओम बिक्रम राणा जस्ता नेतृत्व क्षमता हँुदै नभएका व्यक्तिलाई महानिरीक्षक बनाउन बाटो खोले । प्रदिप शमशेर राणा र श्याम भक्त थापाको श्रेय पाएर मैमत्ता बनेका राजेन्द्रसिंह भण्डारी जसले ज्ञानेन्द्रको प्रत्यक्ष शासनको फाइदा उठाएर श्यामभक्तको पालामा केही अधिकृतहरूलाई भ्रष्टाचारको मुद्दामा फसाए लोकतान्त्रिक आन्दोलनको सफलता पश्चात यीनले जब कुनै अबसर पाएनन तब यीनले ओम बिक्रम राणाको पालामा गरिएको दुर्दान्त भ्रष्टाचारलाई माध्यम बनाएर ओमबिक्रम राणाको तेजोबध गर्छु भन्ने सोच बनाए र तत्कालिन महानिरीक्षक जो बास्तबमै प्राकृतिक नेतृत्वको लायक थिएनन् उनलाई प्रयोग गरेर सुडान काण्ड जगाए। त्यसैको घानमा परेर नेपाल प्रहरीका ३ महानिरीक्षकले जेल सजाय समेत पाए।

ओम बिक्रम राणाको पाला सम्म नेतृत्वको कुनै सम्भावना नभएका तर अच्युत कृष्ण खरेलको उत्तराधिकार बोकेका उपेन्द्रकान्त अर्याल प्रहरी उपरीक्षकबाट बरिष्ठ प्रहरी उपरीक्षक हुँदा १ नम्बरमा ल्याइए । यो भन्दै गर्दा मैले के उल्लेख गर्नु पर्ने हुन्छ भने जनआन्दोलन २ को समाप्ती पश्चात राजेन्द्रबहादुर सिंहलाई आईजी कुनै हालतमा बनाउनु हुँदैन भनेर अच्युतकृष्ण खरेल र उनको समूह नै लागेको थियो किनभने राजेन्द्र बहादुर सिंह आईजी बनेको भए खरेल साबको प्रहरीभित्रको उत्तराधिकार कायम हुन सक्दैन थियो । किनभने उनले प्रदिप शमशेरपछि आईजी बनेका श्यामभक्त अच्युतकृष्ण खरेलकै लाइनका अधिकृत थिए भने श्याम भक्तपछिको आईजी उनी राजेन्द्रबहादुर सिंहलाई नबनाएर कमजोर ओम बिक्रम रानालाई बनाउन चाहन्थे ताकि उनको हालिमुहाली बनिरहोस् ।

ओम बिक्रम राणा महानिरीक्षक बने पश्चात अच्युत कृष्ण खरेलको लाइनका अधिकृतहरू कल्याण तिम्सिना, भरत जीसी र रविन्द्रप्रताप शाह थिए जस मध्ये कल्याण तिम्सिना अख्तियारको मुद्दामा थिए भने भरत जीसी अबकाशमा जाने भएकोले अच्युतकृष्णको समूह रविन्द्रप्रतापलाई आईजी बनाउन लाग्यो तर त्यो खेलमा कहाँ पूर्णविराम लाग्यो भने रमेश चन्दले साम, दाम, दण्ड, भेद र राजनीतिक लाभको फाइदा उठाएर आफू आईजी बने । यहाँ भङ्ग भयो अच्युतकृष्ण खरेलको निरन्तरता र यहि निरन्तरताको फलस्वरुप नेपाल प्रहरीमा राजेन्द्रसिंह भण्डारिको हालीमुहाली शुरु भयो ।

राजेन्द्रसिंह भण्डारीले यहि मौकाको फाइदा उठाउँदै खरेल समूहका मानिसलाई तितरवितर पार्न थाले जसअनुसार केही जुनियर प्रहरी अधिकृतले जागिर छाडेर अमेरिका पलायन भए, दिपक खरेल जिरि पुगे भने कल्याण तिम्सिनालाई महाराजगञ्ज प्रतिष्ठानमा कार्यरत रहँदाकै अबस्थामा सेवाबाट बर्खास्त गर्ने खेल समेत गरे । तर सर्बोच्चको स्टे अर्डरको कारण त्यो अभिष्ट पुरा भएन।

यहाँ के समेत बुझ्नु जरुरी छ भने खरेल साबसँग सम्बन्ध सुमधुर नभएका कारण कल्याण तिम्सिना, किरण गौतम र बसन्त कुँवर मध्ये बसन्तलाई मुद्दा जितेर आए पनि बढुवा नदिएर अबकाश दिइयो, ओम बिक्रमले आफूसँग नजिक भएका कारण किरणलाई च्यापे र राजेन्द्र बहादुर सिंहसितको निकटताको कारण कल्याणलाइ ओमबिक्रमले लखेटेर दिपायल पठाए किनकी राजेन्द्र बहादुर सिंहसितको निकटताको कारण अच्युतकृष्णकै लाइनको अधिकृत भए पनि खरेल साबको समूहले उनलाई समदूरिमा राखेको थीयो। तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालासँग सम्बन्ध भएको कारणले मात्रै उनको पदोन्नती प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा भएको थियो अन्यथा कल्याणलाई समेत पदाबधीको आधारमा अबकाश दिइने थियो । यसको प्रभाव बिराटनगरबासी हुनु पनि थियो ।

क्रमशः भोलीको अंकमा


यसलाई साझेदारी गर्नुहोस्
  • 39
    Shares