निर्मला पन्त प्रकरणमा ‘फँसेका’ एसपी दिल्लीराज यसरी काममा फर्किए

काठमाडौं– कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा निलम्बनमा परेका तत्कालिन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) दिल्लीराज विष्ट काममा फर्किएका छन्।

दुई बर्षभन्दा बढी समयपछि अदालत हुँदै गृह मन्त्रालयले उनको कारबाही फुकुवा गरेपछि विहीबारबाट प्रहरी प्रधान कार्यालयमा हाजिर भई विष्ट काममा फर्किएका हुन्। विष्टले आफूलाई यस प्रकरणमा निर्दोष रहेको भनी शुभेच्छा दिने सबै पक्षप्रति आभार प्रकट गरेका छन्।

निर्मला पन्त प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको, एसपी विष्टसम्मको मिलोमतो रहेको भन्दै आन्दोलन चर्किएको थियो। यसपछि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गरेको थियो। यस प्रकरणको अनुसन्धानका लागि खटिएका प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी पनि काममा फर्किसकेका छन्।