सरकारसँग वार्ताको वातावरण बनाउन राजधानी छिर्दै थिए विप्लव समूहका ठूला नेता बाँस्तोला!

काठमाडौं– प्रहरी नियन्त्रणमा रहेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका तेस्रो बरियताका नेता धर्मेन्द्र बाँस्तोला सरकारसँग वार्ताको वातावरण बनाउनका लागि राजधानी छिर्न लागेको खुलेको छ।

सरकार आक्रामक शैलीमा उत्रिएपछि तत्काल वार्ता गरी मूल राजनीतिक धारमा आउने वातावरण बनाउन विप्लव समूहले पनि पहल गरेको थियो। तर, बाँस्तोलासहितलाई प्रहरीले ललितपुर र मकवानपुरको बीचमा नै नियन्त्रणमा लिएको छ।

बाँस्तोलासँगै विवेक कुमाल समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँस्तोला विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज, सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख हुन् । कुमाल सेती महाकाली ब्युरोका नेता हुन् ।

स्रोतका अनुसार त्यसक्षेत्रमा प्रकाण्ड र केन्द्रीय सदस्य चिरन पुन समेत रहेको सूचना प्रहरीसँग थियो। उनीहरु नै मोटरसाइकलमा रहेको हुनसक्ने आशंका अनुसन्धान अधिकृतहरुको छ ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि समूहले गतिविधि बढाएको सुरक्षा संयन्त्रको विश्लेषण छ। गृहमन्त्री रामबहादुर थापानिकट उच्च स्रोतका अनुसार उनीहरू सरकारसँग वार्ता गरी शान्ति प्रक्रियामार्फत खुला हुन चाहेका छन्। सोही विषयमा उच्चस्तरीय छलफलका लागि राजधानी छिर्ने क्रममा थिए।   समूहमाथि सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

विप्लव समूहले अहिलेको संसदीय प्रणाली अस्वीकार गरी जनवादी केन्द्रीयतासहितको सत्ताको परिकल्पना गरेको छ। संसद विघटनलाई यो समूहले नयाँ राजनीतिक परिवेश निर्माणमा सहयोगी समयका रुपमा व्याख्या गरेको छ।